काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपीओ आइतबार बिहान बाँडफाँड हुने भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको जनाएको छ । आइपीओ प्रि ओलोटमेन्ट भने आज विहान सम्पन्न भएको विक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीको आइपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आइपीओ बाँडफाँड हुने छ ।
कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्बसाधारणलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो ।
जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।
कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आइपीओ निष्काशन गरेको थियो।