काठमाडौं । कोकाकोला उत्पादन बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको मुनाफामा गिरावट आएको छ । आम्दानीमा सुधार भए पनि सञ्चालन खर्च र वितरण खर्च बढ्दा नाफा घटेको हो । बोटलर्स नेपालको मुनाफा १४.४० प्रतिशतले घटेर ४० करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
त्यस्तै बोटलर्स नेपाल तराइको पनि मुनाफा १६.८४ प्रतिशतले घटेर ३१ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन भएको छ । तराईले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको छ भने खर्च २ अर्ब १० करोड भएको छ ।
गत वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको थियो भने खर्च १ अर्ब ६७ करोड रुपैयाँ भएको छ । तराईको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । यस आधारमा तीन महिनाको अवधिमा प्रतिशेयर आम्दानी २६२ रुपैयाँ हुन्छ ।
त्यस्तै बोटलर्स नेपालले समिक्षा अवधिमा ४ अर्ब एक करोड रुपैयाँ आम्दानी गरेको छ । खर्च भने २ अर्ब ८५ करोडको भएको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको थियो भने खर्च २ अर्ब ३५ करोड रुपैयाँ भएको थियो ।
बोटलर्स नेपालको चुकता पूँजी १९ करोड ४८ लाख रुपैयाँ छ । यस आधारमा तीन महिनाको अवधिमा प्रतिशेयर आम्दानी १९१ रुपैयाँ रहेको छ ।