काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको मुनाफामा सामान्य सुधार देखिएको छ । कुनैसमयमा लगानीकर्ताको सर्वाधिक आकर्षिक स्टक भित्र पर्ने चिलिमेले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा २० करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २० करोड १४ लाख रुपैयाँ थियो ।
विद्युत बिक्रीबाट कम्पनीले पहिलो तीन महिनामा ३५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ३५ करोड १६ लाख आर्जन गरेको थियो । सञ्चालन मुनाफा गत वर्षको भन्दा घटे पनि व्याज आम्दानीले मुनाफा बढाउन मद्दत गरेको छ ।
चुक्ता पूँजी ६ अर्ब ७५ करोड छ भने जगेडा कोषमा तीन अर्ब ८३ करोड छ । कम्पनीले लगानी गरेका आयोजनाले मुनाफा दिन थाले पछि भने चिलिमेले राम्रो मुनाफा आर्जन गर्नेछ । त्यस भन्दा अगाडीसम्म कम्पनीको मुनाफामा उल्लेख्य सुधार हुने देखिदैन । अहिले प्रतिशेयर आम्दानी १२ रुपैयाँ मात्रै छ ।