काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओ बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज बाँडफाँड गरेको हो ।
कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा १९ सय ९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १३ लाख ५६ हजार २ सय २४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथामार्फत शेयर बाँडफाँड गर्दा ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।
आइपीओको प्रि अलोटमेन्ट कार्तिक १५ गते मंगलवार भएको थियो।कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर सर्वसाधारणलाई वितरण भएको छ ।