काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओको निष्काशन आजदेखि बन्द गर्ने भएको छ । कम्पनीले बुधबारदेखि निष्काशन गरेको आइपिओमा पहिलो तीन कारोबार दिनमै माग भन्दा बढीको आवेदन परे पछि निष्काशन बन्द गर्ने भएको हो । लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् । सिडिएससीका अनुसार कम्पनीको आइपिओमा ९ लाख ७२ हजारले एक करोड १० लाख कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारण समुहको ११ लाख ५० हजार कित्ता मध्ये तीन प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको १० लाख ५८ हजार कित्ताका लागि भने सर्वासाधारणले आवेदन दिन सक्ने छन् । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।