काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता तालिमलाई बीमा कम्पनीको तर्फबाट हुँदै आएको बदमाशी नियन्त्रणको लागी कसिकसाउ गर्ने प्रयास थालेको छ ।
समितिले सबै बीमा कम्पनीहरुलाई परिपत्रमार्फत् अभिकर्ता तालिम सम्बन्धमा ३ बुँदे निर्देशन जारी गरेको हो । परिपत्रमा वार्षिक तालिम तालिका अनुसार कुनै स्थानमा तालिम संचालन हुन नसक्ने अवस्था भएमा तालिम मितिभन्दा तीन दिन पूर्व बीमा समितिमा लिखित जानकारी गराउनुपर्ने निर्देशन दिइएको छ ।
तालिम समापन भएको तीन दिनभित्र तालिम सम्बन्धी सम्पूर्ण विवरण समितिको एकीकृत सूचना व्यवस्थापन प्रणाली(आइआरएमआइएस) मा प्रविष्ट गर्न समेत समितिले निर्देशन दिएको छ ।यसअघि यस्तो समय सीमा तोकिएको थिएन ।
यसबाहेक चालू आर्थिक वर्षमा संचालन भएको तालिम सम्बन्धी सम्पूर्ण विवरणहरु पत्र प्राप्त भएको सातदिनभित्र अर्थात् भदौ २९ गतेभित्र एकीकृत सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टी गरिसक्न समेत निर्देशन दिइएको छ ।