काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद जारी गर्नेछ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। उक्त हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।
हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरिसकेको छ । यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत असोज २५ गतेसम्म आवेदन दिन पाउनेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसा रहेको छ।