IME Life New

जीवन बीमा कम्पनीले मर्जर अघि नै संस्थापकबाट थप पूँजी जुटाउन सक्लान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले जबरजस्ती मर्जरको नीति लिएपछि रक्षात्मक अवस्थामा पुगेका नयाँ जीवन बीमा कम्पनीहरु सीमित विकल्पका बीच चेपिएका छन् ।

पूँजी बजारमा तरलताको अभाव तथा जीवन बीमा कम्पनीहरुबाट प्राप्त प्रतिफलको अवस्थाका कारण संस्थापकहरुलाई थप पूँजी लगानी गर्नको लागी प्रेरित गर्न सहज छैन । महालक्ष्मी लाईफ इन्स्योरेन्सको सबै संस्थापक शेयर नबिकेको बाट पनि संस्थापकको अवस्था अनुमान लगाउन सकिन्छ ।

Esewa
Crest

सर्वसाधारणमा शेयर निष्काशन गर्न बाँकी रहेका पाँच जीवन बीमा कम्पनीले संस्थापकलाई नै पूँजी लगानी थप्न आग्रह गरेका छन् । दुईवर्षयता शेयर निष्काशन गरेका जीवन बीमा कम्पनीहरु थप पूँजी जुटाउनको लागी मर्जर बाहेकको विकल्प नभएको भन्दै साथी खोज्ने क्रममा रहेका छन् ।

संभावित मर्जरको लागी पटक पटक कोठे बैठक र छलफल भएपनि अधिकांशमा सहमति जुट्न सकेको छैन । नयाँ मध्येको ज्योती लाईफ इन्स्योरेन्सले सूर्या लाईफ इन्स्योरेन्ससँग गाभिने सहमति गरिसकेको छ । अर्को नयाँ कम्पनीमध्येको यूनियन लाईफ इन्स्योरेन्स प्राइम लाईफ र गुराँस लाईफसहित मर्जर गर्ने सहमतिमा अघि बढेको छ ।

सर्वसाधारणमा शेयर निष्काशन नै नगरेका कम्पनीहरुमा सिटिजन लाईफ इन्स्योरेन्स, आइएमई लाईफ इन्स्योरेन्स, महालक्ष्मी लाईफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र सन नेपाल लाईफ इन्स्योरेन्स रहेका छन् । यी मध्ये महालक्ष्मी, रिलायबल र सन नेपालले संस्थापकहरुबाटै थप पूँजी माग गरेकोमा महालक्ष्मीका संस्थापकले अपेक्षितरुपमा पूँजी थप्न इन्कार गरिदिए पछि महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई तनाव थपिएको छ ।

महालक्ष्मी लाईफका संस्थापकसँग चुक्ता पूँजीको ५० प्रतिशत थप पूँजी लगानी गर्न आह्वान गरेको थियो । तर संस्थापकले सबै पूँजी लगानी नगरेपछि अहिले ३२ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट बिक्री गरिंदैछ । सबैभन्दा पछि संचालनमा आएको महालक्ष्मी लाईफ इन्स्योरेन्स व्यवसायको हिसाबले पनि सबैभन्दा पुछारमा रहेको छ । महालक्ष्मी लाईफले संस्थापकबाट थप पूँजी जुटाएपछि मात्र सर्वसाधारणमा शेयर जारी गरिसकेका जीवन बीमा कम्पनीसँग मर्जर गर्दा सम्मानजनक स्थिति हुने निष्कर्षसहित थप पूँजी जुटाउने कसरत गरेको हो ।

वीरगंजमा मुख्यालय रहेको क्याल समूहको मुख्य लगानी रहेको जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्सले पुराना कम्पनीसँग मर्जरको वार्ता जारी राख्दै संस्थापक पूँजी समेत थप गर्ने योजना बनाएको छ । सन नेपाल लाईफले संस्थापकसँग हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत रकम माग गरेको छ ।

प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्काशन गर्ने तयारी गर्दा गर्दै मर्जरको भुमरीमा फँस्न पुगेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले पनि संस्थापकबाट थप पूँजी जुटाउने तयारी गरेको छ । संस्थापक शेयरधनीलाई १ः१ अनुपातमा थप पूँजी लगानी गर्नको लागी रिलायबल नेपालले सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ । भदौ ६ गतेभित्र संस्थापकहरुले थप पूँजी लगानी नगरेको अवस्थामा शेयर लिलामीबाट थप पूँजी जुटाउनुपर्ने अवस्था हुनेछ । तर कम्पनीको व्यवसाय र नाफा तथा जगेडा सन्तोषजनक रहेकाले संस्थापकबाट पूँजी जुट्ने व्यवस्थापनको अपेक्षा छ ।

यी कम्पनीको संचालक समितिले पाए मर्जरको अनुमति

सर्वसाधारणमा शेयर निष्काशन गरिसकेको प्रभु लाईफ इन्स्योरेन्स, सामिना लाईफ, रिलायन्स लाईफले पूँजी वृद्धि र मर्जरको लागी साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्र नियमायवलीमा आवश्यक संशोधन गर्नको लागी स्वीकृति प्राप्त गरिसकेका छन् ।

सिटिजन लाईफ इन्स्योरेन्सले पनि पूँजी वृद्धि तथा मर्जरको विशेष प्रस्तावसहित श्रावण ६ गते विशेष साधारण सभाको आह्वान गरेको छ । प्रभु लाईफले पनि पूँजी वृद्धि र मर्जरको लागी असार २३ गते विशेष साधारण सभा आह्वान गरेको छ । नियामक निकाय बीमा समितिले तोके बमोजिम कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियार संचालक समितिलाई हस्तान्तरण गर्ने प्रस्ताव विशेष साधारण सभामा पेश गर्दैछ । साथै मर्जरको लागी आवश्यक प्रकृया पुरा गर्न समेत संचालक समितिलाई साधारण सभाबाट नै अख्तियारी दिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS