काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ४ गते एक दिन बुक क्लोज गर्ने तयारी गरेको छ । त्यसकारण आज पुस १ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले १४औं वार्षिक साधारण सभा पुस १५ गते गर्दैछ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे शुरु गर्ने बैंकले जनाएको छ । बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा भर्चुअल माध्यमबाट सभा गर्न लागिएको जनाएको छ ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावहरुमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।