काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आज तेस्रो दिनसम्ममा १५ लाख ९० हजार ४१८ जनाले आवेदकले आवेदन दिएका छन् । विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा २७ दशमलव २९ गुणा बढी हो ।
कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
उक्त आईपीओमा आवेदकले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।