काठमाडौं । साहस उर्जा कम्पनीले निष्काशन तथा विक्री खुला गरेको साधारण शेयर (आइपीओ) मा आज पहिलो दिनमा नै माग भन्दा बढीको आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको आइपीओमा आज ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएका हुन् ।
कम्पनीले आज असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउनेछन् ।
उक्त आइपीओ छिटोमा असोज १० गतेसम्म बिक्री खुला रहनेछ । यदि पहिलो चरणमा माग बराबरको आवेदन नपरेमा ढिलोमा असोज २० गतेसम्म बिक्री खुला हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला ‘दुधकोशी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
जसमध्ये ७० प्रतिशत संस्थापक समुह र ३० प्रतिशत सर्वसाधारण समुहको हुनेछ । इक्रा नेपालले प्राथमिक शेयर निष्काशनका लागि गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको जोखिमको संकेत गर्ने ‘इक्रा आइआर डबल बि’ प्राप्त गरेको छ ।