काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ररहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । भदौ १४ गते सार्वजनिक विदा परेकाले आइतवार भदौ १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्नेछ ।
सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै १७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, १७ प्रतिशत बोनश पश्चात कायम चुक्ता पूँजीको आधारमा कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । हाल कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालकहरु रहेकाले उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको छ ।