काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले यसअघि असार ११ गतेदेखि १८ गतेसम्म लिलामीमा विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर पुनः लिलामीमा विक्री गर्न लागेको हो ।
कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, प्रभु बैंकको ५० हजार कित्ता, ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको ५ सय रुपैयाँ, प्रभु बैंकको शेयरको न्यूनतम मूल्य २६३ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ५ सय रुपैयाँ र प्राइम कमर्सियल बैंकको २५३ रुपैयाँ तोकिएको छ ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।