IME Life
Beema Board

बीमा क्षेत्रमा सक्सेसन प्लान : दक्ष जनशक्ति अभावको समाधान, रामचन्द्र खनालको विश्लेषण

SPIL
NIC ASIA

रामचन्द्र खनाल

भनिन्छ, उत्तराधिकारी (Successor) विना सफलता (Success) हासिल गर्न कठिन हुन्छ । हरेक सफल व्यवसायिक संस्थाले संस्थाको निरन्तरताको लागि उत्तराधिकारी योजना (Succession Plan) तयार गरि कार्यान्वयन गरेको पाइन्छ । व्यवसायिक संस्थामा महत्त्वपूर्ण पदमा कार्यरत कर्मचारीहरु अवकास हुँदा तथा संस्था छाडेर जाँदा उक्त स्थान खाली नहोस् भनेर उत्तराधिकारी योजना (Succession Plan) कार्यान्वयनमा ल्याइएको हुन्छ तसर्थ उत्तराधिकारी योजना संस्थाको रणनीतिक विषय हो । भोलिका दिनमा खाली हुने पदका लागि अहिलेदेखिनै रणनीति बनाएर अगाडी बढ्दा संस्थालाई सहज हुन्छ ।

Prabhu
Crest

उत्तराधिकारी योजना ठुला व्यवसायिक संस्थाको लागि अपरिहार्य छ। नेपालको सन्दर्भमा नियामकीय क्षेत्राधिकार भित्र सञ्चालन हुने संस्थाहरुले अनिवार्य रुपमा यस्तो योजना तर्जुमा गरि लागु गर्नुपर्ने हुन्छ । विशेषगरी बैङ्क तथा वित्तीय क्षेत्रमा यसलाई प्रभावकारी रुपमा लागु गरिएको पाइन्छ जसबाट सम्पुर्ण बैंक तथा वित्तीय क्षेत्रकै उच्चतम रुपमा विकास भएको पनि छ र बैङ्क तथा वित्तीय क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको पाइँदैन । नेपाली बैंकिङ क्षेत्रका विज्ञ तथा लिडरशिप पदमा कार्यरत व्यक्तिहरु आज आसियान मुलुक, मध्यपूर्वी तथा अफ्रिकी मुलुकहरुमा समेत बैङ्किङ क्षेत्रका उच्च तहमा कार्यरत रहेको तथ्यले देशकै शिर ठाडो परेको महसुस हुन्छ । यसको प्रमुख श्रेय बैङ्क तथा वित्तीय क्षेत्रको मानव संसाधन व्यवस्थापन र उक्त कम्पनीहरुमा भएको उत्तराधिकारी योजना (Succession Plan) को प्रभावकारी कार्यान्वयनलाई जान्छ ।

अर्कोतर्फ नियामकीय क्षेत्राधिकारभित्र सञ्चालन हुने संस्था बीमा क्षेत्रमा सँधैभरी दक्ष जनशक्तिको अभाव रहेको तथ्य नियामक निकायदेखि बीमा क्षेत्रका विज्ञहरुले समेत विगत लामो समयदेखि बताउँदै आएका छन् । गत केही वर्ष अघिसम्म बीमा उद्योग सङ्ख्यात्मक रुपमा सानो क्षेत्रको रुपमा चिनिन्थ्यो भने आज उक्त सङ्ख्या ४१ वटा पुगिसकेको छ तर पनि दक्ष जनशक्तिको अभाव खड्किएको सँधै सुनिने गरिन्छ ।

बीमा समिति कम्पनीहरुमा दक्ष जनशक्तिको अभाव नहोस् भनेर संस्थागत सुशासन निर्देशिका २०७५ को निर्देशन २२ (५) मा ‘बिमकले आफ्नो उत्तराधिकारी योजना (Succession Plan) बनाउनु पर्नेछ’ भनिएको छ । तर यो निर्देशिका जारी भएको ४ वर्ष बितिसक्दा पनि बीमा कम्पनीहरुले यसलाई कागजी प्रक्रियाको रुपमा सीमित राखेका छन्, यसको पूर्णरुपमा अनुपालन हुन सकेको छैन । निर्देशिका बमोजिम कार्यान्वयन भएको नपाइए पछि समीतिले गत साउन पहिलो साता सम्पूर्ण बीमा कम्पनीलाई उत्तराधिकारी योजना तयार पारी समीतिमा पेश गर्न परिपत्र समेत जारी गर्नुपरेको थियो। बीमा कम्पनीहरु आफैले उत्तराधिकारी (Successor) तयार गर्न नसक्दा अहिले पनि बीमा कम्पनीहरुको उच्च व्यवस्थापनमा बैङ्क तथा वित्तीय क्षेत्रका अनुभवी कर्मचारीहरुलाई नियुक्ति गर्नुको विकल्प छैन ।

धेरै बीमा कम्पनीहरुमा कार्यरत प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरु बैंक तथा वित्तीय संस्थाबाटै अनुभव तथा दक्षता हासिल गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीहरुलाई कनिष्ठतहदेखि मध्यम व्यवस्थापकीय तहमा रहँदासम्म आलोपालो प्रणाली (Job Rotation System) अनुसार विभिन्न विभागमा काम गर्ने अवसर दिएर कार्यगत सीप सिकाइको व्यवस्था गरी सम्बन्धित विषयमा दक्षता अभिवृद्धि गर्ने व्यवस्था मिलाईएको हुन्छ । जसको फलस्वरुप एउटा विभागमा काम गरेको कर्मचारीले सजिलै अर्को विभागमा काम गर्न सक्ने दक्षता राख्दछ । आज जोखिम विभागमा काम गरेको कर्मचारी भोलिका दिनमा कर्जा विभाग, लगानी विभाग, अनुपालना विभाग, वित्तीय विभाग, व्यवसाय विकास लगायतका विभागमा प्रमुख भएर काम गरेको हामी सबैले देखेका छौँ। यो हुनुको प्रमुख कारण बैङ्क तथा वित्तीय क्षेत्रमा उत्तराधिकारी योजना (Succession Plan) को प्रक्रिया व्यवस्थितरुपमा कर्मचारीहरुको पहुँचमा पुर्याउने, उत्तराधिकारी हुन सक्षम कर्मचारीहरुको सही पहिचान गर्ने, यसरी पहिचान भएका कर्मचारीहरुको तालिम तथा विकास गर्ने, सङ्गठनात्मक ढाँचामा समयानुसार परिवर्तन गर्ने, प्रतिभाशाली कर्मचारीहरुको समूह / उपसमूह तयार गर्ने र उच्च व्यवस्थापन अन्तिम मूल्याङ्कन पश्चात उपयुक्त व्यक्तिलाई संस्थाको आवश्यकतानुसार जिम्मेवारी दिँदै जाने गरेको पाइन्छ, जसको फलस्वरुप बैङ्क तथा वित्तीय क्षेत्रमा दक्ष जनशक्तिको आपूर्ति पर्याप्तरुपमा भएको पाइन्छ ।

उत्तराधिकारी योजना (Succession Plan) सफल हुनुमा बैङ्क तथा वित्तीय क्षेत्रमा संस्थागत संस्कृती (Corporate Culture) को ठूलो योगदान रहेको छ, तर नियमन तथा संस्थागत क्षेत्र भएतापनि बीमा  कम्पनीहरुमा उत्तराधिकारी योजनाको प्रभावकारी कार्यान्वयनकालागि कर्मचारीहरु नै मानसिक रुपमा तयार छन कि छैनन भन्ने प्रश्नको उत्तर पाउन मुस्किल छ । अर्कोतर्फ बीमा समीतिले पटक-पटक निर्देशन जारी गर्दा पनि बीमा कम्पनीहरुले कार्यान्वयन गर्न नसक्नु आफैँमा विडम्बना छ ।  कुनै विषयगत क्षेत्र जस्तै अण्डरराइटिङ, दाबी, पुनर्बिमा, लेखा तथा वित्त, अनुपालना, व्यवसाय विकास जस्ता क्षेत्रमा दक्षता हासिल गरेका कर्मचारीहरुले आफ्ना उत्तराधिकारी तयार गर्दा आफ्नो पेशागत जीवन  (Professional Career) मा जोखिम अनुभूति कदापी गर्नु हुँदैन । विभागीय प्रमुखहरुले आफ्ना दोस्रो तहका कर्मचारीहरुलाई विभागीय प्रमुख बन्न आवश्यक पर्ने ज्ञान, कार्यकौशलता, सीप तथा क्षमता हस्तान्तरण गर्न हिच्किचाउँछन हुँदैन । । यसो हुन सकेमा विगत पाँच दशकको अवधिमा बीमा कम्पनीको संख्या जसरी बढेको छ, त्यही अनुसार आवश्यक दक्ष जनशक्तिको उत्पादन हुन समेत सम्भव हुन्छ भन्न अत्युक्ति नहोला ।

अब के गर्ने ?

उत्तराधिकारी योजना (Succession Plan) को प्रभावकारी कार्यान्वयनले उपयुक्त पदमा उपयुक्त व्यक्ति पुग्नसक्ने अवस्था रहन्छ भने यस्तो योजना पूर्ण कार्यान्वयन हुन नसक्दा दक्ष र क्षमतावान् व्यक्तिहरु बीमा क्षेत्रबाट बाहिरीरहेको प्रशस्त उदाहरणहरू पाइन्छन् । सामान्यतया बीमा कम्पनीहरुले बैङ्क तथा वित्तीय क्षेत्रको मानव संसाधन व्यवस्थापन र उक्त कम्पनीहरुमा उत्तराधिकारी योजना (Succession Plan) को प्रभावकारी कार्यान्वयनको अनुशरण गर्दा हुने देखिन्छ । जसकालागि बीमा कम्पनीहरुले आफ्नो कम्पनीको दीर्घकालीन भिजन तथा रणनैतिक योजना अनुरुप भविष्यमा प्रदान गर्ने थप सेवा तथा सङ्गठनात्मक विस्तारकालागी आवश्यक पर्ने जनशक्तिको यकिन गरी उच्च व्यवस्थापनको सहमति सहित उत्तराधिकारी योजना (Succession Plan) तयार गर्नु आवश्यक छ । हालको कर्मचारी संयन्त्र र लक्षित कर्मचारी संयन्त्रको विश्लेषण गरी उत्तराधिकारी हुन सक्षम कर्मचारीहरुको पहिचान गरी उनीहरुको तालिम तथा विकास गर्नुपर्दछ । वास्तवमा कर्मचारीको भर्ना तथा छनौट प्रक्रियादेखी नै उत्तराधिकारी योजना (Succession Plan) मा विशेष ध्यान दिनु आवश्यक छ। आज नियुक्ति भएको जनशक्ति भविष्यमा कुन क्षेत्रको लिडरशिप लिन सक्षम हुन्छ भन्ने कुरा व्यवस्थापनले पूर्वानुमान गर्नसकेमा उत्तराधिकारी योजना (Succession Plan) को सफल कार्यान्वयन हुन मद्दत पुग्दछ । साथै कर्मचारीलाई संस्थामा रोकिराख्ने (Retention) रणनीति पनि उत्तिकै महत्त्वपूर्ण छ जसकालागी कर्मचारीको वृत्ति विकास, पदोन्नति र पेशागत जीवनको गुणस्तर (Quality of Life) को बारेमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

बीमा कम्पनीहरुमा उत्तराधिकारी योजना (Succession Plan) लाई सफल बनाउन मुख्य व्यवस्थापक हरुलाई विशेष अधिकार प्रदान गर्ने र सो को कार्यान्वनको लागी उनीहरुलाई नै जिम्मेवार बनाउने प्रकृयाको संस्थागत विकास गर्न सकिएमा यसको सफल कार्यन्वयन हुने विश्वास लिन सकिन्छ, साथै उच्च व्यवस्थापन लाई समेत बोर्ड स्तरको कमिटीले आवधिक रुपमा अनुगमन गरी सो को कार्यान्वनको कार्य प्रगति विवरणको विश्लेषण गरी आवश्यक कार्य गर्न-गराउन निर्देशन दिने व्यवस्था मिलाउन सकिन्छ । बीमा समितीले समेत उत्तराधिकारी योजना (Succession Plan) को वार्षिक प्रतिवेदन माग गरी प्रभावकारी कार्यन्वायन नभएको खण्डमा आवश्यक निर्देशन दिने व्यवस्था मिलाउन सकिएमा बीमा कम्पनीहरुमा दक्ष जनशक्तिको अभाव बिस्तारै आगामी केहि वर्षमा हटेर जानसक्दछ । जसकालागि नियामक निकायले बीमा कम्पनीहरुको बार्षिक प्रतिबेदनमा बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको ब्यहोरा जब सम्म उल्लेख रहन्छ तब सम्म उल्लेखित निगरानी गर्नु पर्ने देखिन्छ ।

(लेखक बीमा लगायत विभिन्न  कम्पनीको वित्तीय तथा उच्च व्यवस्थापन तहमा लामो समयदेखि सक्रिय छन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS