कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल नाम ‘मेघेन्द्र प्रकाश गिरी’

काठमाडौं । हरेक कम्पनीको सफलताको पछाडि ब्राण्डिङ र प्रमोसनले अहम भूमिका खेलेको हुन्छ । ब्राण्डिङ त्यतिवेला सफल हुन्छ, कम्पनीहरुको नाम आम मानिसहरुको मन मनमा बस्न सक्छ । यसका लागि सिर्जनशील सोच र लगनशिलता चाहिन्छ ।

यस्तै सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् ।

बर्दियाको गुलरियामा जन्मिएका मेघेन्द्र प्रकाश गिरी सानैदेखि पढाइसँगै अन्य अतिरिक्त गितिवधिमा पनि अब्बल थिए । स्कुल लेभलमा मध्यम किसिमका गिरीले आइकममा कलेज टप गरे, त्यो पनि स्वःअध्ययन गरेर । २०४९ सालमा आइकम पुरा गरे पछि स्नातकको लागि नेपालगञ्जको महेन्द्र मल्टिपल क्याम्पसबाट स्नातक(बिकम) पुरा गरे । स्नातकोत्तरका लागि भने काठमाडौं आए । शंकरदेवमा स्नातकोत्तर गर्दै गर्दा बुबाको काममा साथ दिन घरमा जानु पर्ने भयो । त्यस पछि पुनः एक वर्ष पछि काठमाडौं आएर एमबिए पुरा गरे ।

साहित्य तथा क्रियटिभ क्षेत्रमा काम गर्न रुचाउने गिरीलाई सुरुदेखिनै मिडिया प्रति आकर्षण थियो । विविसी नेपाली सेवाले २०५२ सालमा आयोजना गरेको कार्यक्रममा गिरीले नेपालगञ्जमा ‘विझाइ नदेउ यो मुटुमा, फूल टिप्दा काडाँ बनेर…’ भन्ने गीत प्रस्तुत गरेका थिए । त्यस कार्यक्रममा नेपालगञ्ज सांगीतिक समुहको एउटा र अर्को उनको गीत प्रस्तुत भएको थियो । यसै कार्यक्रममा हास्यकलाकार हरिवंस आचार्य र मदनकृष्ण श्रेष्ठले ‘गलगाड’ भन्ने हास्य कार्यक्रम प्रहसन गरेका थिए । त्यो कार्यक्रम विविसी रेडियो र विविसी टेलिभिजनबाट लाइभ ब्रोडकाष्ट भयो । यसले गिरीलाई गीत गाउने तथा क्रियटिभ क्षेत्रमा काम गर्ने थप हौसला मिल्यो । उक्त प्रस्तुति पछि सबैले प्रोत्साहन गरेको अहिले पनि उनलाई ताजै लाग्छ । त्यहि प्रोत्साहनले उनलाई सञ्चार माध्यम प्रति सधै नै लालायित बनाइरह्यो ।

उनले एमबिए सकिने वित्तीकै ‘चिल्ड्रेन म्याग्जीन’ ‘योङ हेराल्ड’ मा मार्केटिङ अफिसरको रुपमा काम गरे । भर्खर कलेज सकिएर करिअर सुरु गरेका गिरीले तीन महिना भन्दा लामो समय काम गर्न सकेनन् । त्यस पछि नेपाल टोबाको कम्पनीमा मार्केटिङ तथा सञ्चार अधिकृतको जिम्मेवारी सहित काम सुरु गरे । थारु, मधेसी, अवधी, हिन्दी तथा स्थानीय भाषामा पोख्त गिरीले मार्केटिङ गरेका क्षेत्रमा सर्वाधिक बिक्री हुन्थ्यो । मार्केटिङसँगै कम्पनीको ब्राण्डिङमा उनले सबैभन्दा धेरै भूमिका निर्वाह गरे । फरक हिसावले काम गर्ने गिरीले नेपाल टोवाको मार्केटिङ गर्ने रणनीति नै परिवर्तन गरिदिए । उनि जहाँ पुग्थे त्यस ठाउँको सेल्स सबैभन्दा धेरै हुन्थ्यो ।

करिअरकै दौरानमा उनले नेपाल टोवाको छाडेर एशियन पेन्ट्समा जाने निर्णय गरे । पोखरा क्षेत्रको क्षेत्रीय इन्चार्जको रुपमा काम गर्नु पर्दा उनलाई सहज महसुस भएन । उनले तीन महिनामै जागिर छाडे ।

आफ्नो प्रतिभा प्रस्तुत गर्न पाइने अभिलासाका साथ उनले कान्तिपुर टेलिभिजनमा काम गर्ने निर्णय लिए । तत्कालिन अवस्थामा टेलिभिजनको छुट्टै चाम थियो । आफ्नो इच्छा त्यसमा पनि टेलिभिजनको चाम । टेलिभिजनको ग्ल्यामरस लाइफले उनलाई आकर्षित बनायो । तर साथि भाइले गिरीलाई आफ्नो क्रियटिभिटी प्रस्तुत गर्न मार्केटिङको जागिर भन्दा नयाँ कन्सेप्टका साथ प्रोग्राम बनाउने हिसावले ‘प्रोग्राम प्रोडुसर’ तथा ‘प्रिजेन्टर’को रुपमा आवद्ध हुन सुझाव दिए ।

उनले एशियन पेन्ट्स छाडेको तीन चार महिना भैसकेको थियो । बेरोजगार बस्नु परेको पिडा ! छुट्टै थियो । उनले सोचे अहिले मैले जे समस्या भोगिरहेको छु, त्यसैलाई प्रोग्रामको रुपमा तयार पार्छु । बेरोजगारको समस्याका विषयमा केन्द्रित भएर ।

कुनै पनि कम्पनीले आफुलाई चाहिने दक्ष जनशक्तिका लागि सञ्चारमा माध्यममा विज्ञापन आह्वान गर्ने त्यस पछि सर्ट लिस्ट गरेर लिखित, मौखिक हुँदै चयन गर्नु पर्ने झन्झटीलो अवस्थालाई गिरीले मनन गरे । उनले कन्सेप्ट फुराए ‘यहि प्रकृयालाई टेलिभिजन मार्फत रियालिटी सो गर्ने ।’

यसमा ठूला ठूला कम्पनीको उच्च व्यवस्थापनका लागि आवश्यक पर्ने कर्मचारीहरुका लागि प्रतिस्पर्धा गराउने । उक्त आवेदकहरुलाई टेलिभाइज गरेर एउटा राम्रो ‘सो’ चलाउने गरि उनले कन्सेप्ट तयार पारे ।

यस्तो सोबाट जसले धेरै स्कोर प्राप्त गर्छ, उसले चाहेको कम्पनीमा जागरिको लागि छनोट गर्ने । यस्तो सोले जागिरको खोजिमा रहेका युवालाई अन्तर्वार्ता कसरी फेस गर्ने, कसरी तयारी गर्ने लगायतका कुरामा ज्ञान दिने भएकाले कार्यक्रम चल्ने गिरीको पूर्वानुमान थियो । यस्तो सोमा नेपालका सबै कर्पोरेट हाउससँग संझौता गर्ने उनिहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको लागि सहजिकरणको काम गर्ने गरि एउटा प्रपोजल तयार पारे । २०६१ सालमा यहि प्रपोजल लिएर कान्तिपुर टेलिभिजनमा पेश गरे । कार्यक्रमको कन्सेप्ट सुरुमा टेलिभिजनले स्वीकार गरे पनि उक्त कार्यक्रम उत्पादनमा धेरै लागत लाग्ने हुनाले कार्यक्रम अगाडि बढेन । उनको यो क्रियटिभ सोच पुरा हुन नसके पनि टेलिभिजनमा काम गर्ने मोहका कारण उनि मार्केटिङमा आवद्ध भए । प्रोगाम बनाउन नपाए पनि उनले आफैले क्रियटिभ क्षेत्रमा विज्ञापन बनाउने लगायतका काममा आवद्ध रहिरहे । उनले तयार पारेका थुप्रै विज्ञापनका भिडियो नेपाली जन जनको मनमा बस्न सफल भएका छन् । यहिबाट उनले आफ्नो क्रियटिभ काम गर्ने भोक केहि हदसम्म पुरा गरे ।

कान्तिपुरले आफ्नो वार्षिकोत्सवको अवसरमा विज्ञापन बनाउने निर्णय गरेसँग नेपालका उत्कृष्ट विज्ञापन एजेन्सीहरूले समेत उक्त विज्ञापन बनाउन सहभागिता जनाएका थिए । यसै क्रममा साथिहरुले आफ्नो क्रियटिभिटी प्रस्तुत गर्न हौसाउने क्रममा उनि पनि आवद्ध भए । उनको कन्सेप्टमा तयार भएको प्रिन्ट एड कान्तिपुर टेलिभिजनको तेस्रो वार्षिकोत्सवका लागि छनोट भयो ।

यसका लागि उनले दुई वर्षको सानो फुच्चे बच्चा खोजे । उक्त बच्चालाई हात माथि उठाएर पृथ्वीलाई नै होल्ड गर्न लगाए । पछाडी दुई वटा छाप छाडेको पिक्चर बनाए । तेस्रो पाइलामा पृथ्वी समाएको फोटो बनाए । पछाडिका दुई पाइलालाई ‘मिठो सम्झना हिजोको’ र तेस्रो पाइलालाई ‘छ कल्पना भोलिको ।’ दुई पाइलाले विगतका दुई वर्षको इतिहास थियो । तेस्रो पाइलाले भोलिका दिनमा हामी नेपालमा मात्रै नभएर विश्वमै पुग्नु पर्छ भन्ने कल्पना थियो । उक्त विज्ञापनले सर्वाधिक चर्चा बटुल्यो । त्यस घटनाले उनलाई क्रियटिभ क्षेत्रको यात्रामा अगाडि बढ्न हौसला प्रदान गर्यो ।

कान्तिपुर टेलिभिजनलाई ग्लोबल लञ्च गर्ने क्रममा उनले पनि आफ्नो प्रतिनिधित्व जनाउन पाए । जसले उनलाई अझ सिक्ने ठूलो मौका मिल्यो । यसै क्रममा उनले कान्तिपुरमा साढे ११ वर्ष विताए । मिडियामा काम गर्न रमाइलो थियो तर उनलाई भविष्यले सोच मग्न बनायो । टेलिभिजनमा काम गर्दा गर्दै उनको कार्यक्षमताको चर्चाका कारण विभिन्न कर्पोरेट हाउसबाट अफर आउन थाल्यो । बैंक क्षेत्र प्रतिको आकर्षणले गर्दा यस विचमा उनले अर्थशास्त्रमा स्नातकोत्तर पनि गरिसकेका थिए ।

अर्थशास्त्र बढेर बैंकरको भुमिकामा भन्दा ब्राण्ड म्यानेजरको भुमिकाम काम गर्ने अफर आयो । उनि हानिए एनआईसी एशियाको ब्राण्ड म्यानेजर पदमा ।

क्यापिटल प्लान पछि आक्रामक बैंकिङ गरिरहेको एनआईसी एशिया ब्राण्डिङमा सक्रिय थियो । उनले एनआईसी एशियाको क्याम्पियनका लागि धेरै काम गरे । तत्कालिन समयमा गरिएको एनआइसी एशिया बैंकको ब्राण्डिङ क्यापियनले अहिले समेत चर्चा पाउने गर्छ ।

गिरीकै सफल ब्राण्डिङ रणनीति बैंकलाई जल, थल र आकाश तीन स्थानमै एनआईसी एशियालाई चिनाउने । यसै क्रममा उनले फेवातालदेखि लिएर एयर क्राफ्टमा समेत एनआईसी एशियाको ब्राण्डिङ सुरूवात गरे । एनआईसी एशिया बैंकमा उनको सफल क्याम्पियनलार्इ हेरेर अन्य कम्पनीहरूबाट अफर आउन थाल्यो ।

यसै क्रममा उनलाई आएका अफरहरू मध्ये नेपाल लाइफको अफरले आकर्षित गर्यो । नयाँ जोस, जाँगर, सोच, फरक रणनीति भएका युवा व्यवस्थापक तत्कालिन प्रमुख कार्यकारी अधिकृत विवेक झासँग काम गर्ने मौका पाउनु उनको लागि उत्साहजन अवसरका रूपमा रह्यो । दुरगामी सोच राख्ने ब्राण्डिङको महत्व बुझेका झासँगको ब्राण्डिङ यात्राले नेपाल लाइफलाई नै उत्कृष्ठ कम्पनीको रूपमा स्थापित गर्न सफल भए ।  नेपाल लाइफमा पनि उनले आफ्नो शिर्जनशीलता प्रस्तुत गरिरहेका छन् ।

नेपाल लाइफको ब्राण्डिङ तथा मिडिया व्यवस्थापन सँग सँगै समय सापेक्ष उनले तयार पारेका सन्देशमुलक गीत तथा भिडियोले आम नेपालीको मन जित्न सफल भई छोटो समयमा नै मिलियन भिउज पार गरेका छन् । चाड पर्व विशेष सांगीतिक भिडियो होस् वा कोरोना महामारीको लकडाउनबीच तयार भएको सन्देशमुलक तथा उत्प्रेरणा मुलक भिडियो, सबैले बजारमा राम्रो चर्चा बटुलेका छन् । समय अनुसार के पस्किनु पर्छ र अडियन्सको के चाहेको छ, उनले राम्ररी बुझ्न सक्ने खुबी राख्छन् । बैकिङ क्षेत्रमा ब्राण्डिङका लागि अब्बलता देखिएका गिरीले बीमा क्षेत्रमा पनि ब्राण्डिङकै क्षेत्रमा एउटा नयाँ इतिहास कोर्न सफल भए ।

कम्पनीले आयोजना गर्ने अभिकर्ता सम्मान लगायतका कार्यक्रममा इफेक्टिभ कम्युनिकेसनका लागि उनि अब्बल मानिन्छन् ।  कम्पनीको शाखलाई उच्च राख्न र बचाइ राख्न उनले महत्वपुर्ण भुमिका निर्वाह गर्न सफल भएका छन् । उनले एनआईसी एशिया तथा नेपाल लाइफको ब्राण्डिङ गर्दा गर्दै आफ्नो पनि ब्राण्डिङ भएको पत्तो पाएनन् ।

कान्तिपुर टेलिभिजनमा एक दशक भन्दा लामो अनुभवका कारणनै मिडियासँगको पब्लिक रिलेसनमा अब्बल मानिन्छन् । सञ्चार माध्यमबाट सिधै राष्ट्रिय स्तरको तत्कालिन नम्बर वान बाणिज्य बैंक तथा नम्बर वान बीमा कम्पनीको उच्च व्यवस्थानमा रहेर काम गर्ने व्यक्तिमा साहेद उनी पहिलो व्यक्ति भित्रै पर्छन् ।

ब्राण्डिङ गर्दा के के हेर्नु पर्छ

ब्राण्डिङ समय अनुसार गर्नु पर्छ । यसमा पुस र पुलको रणनीति सधै लागु हुने गिरी बताउछन् । कम्पनीका विभिन्न प्रोडक्टको मार्केटिङ पुस स्टाटेजीबाट गर्न सकिन्छ भने कम्पनीको ब्राण्डिङले पुल रणनीतिको काम गरिरहेको हुन्छ । मार्केटिङ गर्दा आफ्नो प्रोडक्ट लिएर ग्राहककोमा पुग्नु पर्छ । तर ब्राण्डिङले कस्टमरलाई नै कम्पनी प्रति आकर्षित गरिदिन्छ ।

गिरी भन्छन् ‘हामीले सबैभन्दा पहिला कम्पनीले आफ्नो प्रोडक्टको टार्गेट ग्रुप कुन हो थाहा पाउन पर्छ ।’ ग्राहकको टेस्ट, कलर, कल्चर, पर्चेजिङ पावर, इकोनोमिक व्यागराउण्ड हेरेर मात्रै मार्केटिङ तथा ब्राण्डिङ रणनीति बनाउनु पर्ने उनको धारणा छ ।

आफ्ना टार्गेट ग्रुप पत्ता लगाइसके पछि सबैभन्दा उपयुक्त सन्देश बनाउन सक्नु पर्छ । यस्तो म्यासेज तयार पार्नु पर्यो जसले ग्राहकलाई नक गर्न सक्ने हुनु पर्यो । ‘वाउ भन्ने हुनु पर्यो ।’ स्टोरीले कनेक्ट गर्नु पर्यो । ग्राहकले सोचेकै भाषा, रङ, फोटो, स्वाद, ट्युन हुनु पर्यो । उनि भन्छन् ‘एक पटक मात्रै कम्पनी प्रति आकर्षित गर्न सकियो भने ग्राहकले कम्पनीको ब्राण्ड, इमेज हत्तपती भुल्दैनन्, उसँग फेरी कनेक्ट सहजै हुन सकिन्छ ।’

मार्केटिङ प्राय कम्पनीको बस्तु तथा सेवा बिक्रीको हतियारका रुपमा प्रयोग गरिन्छ भने ब्राण्डिङले भने कम्पनीलाई नै हरेकको मन मस्तिष्कमा सदैब बसाउन भुमिका निर्वाह गरिरहेको हुन्छ । ब्राण्डिङले तत्काल भन्दा पनि दीर्घकालिन रुपमा बजारमा टिकाउन मद्दत गर्ने भएकाले यो सबैभन्दा ठुलो हतियार हो ।

हाल विश्व एउटा डिपार्टमेन्ट स्टोरको रूपमा रहेको छ । आफ्नो चाहेको सामान तथा सेवा छनोटका लागि उ पूर्णत स्वतन्त्र छ । उसको दिमागमा जुन कम्पनीको ब्राण्ड बसेको हुन्छ, त्यही नै उसले छनोट गर्दछ । कुनै पनि प्रोडक्टको इमेज छनोट गर्नुभन्दा अगाडि उसको दिमागमा प्रोडक्ट इमेज बसाइदिने काम ब्राण्डिङले नै गर्दछ । राष्ट्रले देशको सुरक्षा क्षेत्रमा खर्च गरेझै कुनै पनि कम्पनीले विज्ञापन तथा ब्राण्डिङ पनि कम्पनीले चाहेको बेलामा, आवश्यक परेको बेलामा प्रयोग गर्न, प्रतिस्पर्धिलाई उछिन्न र सदैव आफ्ना ग्राहकको मनमस्तिकमा बसिरहनको लागि विपनको रूपमा प्रयोग गर्नु पर्दछ ।

पछिल्लो समय “एम्बियन्ट एडभर्टाइजि” रणनीति सबैभन्दा प्रभावकारी भैरहेको उनको अनुभव छ । सहि समय, स्थान, मौसम, रहनसहन, भाषा, धर्म, भुगोल अनुसार मनन गरि गरिएको ब्राण्डिङ रणनीतिद्वारा ग्राहकले उपभोग गर्न लागेको बस्तु तथा सेवा प्रति छुट्टै फिल गराउन यस्ता अवधारणाले प्रभावकारी भुमिका खेल्ने गरेको छ ।

सफलताका सुत्र

मिडिया, बैंक, बीमा, एफएमसिजी र बहुराष्ट्रिय कम्पनी जस्ता कम्पनीमा काम गरेको अनुभव बटुलिसकेका गिरीको विचारमा सफल हुन पहिलो सुत्र ‘क्रियटिभ एण्ड हार्ड वर्किङ’  नै हो । ब्राण्डिङ हेडको रुपमा काम गर्दै गर्दा सबैभन्दा पहिलो आवश्यकता युनिक क्रियटिभ सोच हो भने अर्को आवश्यक चिज मिडियासँगको गहिरो पिआर नै हो ।

गिरी आफै गीत लेख्नुका साथै गाउने तथा कम्पोज समेत गर्छन् । त्यसैगरी विज्ञापनका कन्सेप्ट बनाउने देखि लिएर निर्देशन गर्ने कला सम्म उनमा छ । यहि कलाले पनि उनलाई सफल बनाउन साथ दिएको छ । मार्केटिङ सँग सँगै ब्राण्डिङ दुबै ज्ञान तथा अनुभवले उनलाई सफल बनाउन मद्दत गर्यो । हरेक कम्पनीका आ-आफ्नै रणनीति हुन्छन् । कम्पनीको रणनीति अनुसार ब्राण्डिङ हेडले आफुलाई प्रस्तुत गर्न सक्नु पर्छ । कम्पनीको चाहनालाई पुरा गर्न सक्ने व्यक्ति नै सफल ब्राण्ड म्यानेजर हुने गिरीको धारणा छ । अर्को तर्फ आफु सँग काम गर्न सक्ने प्रतिभा छ तर त्यो प्रतिभालाई कम्पनीले पनि उपयोग गर्न खोज्दैन भने त्यो व्यक्तिले सफलता पाउन गाह्रो हुन्छ । त्यसैले दुबैको कम्पोजिसन हुनै पर्यो ।

ब्राण्ड म्यानेजरलाई १० देखि ५ बजेसम्मको समय सिमा भित्र रहेर काम गर्न दिइयो भने पनि उ सिर्जनसील हुन सक्दैन । गिरीका अनुसार ब्राण्ड म्यानेजरलाई क्रियटिभ काम गर्नका लागि स्वतन्त्र छाडिदिनु पर्छ । सफलता तपाइको हातमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार