IME Life

बीमा अभिकर्ताको व्यावसायिकताको विकास गर्ने जिम्मेवारी कसको हो ?

SPIL
NIC ASIA

बीमा कम्पनी र बीमा गर्न चाहने बीमित बीच सम्पर्क गराउन अहोरात्र खटिएर काम गर्ने व्यक्तिहरुलाई हामी बीमा अभिकर्ता भन्ने गर्छौं । बीमा अभिकर्ताहरु बीमा कम्पनीको व्यवसायलाई फैलाउन तथा बीमा शिक्षाको पहुँच बढाउन दिनरात नभनी, घामपानी नभनी, कुनै नियमित तलबको आश नगरी केवल बीमा समितिले तोकिदिएको निश्चित प्रतिशत कमिशन पाउने आशामा लगातार खटिएर काम गर्ने गर्दछन् । यसक्रममा यिनीहरु जहाँ जहाँ बीमा कम्पनिको पहुँच छ, शाखा तथा उपशाखा सञ्जाल छ त्यहाँ त काम गर्दछन नै अझ जहाँ जहाँ बीमा कम्पनी पुग्न सकेको छैन र उसको सेवा उसको शाखा मार्फत पुग्न सकेको छैन ती ती स्थानमा समेत ती बीमा कम्पनीको विश्वासिलो प्रतिनिधि बनेर उसको व्यवसाय वृद्धि गर्न सधै लागिराखेका हुन्छन् ।

यसरी अभिकर्ता भएर काम गर्ने वीमा अभिकर्ताहरुले कहिले पनि राम्रोसँग आफ्नो पेशाको व्यवसायिकता उपर गम्भीर भएर सोचेको तथा त्यसको लागि आफ्ना आवाजहरु संगठित रुपमा उठाएको देखिएको छैन । छिटफुट रुपमा विभिन्न अनौपचारिक समूहहरु एकआपसमा सहकार्य गरेर बीमा कम्पनीहरुमा आफूहरुले पाउने सुविधाको लागि बार्गेनिंंग गर्नुको अलावा अभिकर्ता पेशाको मर्यादा बढाउने तथा क्षमता अभिवृद्धि गरी व्यावसायिकता विकास गर्नेतर्फ उनीहरुले जाेड दिएकाे देखिएको छैन ।

Prabhu
Crest

किनकी नेपाली बीमा कम्पनीहरुमा बीमा अभिकर्ता अर्थात बीमा एजेन्ट बन्ने सुरुवात बीमा अभिकर्ताको लाइसेन्स प्राप्त भएपश्चात हुन्छ । यसरी लाइसेन्स लिनको लागि बीमा समितिले तोके बमोजिमको न्यूनतम योग्यता पुरा गरेको प्रमाणपत्र र तोकेको अवधिको तालिम प्राप्त गरेको छु भनेर देखाउने तालिमको प्रमाणपत्र प्रस्तुत गरे पुग्छ । त्यो व्यक्तिले साँच्चैको बीमा सम्बन्धि आधारभूत ज्ञान हासिल गरेको हो वा होइन भनेर त्यसको जाँच कसैले पनि गर्ने गरेको पाइँदैन ।

यता बीमा कम्पनीहरुलाई पनि सक्दो धेरैभन्दा धेरै एजेन्टहरु थप्नुपर्ने दबाब छ । जतिधेरै नयाँ अभिकर्ता त्यति धेरै व्यवसायको सम्भावना । त्यसकारण सक्दो धेरै सम्भावित अभिकर्ता भेला पार्ने र सकेसम्म तालिम दिने तर तालिम लिन नै चाहेनन् र खाली एजेन्ट बन्न मात्रै चाहे भने पनि नरोक्ने । यस्तो परिस्थितिमा बनेका अभिकर्ताहरुले कति दिन र कसरी काम गर्लान त ? यसरी बनेका अभिकर्ताहरुले बीमाको बारेमा कसरी शिक्षा प्रदान गर्लान त ? तर यो भन्दैमा सबैजना यसरी नै अभिकर्ता बन्छन भनिएको त हैन । तर पछिल्लो चरणमा नयाँ कम्पनिहरु थपिएपछि यस प्रकारले अभिकर्ता बन्ने र बनाउने बेथिति धेरै बढेर गएको देखिन्छ ।

यता बीमा समितिलाई पनि हाइसन्चो छ । उसले बीमा कम्पनीहरुको लागि भनेर उनीहरुले सञ्चालन गर्ने तालिमको लागि अभिकर्ताको तालिम निर्देशिका २०७२ जारी गरिदिएकै छ । त्यसमा उसले राम्रोसँग लेखिदिएकै छ तालिम लिन न्यूनतम योग्यता पुगेका नेपाली नागरिकले कम्तिमा १७ घण्टा तालिम लिएको हुनुपर्नेछ भनेर ।

त्यही भएर नेपालमा बीमा अभिकर्ताको पेशालाई एकदमै सामान्य रुपमा हेरिन्छ । अझ भनु कतिपय अवस्थामा हेयको दृष्टिले हेरिन्छ । त्यही भएर त अभिकर्ताहरुलाई उनीहरुले काम गर्ने बीमा कम्पनीले बेला बेला गर्ने सामान्य सम्मान बाहेक सामाजिक रुपमा तथा सरकारी तवरबाट कहिले पनि बीमा अभिकर्ताको यो पेशा सम्मानित पेशा हो भनेर पहिचान गर्ने किसिमले कसैले पनि केही कार्य गरेको देखिँदैन । यहाँ सम्म कि बीमा व्यवसायको समुदाय स्तरमा पहुँच वृद्धि हुनुपर्छ र यो अभिकर्ताको माध्यमबाट मात्र सम्भव छ भनेर पहिचान गर्ने तथा त्यस्ता अभिकर्ताहरुलाई नियमन गर्छु भनेर अनुमति पत्र प्रदान गर्ने निकाय बीमा समितिले समेत यो पेशालाई मर्यादित र सम्मानित बनाउने तर्फ खासै ध्यान दिन सकेको छैन ।

समान्यतय केही काम नपाएका, बेगारी तथा जाली फटाहाहरूले गर्ने काम हो जस्तै गरेर बीमा अभिकर्ताको पेशालाई समुदाय स्तरमा होच्याएको, निन्दा गरिएकाे र अभिकर्ता हुँ भन्दा साथीभाईले नाक खुम्च्याएको देख्दा बीमाको क्षेत्रमै पूर्णकालिन अभिकर्ता भएर केही नयाँ ढंगबाट काम गर्छु भनेर आउन चाहनेहरु समेत खुलेर आउन नसकेको परिस्थितिमा पुराना तथा भर्खरै लाइसेन्स प्राप्त गरेर आएका बीमा कम्पनीहरुले आफ्नै जोडबलले केही हदसम्म व्यवसायिक अभिकर्ताहरु उत्पादन गर्दै आएकाछन् । तर बीमा समितिले अभिकर्ताको पेशा पनि सम्मानित पेशा हो । यो पेशा पनि अन्य सम्मानित पेशाहरु सिए, वकिल तथा डाक्टरहरु झैं समुदायमा योगदान पु¥याउने पेशा हो भनेर त्यस किसिमले प्रस्तुत गरेको कहिँ पनि देखिएको छैन ।

यदि यस्तो हुन्थ्यो त बीमा समितिले यसको लागि यथाशक्य थुप्रै गतिला कामहरु गरेर त्यस किसिमको वातावरण तयार पारेको हुन्थ्यो र हरेक घरबाट एसएलसी पास गर्ने बीमा अभिकर्ताको लाइसेन्स लिन मरिहत्ते गर्ने थिए होला । विदेशमा जस्तै कम्तिमा पनि १५ दिन देखि ३ महिनासम्मको तालिम लिइराखेका हुन्थे होलान । परिक्षा कसरी पास गरेर लाइसेन्स लिन सकिन्छ भनेर विभिन्न कोचिंग कक्षा तथा तालिम केन्द्रहरुमा धाइराखेका हुन्थे होलान ।

राष्ट्रिय बीमा संस्थान २०२४ मा स्थापना भएयता के कति नेपालीहरु बीमा अभिकर्ता भएर काम गरिरहेका होलान त्यो त बीमा समितिलाई नै थाहा होला । तर ती आएका बीमा अभिकर्ताहरु मध्ये कति व्यावसायीक अभिकर्ता बनेर अहिले सम्म बीमाकाे क्षेत्रमा काम गर्दै होलान त्यो भने सायद ती अभिकर्ता तयार गर्ने बीमा कम्पनीहरुलाई सोध्नु पर्ने हुन्छ ।

बीमा समितिले बीमा कम्पनीलाई तालिम प्रमाणपत्र मात्र दिएर पठाओ नभनिकन ती तालिमहरु के कस्तरी सञ्चालन भइराखेकाछन्, त्यस्ता तालिम दिने प्रशिक्षकहरु साँच्चैको निर्देशिकामा भने बमोजिमकै छन कि छैनन भनेर कहिले पनि हेर्ने गरेको देखिँदैन । कहिलेकाही फिल्ड भिजिटका नाउँमा कर्मचारी पठाएपनि तिनीहरुले यथार्थमा के भइराखेको छ भन्ने कुराको सुईंको सम्म पनि पाउँदैनन । तसर्थ बीमा समितले एउटा तालिमको निर्देशिका मात्रै जारी गरेर अभिकर्ताहरुको जिम्मेवारी बीमा कम्पनीलाई सुम्पिएर आफू उम्किन भने पक्कै पनि मिल्दैन । उसले अभिकर्ताहरुलाई व्यावसायिक बनाउन विभिन्न प्रकारका व्यवसायिक तालिम सञ्चालन गर्नुपर्ने मात्र नभई विभिन्न माध्यमबाट वीमा कम्पनीबाट तालिम लिनेहरुले सहि तालिम लिए नलिएको जाँच्न परिक्षा नै लिनुपर्ने पनि देखिन्छ । यसकालागि बीमा समितिले अनलाईन तालिम नै सञ्चान गर्न सक्दछ । यस्तो अनलाईन परीक्षामा प्रति प्रश्न ३० देखि ४० सेकेण्डको उत्तर दिने समय राखेर मल्टिपल च्वाइस प्रश्नावली तयार गरेर गर्न सकिन्छ । यसरी परिक्षा लिएर पास हुनेलाई मात्र तालिमको प्रमाणपत्र दिने व्यवस्था मात्रै गर्ने हो भने पनि धेरै हदसम्म सहि र दिगो ढंगबाट काम गर्ने व्यावसायिक अभिकर्ताहरु तयार हुने विश्वास गर्न सकिन्छ ।

तालिम र अध्ययन मात्रै सर्वोपरि पनि होइन यो अभिकर्ताहरुलाई काम गर्ने एउटा आधार हो । अभिकर्ताहरु जति धेरै सक्षम हुन्छन त्यति धेरै सहि अर्थमा बीमाको पहुँच गाउँगाउँमा पुग्न सक्छ । अहिले बीमा पोलिसिको आधारमा बीमा पहुँच यति प्रतिशत पुग्यो भन्नुको सहि अर्थ त्यति बेला लाग्छ जति बेला अभिकर्ताहरुले बीमीतहरुलाई करले होइन बीमा पोलिसि लिउँ लिउँ बनाएर बेच्न सक्छन् । सहि अर्थ त्यो बेला लाग्छ जति बेला बीमितहरुले अण्डर भ्यालुड बिमांक रकमको बीमा गरेर नभई आफुलाई पुग्ने रकम बराबरको बीमा गर्दछन् ।

यसका साथै बेलाबेलामा क्षमता अभिवृद्धि सम्बन्धि विभिन्न कार्यक्रमहरुका साथै अभिकर्ताहरुलाई तिनीहरुले समाजमा गरेको योगदानको आधारमा बीमा समितिले हरेक प्रदेशबाट पहिचान गरेर राष्ट्रिय सम्मान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्नुका साथै अमेरिकामा एजेन्टहरुको संस्था एमडिआरटि भने जस्तै नेपालमा पनि व्यावसायिक अभिकर्ताहरुको उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रमहरुलाई बीमा समितिले अगाडि बढाई अभिकर्ताहरुको सहि अर्थमा अभिभावकत्व लिएर नेतृत्व विकास तथा व्यवसायिकता विकासमा भूमिका खेल्न सक्दछ ।

यता स्वयं बीमाको अभिकर्ता बन्ने चाहना भएको व्यक्तिले समेत आफ्नो पेशाको बारेमा पूर्ण सुशूचित भएर यो पेशामा प्रवेश गर्नुपर्ने हुन्छ । नकि कसैको लहैलहैमा लागेर वा उक्साएको भरमा उक्सिएर या कसैले गरेको देखेको भरमा मैले पनि सजिलै सकिहाल्छु नि भनेर रहर गरेर । यसका साथै बीमा कम्पनीहरू पनि थप जिम्मेवार हुन जरूरी छ ।अभिकर्ताहरूलाई पेशेवर तथा व्यावसायिक बनाउनलाई । अभिकर्ता बन्ने बखत प्रदान गरिने आधारभूत तालिम न्यूनतम तोकिएको अवधि सम्म सञ्चालन भएकै हुन पर्ने र तालिम लिएको उपस्थिति पुस्तिकामा गरेको हस्ताक्षरको भरमै तालिम प्रमाणपत्र वितरणको कार्यलाई परिमार्जन गर्दै अनिवार्य तालिम र अनिवार्य परीक्षा प्रणाली अवलम्बन गरेर लाइसेन्सको सिफारिस गर्ने र लाइसेन्स पाइसकेपछिका दिनहरूमा आफ्ना अभिकर्ताहरूबाट सम्पादन हुने कार्यहरूलाई नजिकबाट सुपरिवेक्षण गरी थप नेतृत्व विकास तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नेतर्फ अझ जिम्मेवारीका साथ काम गर्नुपर्ने हुन्छ ।

तसर्थ फेरी पनि बीमा समितिको काम अभिकर्ताको लागि लाइसेन्स दिएर तथ्यांकमा अभिकर्ता यति वृद्धि भए भन्नुमात्र सीमित नभई तिनीहरुको पेशामा आवश्यक पर्ने समस्याहरुलाई सहजिकरण एवं व्यवसायिकता विकासमा टेवा पुग्ने हिसाबले नियामकिय नीति तयार गरी सञ्चालन गर्ने तर्फ निरन्तर कार्य गरि राख्नु पर्नेहुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS