नेपालमा लघु बीमाको आवश्यकता र यसको प्रयोग

लघु बीमा के हो र किन ?
बीमितको काबु बाहिरको घटनाबाट श्रृजना हुनसक्ने हानी नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न प्रवन्ध गरिएको जोखिम हस्तान्तरण सम्वन्धी सन्यन्त्रलाई बीमा भनिन्छ । बीमा बचत हो, लगानी हो, जोखिमबाट बच्ने सुरक्षा कवच हो । बीमा न्यून आय भएका व्यक्तिप्रति लक्षित भए लघु बीमा हुन्छ । यसको सवैभन्दा बढी आवश्यकता विपन्न र न्यून आय वर्गलाई हुन्छ, साना उद्यमीलाई हुन्छ । जव साना उद्यमीहरु व्यवसायिक रुपले सुरक्षित महशुश गर्दछन्, उनीहरुको जोखिम बहन गर्न सक्ने क्षमता विकास हुन्छ । नयाँ व्यवसाय सञ्चालन गर्ने सामथ्र्य बढ्छ , व्यवसाय विस्तार गर्ने आत्मविश्वास अभिवृद्दि हुन्छ, प्रतिफलमा वृद्दि हुन्छ । उपयुक्त स्तरको प्रतिफलले आर्थिक अवस्था मजबुत हुन्छ । यिनै साना उद्यमी व्यवसायीहरु पछि ठूला उद्यमी बन्न सक्दछन् ।

लघु बचत, लघु कर्जा, लघु बीमा र लघु भुक्तानी सेवा लघु वित्तका वित्तीय आयामहरु हुन् । यस बाहेक लघु वीत्त संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाई, नेतृत्व विकास, उद्यमशिलता विकास, तालिम लगायतका गैह्र वित्तीय क्रियाकलापमार्फत सचेतनामूलक सेवा उपलव्ध गराउँदछ । यस्ता सचेतनासहितको गैह्र वित्तीय क्रियाकलापले लघु वित्तका ग्राहकहरुमा वित्तीय श्रोतको उचित उपयोग गरी वित्तीय रुपमा अनुशासित हुन अभिप्रेरित गर्दछ । लघु बीमाको सन्दर्भमा लघु भन्नाले न्यून आय भएका लक्षित ग्राहक, विशिष्टिकृत सेवा र सरलिकृत प्रक्रिया भन्ने बुझिन्छ ।

कल्पना गरौं, गरीब परिवारको कमाउने प्रमुख सदस्यको मृत्यु भयो भने के हुन्छ ? न्यून आय भएका परिवारका केटाकेटी विरामी परी अस्पताल भर्ना गर्नु पर्यो भने के हुन्छ ? गरीबको झुप्रो हुरी बतासले उडाईदियो, बाढीले बगाइदियो वा अन्य प्राकृतिक प्रकोपले ध्वस्त भयो भने के हुन्छ ? यी सवै परिघटनाहरुले गरीबमाथि अझ बढी प्रहार गर्दछ, गरिवी झन् गहिरिंदै जान्छ । गरिवीको दुष्चक्र जारी रहन्छ ।

गरिवी आफैंमा जोखिम हो, यसले अझ बढी जोखिम जन्माउँछ । गरिवीको आयाम र प्रभाव बहुआयामिक अनि जटिल हुन्छ । गरिवी माथिको प्रहार पनि बहुआयामिक नै हुनुपर्छ । लघु कर्जा र बचत मात्र गरिवी निवारण र दीगो विकासकालागि पर्याप्त हुँदैन । बीमा सहितको वित्तीय र सचेतना सहितको गैह्र वित्तीय उपायहरुद्धारा चारैतिरबाट प्रहार गरे मात्र दीगो रुपमा गरीवी निवारण गर्न सकिन्छ । नेपालमा अधिकांश लघुवित्त संस्थाहरुले बचत तथा ऋणको मात्र कारोवार गर्दछन् । पछिल्लो समयमा रेमिट्यान्स र बीमा सम्वन्धी कारोवार पनि गर्न थालेका छन् । यस्तो सेवा ग्रामिण क्षेत्रमा प्रभावकारी देखिएको छ । शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा गरिवी गहिरो छ, आयतन पनि फराकिलो छ, जोखिम पनि अधिक छ । अशिक्षा, कुपोषण, सरसफाईमा कमी आदिले जीवन नै जोखिममा छ । रोग, मृत्यु तथा दुर्घटनाको दर बढी छ । औपचारिक बीमा सेवाको पहुँच सुगम तथा शहरी क्षेत्रमा सीमित छ, बीमा प्रिमियम पनि उच्च र प्रक्रिया पनि लामो र जटिल छ । त्यसैले न्यून आय भएका गरीबहरु यसको पहुँबाट टाढा छन् । बीमा कम्पनीहरु प्नि उच्च प्रशासनिक लागत र व्यवसायिक सम्भाव्यता नभएको ठानी त्यस क्षेत्रमा सेवा प्रवाह गर्न इच्छुक देखिँदैनन् ।

न्यून आय भएका व्यक्तिहरु मुलधारका व्यवसायिक बीमा कम्पनीहरुका प्राथमिकतामा नपर्ने, उनीहरुका प्रोडक्ट, प्रिमियम, बीमा रकम र प्रक्रिया गरीव मैत्री नहुने भएकोले लघु बीमाको आवश्यकता महशुस भएको हो । लघु बीमाले गरीव लक्षित विशिष्टिकृत प्रोडक्ट डिजाइन गरी सोही बमोजिमको प्रिमियम निर्धारण गर्ने भएकोले न्यून आय मैत्री हुन्छ ।

अन्य बीमा जस्तै लघु बीमालाई पनि दुई भागमा बाँडिएको छः लघु जीवन बीमा र लघु निर्जिवन बीमा । लघु जीवन बीमा अन्तर्गत ऋण रकमको साथै मृत्यु पश्चात गरिने संस्कारमा हुने खर्चको समेत बीमा गरिन्छ । लघु जीवन बीमा पनि विभिन्न प्रकृतिका हुन्छन् । म्यादी लघु जीवन बीमा, आजिवन लघु जीवन बीमा, सावधिक लघु बीमा र लघु उद्यम जीवनबीमा । म्यादी जीवन बीमा निश्चित अवधिको लागि गरिन्छ । यस्तो अवधि ५, १०, १५, २० वर्षसम्मको हुनसक्छ । बीमा रकम र प्रिमियम पनि निश्चित गरिएको हुन्छ । आजिवन जीवन बीमा जीवन भरको लागि गरिन्छ, मृत्यु भएमा उक्त रकम मृतकका आफन्तलाई प्रदान गरिन्छ । सावधिक जीवन बमिा तोकिएको बीमा रकम बीमितको मृत्यु वा तोकिएको उमेर मध्ये जुन अगाडि हुन्छ, त्यही समयमा भुक्तानी गर्ने प्रतिवद्धता सहित जारी गरिएको हुन्छ ।

लघु निर्जिवन बीमा पनि विभिन्न प्रकृतिका हुन्छन्ः बीमित तथा उसका परिवारका सदस्य बिरामी भई उपचार गराउनुपर्ने भएमा प्रदान गरिने बीमालाई स्वास्थ्य बीमा भनिन्छ । लघु वित्त संस्थाले प्रवाह गरेको ऋण समयमा असुल नहुने तथा लघु ऋण कार्यक्रम असफल हुने प्रमुख कारण नै ग्राहक तथा तिनका परिवारका सदस्यहरुको स्वास्थ्य स्थिति खराव भै आफ्नो आम्दानीको ठूलो हिस्सा त्यसैमा खर्च गर्नुपर्ने बाध्यता हो । अन्न खेती, नगदे बाली, पशु तथा पंक्षीपालन, माछापालन, फलफुल खेतीलगायतका कृषिसँग सम्वन्धित क्रियाकलापहरु जोखिमयुक्त हुन्छन् । खडेरी, अधिकबर्षा, असिना, हिँउ, बाढी, रोग व्याधीले कृषि व्यवसायलाई सोझै नोक्सानी पुर्याउँछ । स्वपुँजी र ऋणबाट लगानी गरिएका यस्ता परियोजनाहरु असफल भएय सको नकारात्मक असर किसान र ऋण प्रवाह गर्ने संस्थालाई पर्दछ । लघु बीमा कार्यक्रमले किसानहरुका साथै लगानीकर्ताहरुलाई नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । यसबाट दुबै पक्षमा आत्मविश्वास जागृत हुन्छ, उनीहरुमा जोखिम लिन सक्ने सामथ्र्य बढ्छ । लगानीको उपयुक्त वातावरण बन्दछ । यस बाहेक निर्जिवन लघु बीमाअन्तर्गत गार्हस्थ बीमा, दुर्घटना बीमा तथा अपांगता वा असमर्थता बीमा, प्राकृतिक प्रकोपबाट सुरक्षा, बेरोजगारी बीमा, पुनरबीमा, लघु उद्यम बीमा आदि पर्दछन् ।

लघु बीमाका पनि विभिन्न मोडेलहरु छन् । तीमध्ये धेरै प्रचलित समुदायमा आधारित सामुहिक मोडेल र साझेदार– एजेण्ट मोडेल हुन् । समुदायमा आधारित सामुहिक मोडेल लघु बीमाको अनौपचारिक मोडेल हो । यस अन्तर्गत व्यक्तिहरुले समूह निर्माण गर्दछन् । बीमा योजना आफैं बनाउँछन्, नियम आफैँ बनाउँछन, यसैमा आफ्नो रकम जम्मा गर्दछन । लघु वित्त संस्थाले आफ्ना सदश्यहरुबाट निश्चित रकम संकलन गरी बीमाकोष बनाउँछन्, सदस्यको मृत्यु वा सम्पति हानी नोक्सानी भएमा निश्चित रकम क्षतिपूर्ति प्रदान गर्दछन् । साझेदार– एजेन्ट मोडेल बीमा कम्पनीले सञ्चालन गर्ने औपचारिक मोडेल हो । यसमा बीमा कम्पनी र बीमा एजेन्टबीच पारस्परिक सम्वन्ध स्थापना गरिन्छ । बीमा कम्पनीले पार्टनरको रुपमा प्रोडक्ट डिजाइन, प्रिमियम निर्धारण र अण्डरराइटिंग आदि पक्षमा ध्यान दिई योजनालाई दीगो र विश्वसनीय बनाउन भूमिका खेल्दछ भने मध्यस्थकर्ताको रुपमा एजेन्टले सेवाप्रवाह, बजारिकरण, प्रिमियम संकलन गरी योजनालाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी लिएको हुन्छ । एजेण्टको रुपमा बीमा कम्पनी, लघुवीत्त संस्था, गैरसरकारी संस्था, स्वास्थ्य सेवा प्रदायक आदि संलग्न हुन्छन् ।

नेपालमा लघु बीमा
बीमाको पहँुच सवै वर्गमा पुर्याउने उद्देश्य अनुरुप न्यून आय भएका वर्गहरुलाई समेत बीमाको दायराभित्र ल्याउन बीमा समितिले वि.सं. २०७१ सालमा लघु बीमा निर्देशिका जारी गरी सोसँग सम्वन्धित विभिन्न बीमालेखहरु जीवन तथा निर्जीवन सवै बीमा कम्पनीमार्फत कार्यान्वयनमा ल्याएको छ । उक्त निर्देशिकालाई २०७५ सालमा संशोधन गरी परिमार्जन गरिएको छ । उक्त निर्देशिकामा लघु बीमाको अधिकतम सीमा सात लाखसम्म कायम गरिएको छ । बीमा समितिबाट जारी गरिएका लघु बीमाहरुमा जीवन बीमातर्फ सावधिक लघु जीवन बीमा र म्यादी लघु जीवन बीमा गरी दुई प्रकारका छन् भने निर्जीवन बीमातर्फ व्यक्तिगत दुर्घटना लघु बीमा, गार्हस्थ लघु बीमा र स्वास्थ्य लघु बीमा गरी तीन प्रकारका रहेका छन् । नेपाल सरकारले बीमा कम्पनीहरुले आफ्नो कूल बीमा व्यवसायको न्यूनतम दश प्रतिशत अंश लघु बीमा हुनुपर्ने व्यवस्था गरेको छ । नेपाली बीमा कम्पनीहरुको लघु बीमातर्फको व्यवसाय हेर्दा निर्जीवन बीमातर्फ जारी कूल बीमालेखको करीब ५ प्रतिशत र जीवन बीमातर्फ जारी कूल बीमालेखको ७ प्रतिशत लघु बीमा लेखा जारी भएको अनुमान छ । यसरी लघु बीमाको क्षेत्रमा बीमा कम्पनीहरुले धरै गर्न बाँकी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार