बीमा क्षेत्रमा कोरोनाको असर

कुनै एक व्यक्तिले बहन गर्न नसक्ने जोखिम भार समूहमा विभाजन गर्ने कार्यलाई सामान्य अर्थमा बीमा भनिन्छ । काबु भन्दा बाहिरको घटनाबाट सिर्जना हुन सक्ने हानी नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न प्रवन्ध गरिएको जोखिम हस्तान्तरण सम्वन्धी संयन्त्र नै बीमा हो । संक्षिप्तमा, बीमा जोखिम व्यवस्थापनको वित्तीय उपकरण हो र वित्तीय मध्यस्थता सेवा पनि हो ।

जोखिम व्यवस्थापन र प्रतिफल प्रदान गर्ने दुई वटै सेवा एउटै द्धारबाट उपलव्ध गराउने काम बीमा सेवा प्रदायकहरुले गर्दछन् । त्यसैले बीमा लगानी, बचत र सुरक्षा कवचको मिश्रण पनि हो ।

बीमा धनीको लागि मात्र होइन यो गरिबी निवारणको औजार पनि हो । बीमाले वित्तीय सुरक्षा प्रदान गर्दछ, वित्तीय सुरक्षाले आत्मविश्वास अभिबृद्धि हुन्छ, आत्मविश्वासले जोखिम बहन गर्ने सामार्थ्य बढ्छ । जोखिम बहन गर्न सक्ने व्यक्ति नै उद्यमी बन्दछ । उद्यमबाट रोजगारी सिर्जना हुन्छ , रोजगारीले आम्दानी बढाउँछ, आम्दानीमा भएको बृद्धिले गरिबी निवारणमा सहयोग गर्दछ ।

बीमा क्षेत्रमा कोभिड प्रभाव
प्लेग, स्पेनिस फ्लु, एचआइभी एड्स, स्वाइनफ्लु, सार्स, इबोला, मर्स जस्ता संक्रामक रोगहरुले बेलाबखत मानव जातिको अस्तित्व माथि धावा बोल्दै आइरहेका छन् । माथि उल्लेखित रोगहरुमध्ये कतिपय रोगहरुको प्रभाव क्षेत्र सिमित र प्रसारण क्षमता सामान्य थियो । ती रोगहरुको तुलनामा चीनको वुहानबाट शुरु भएको र विश्व स्वास्थ्य संगठनले मार्च ११, २०१९ मा विश्वव्यापी महामारी घोषणा गरेको कोभिड १९ को फैलिने गति र प्रभावको कारण छोटो समयमै विश्वव्यापी बन्यो । संक्रमणको चक्रलाई छिन्न भिन्न पारी मानवीय क्षति न्यून गर्न विभिन्न देशले पूर्ण रुपमा लकडाउन, यातायात माथि प्रतिवन्ध, जमघट र कार्यालय बन्द आदि उपायहरु अपनाए । तर पनि संक्रमणले लाखौं मान्छेहरुको जीवन लिला समाप्त पार्यो, आपूर्तिका श्रृंखलाहरुलाई भत्कायो र संसारभर नै व्यवसायिक क्षेत्रलाई तहसनहस बनायो । अर्थतन्त्रलाई बरबाद बनायो, विश्वव्यापी रुपमा मन्दीको अवस्था आयो । संसारभरका सरकार र बीमा क्षेत्र प्रति मान्छेहरुका आशा केन्द्रित हुन पुग्यो । तीव्र गतिको संक्रमण र फैलावटले सरकार र बीमा क्षेत्रलाई रक्षात्मक र कमजोर बनायो ।

आर्थिक मन्दीको कारण वित्तीय श्रोतको मागमा कमी आयो । मुद्रा बजारमा तरलता अधिक हुन पुग्यो । अधिक तरलताले बैंकहरुले प्रदान गर्ने व्याजदर सस्तो हुन गयो । व्याजदरमा आएको ह्रासको कारण बीमा कम्पनीहरुको लगानीबाट प्राप्त हुने आयमा उल्लेखनीय रुपमा कमी आयो । बीमा कम्पनीहरुको वित्तीय विवरणमा दबाव पार्यो । खर्च कटाउनु पर्ने बाध्यता सिर्जना भयो ।

जीवन बीमाको दायित्व लामो अवधिको हुने भएकोले लामै अवधिको लगानीमा संलग्नता हुन्छ । यसको लागि लामो अवधिको वित्तीय स्थिरताको आवश्यकता हुन्छ । संक्रमणको कारणले वित्तीय स्थिरतामा अवरोध पुगेको छ । अन्य बीमाहरु छोटो अवधिका करार हुन् । यसले सम्पत्ति तथा व्यवसायमा हुने विभिन्न प्रकारका हानी नोक्सानीलाई रक्षा गरेको हुन्छ । यस्तो कारोवारमा संलग्न कम्पनीहरुले ठूलो मात्रामा शेयरमा लगानी गरेका हुन्छन् । औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानहरु ठप्प हुँदा शेयरमा गरिएको लगानी जोखिममा पार्यो । लगानीको दृष्टिबाट वित्तीय बजारमा भएको उतार चढावले असर गरेको भए पनि सरकारी सुरक्षणपत्रहरुमा ठूलो मात्रामा लगानी गर्ने कम्पनीहरुलाई खासै प्रभाव परेको पाइँदैन ।

बीमाशुल्कको तुलनामा दाबी बढ्दा नाफा कम हुन पुग्यो । संक्रमणबाट बचाउन कर्मचारी तथा ग्राहकहरुलाई सेनिटाइजर, पञ्जा, मास्क र पिपिइ जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउनु परेकोले बजेट माथि दबाव पर्यो ।

कुनै कुनै सेगमेण्टमा बीमालेख व्यतित हुने समस्या देखा पर्यो । विभिन्न प्रकारका छुट सुविधाहरु उपलव्ध गराउनु पर्ने अवस्था आयो । आपूर्ति श्रृंखलामा आएको अवरोधले व्यवसायको आम्दानीमा नकारात्मक प्रभाव पार्यो  र यस प्रकारको बीमामा दाबी बढ्यो । महामारीमा मृत्यूदर उल्लेख्य हुन्छ, यसले जीवन बीमामा अप्रत्यासित रुपमा दाबीलाई बढाउँछ, साथ साथै भविष्यमा प्राप्त हुने प्रतिफलमा ह्रास आउँछ । सरेन्डरमा समेत बृद्दि हुन्छ । बीमामा यस प्रकारको जोखिम बढेको पाइन्छ ।

निर्जीवन बीमामा यसको प्रभाव प्रोडक्ट र जोखिमको क्षेत्रमा फरक फरक ढंगले परेको छ । ट्राभल, इभेन्ट्स, ट्रेड क्रेडिट जस्ता प्रोडक्टहरुको प्रिमियममा असर गरेको छ । यस्ता प्रोडक्टहरुमा उल्लेख्य रुपमा घाटा हुन पुगेको छ । मोटर, घर जस्ता क्षेत्र तुलनात्मक रुपमा स्थिर रहेको छ । लकडाउनको समयमा यातायात जन्य दुर्घटना न्यून भयो, दाबी लगभग सून्य भयो । बीमितहरुबाट बीमाशुल्क फिर्ता हुनु पर्छ भन्ने माग समेत उठ्न थाल्यो ।

आर्थिक गतिविधि ठप्प भएकोले स्थानिय, क्षेत्रीय र विश्वव्यापी रुपमै रोजगारीमा ह्रास आयो । आम नागरिकको रोजगारी गुमेको र आम्दानी घटेको कारणले दबावमा थिए । अधिकांश ग्राहकहरु वित्तीय समस्यामा रहेकाले खर्च कम गर्ने र बचनबद्धता पुरा गर्न नसक्ने अवस्थामा थिए । यसले बीमा कम्पनीहरुको नयाँ व्यवसायमा विश्वव्यापी रुपमै ह्रास आयो । बीमाशुल्क अपेक्षा अनुसार संकलन हुन सकेन । बीमा कम्पनीहरुले बीमाशुल्क भुक्तानीको अवधि थपिदिए, विलम्व शुल्क छुट गरिदिए । पोलिसी ल्याप्स हुन बाट बचाउन विभिन्न उपायहरु अपनाए ।

स्वास्थ्य बीमामा परेको प्रभाव एकनासको छैन । संसारभर नै स्वास्थ्य प्रणालीमा विविधता पाइन्छ । संक्रमणको कारण दाबी प्रशस्त मात्रामा पर्न आयो । कतिपय देशमा सरकारले संक्रमितहरुको उपचार गरेकोले स्वास्थ्य बीमा कम्पनीहरुलाई त्यति ठूलो दबाव परेन । तर कतिपय देशमा स्वास्थ्य बीमाको क्षेत्रमा धेरै दबाव पर्न गयो । संक्रमणको फैलावट र मृत्यूदरले बीमा कम्पनीहरुको जोखिमलाई अनियमित बनायो ।

पुनर्बीमा पनि दबावमा पर्यो । मृत्यूदरमा उल्लेख्य बृद्दि भएकोले पुनर्बीमकको जोखिम पनि उच्च भयो । बीमा कम्पनीहरु विभिन्न कठिनाइबाट ग्रस्त भएकाले जोखिम बहन गर्न सक्ने क्षमतामा ह्रास आयो । जोखिमयुक्त क्षेत्रमा लगानी निरुत्साहित भयो । बीमा कम्पनीहरु नयाँ क्षेत्रमा लगानी गर्न डराए ।

समुदायमा संक्रमण फैलन नदिन सरकारले अपनाएका नीति तथा रणनीतिले गर्दा सेवा प्रवाहमा बाधा पुग्यो । ग्राहकहरुको व्यवहारमा परिवर्तन आयो, उनीहरु घरभित्रै थुनिन बाध्य भए । घरमै रहँदा कतिपय प्रोडक्टहरुको आवश्यकतै भएन । अधिकांश देशहरुमा भौतिक उपस्थितिमा गर्ने अन्तरक्रिया तथा तालिम, गोष्ठी, सेमिनारहरु सञ्चालन गर्न निषेध गरिए । कतिपय देशहरुमा बीमा सेवालाई अति आवश्यक सेवा अन्तर्गत राखिएकोले सिमित मात्रामा भए पनि कार्यालय तथा शाखाहरु खुले । ग्राहकहरुलाई सम्भव भएसम्म सूचना, जानकारी तथा जिज्ञासाका लागि डिजिटल माध्यमको प्रयोग गर्न अनुरोध गरियो । एजेन्ट, मध्यस्थकर्ता एवम् वित्तिय सहयोग गर्नेहरुलाई यही विधि प्रयोग गर्न सूचित गरियो ।

बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने वातावरण मिलाए । आफ्नो प्राविधिक क्षमतालाई उन्नत बनाउने कम्पनीहरु ग्राहक तथा मध्यस्थकर्ताहरुलाई सन्तुष्ट बनाउन तुलनात्मक रुपमा सफल भए । महामारीले बीमकहरुलाई ग्राहक केन्द्रित डिजिटल उपकरणहरु र सरोकारवालाहरुको चाहनासँग मिल्ने प्रकृतिका नवप्रवर्तनका तरिकाहरु अपनाउन उत्प्रेरित गर्यो । यसले Insurtech को विकासमा नयाँ आयाम थपिदियो । कारोनाले बीमा कम्पनीका सवै खालका गतिविधिहरुमा दुरगामी प्रभाव पारेको छ ।

बीमा पोलिसीको विकास र संभार, सेवा प्रवाहको तौर तरिका, ग्राहक व्यवस्थापन, पोलिसी प्रशासन र दाबी प्रशोधन जस्ता Front Office Activities लाई प्रत्यक्ष प्रभाव पारेको छ । बीमा कम्पनीका मानव संशाधन, सूचना प्रविधि, वीत्त व्यवस्थापन जस्ता Back Office Activities मा पनि कोरोनाको असर देखिएको छ । महामारीले श्रृजना गरेका जोखिमलाई मध्यनजर गरी बीमालेखका शर्तहरु थपघट वा पूनरावलोकन गर्नुपर्ने देखियो । व्यवसायमा परेको असर र प्रभावलाई मध्यनजर गरी अण्डरराइटिंग म्यानुअल र प्रक्रियालाई पनि पूनरावलोकन गर्न आवश्यक भयो ।

नेपालमा बीमा समितिको निर्देशनमा कोरोना बीमालेख,२०७६ लागू गरियो । उक्त बीमालेख ल्याउँदा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट अधिकांश मुलुकहरु प्रत्यक्ष रुपमा प्रभावित भइरहेको सन्दर्भमा नेपालमा पनि उक्त रोग फैलन सक्ने अवस्था तथा सम्भावनालाई समेत मध्यनजर गरी उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा विशेष गरी ग्रामीण स्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले ल्याइएको उल्लेख गरिएको थियो ।

यो बीमालेख सबै निर्जीवन बीमा कम्पनीहरुको बीमा पुल मार्फत जारी गरियो । एक लाख रुपैयाको बीमालेखका लागि प्रतिव्याक्ति एक हजार रुपैयाँ तथा सम्पुर्ण परिवारको बीमालेख खरिद गरेमा प्रतिव्याक्ति छ सय बीमाशुल्क लाग्ने व्यवस्था गरिएको थियो । पचास हजार रुपैयाँको बीमालेखका लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ तथा सम्पुर्ण परिवारको बीमालेख खरिद गरेमा प्रति व्यक्ति तीन सय बीमाशुल्क लाग्ने प्रावधान राखिएको उक्त बीमालेखमा पिसिआर परीक्षणबाट पोजिटिभ देखिएमा तुरुन्त रकम प्राप्त गर्न सकिने उल्लेख गरिएको थियो । यस योजनामा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको थियो ।

क्षतिपूर्तिको सिद्धान्त बीमाको आधारभूत सिद्धान्त हो । बीमाले बिमितलाई भएको आर्थिक क्षतिको परिपुरण गरिदिने हो । कोरोना पोजिटिभ हुने वित्तिकै आर्थिक क्षति हुने होइन । आर्थिक क्षति नभई भुक्तानी दिने व्यवस्था बीमाको मान्यता प्रतिकुल हुन्छ । अर्को तर्फ कोरोना महामारीको रुपमा विश्वभर फैलिरहेको थियो । महामारीकै रुपमा फैलिएको संक्रामक रोगको बीमा गर्ने काम पनि बीमाको मर्म अनुकुल भएन । बीमा गर्ने नै हो भने पनि स्वास्थ्य बीमाको मोडलमा गरेको भए उपयुक्त हुने थियो । पछि कोरोना बीमाको दाबी बढ्दै गएपछि स्वास्थ्य बीमाको मोडलमा परिमार्जन गरियो ।

कोरोना बीमाको दाबी यसरी बढ्यो कि बीमा कम्पनीहरु न त भुक्तानी दिने स्थितिमा रहे न त प्रतिवद्दताबाट पछि हट्न नै । दाबी भुक्तानी दिँदा वित्तीय स्वास्थ्यमा प्रतिकुल असर पर्ने र नदिँदा समग्र बीमा क्षेत्रको विश्वसनीयता माथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भयो । दुबै स्थितिमा बीमा क्षेत्र दबावमा पर्यो । दाबी भुक्तानीको अवस्था हेर्दा यसले नेपालको बीमा क्षेत्रमा दुरगामी प्रभाव पार्ने देखिन्छ ।

यसरी कोभिड–१९ ले पोलिसी होल्डरदेखि शेयर होल्डरसम्म, बीमा कम्पनीका कर्मचारी देखि मध्यस्थकर्ता सम्म, नियामक देखि संभावित लगानीकर्तासम्मलाई प्रत्यक्ष र परोक्ष ढंगले असर पार्यो  । गत वर्षको असरबाट बीमा क्षेत्र लगायत समग्र आर्थिक क्षेत्र बाहिर निस्की पुरानै लयमा फर्किन नपाउँदै नयाँ भेरियन्ट सहितको कोरोनाले बीमा लगायत समग्र आर्थिक क्षेत्रलाई थिलथिलो बनाइ दिएको छ । आशा गरौं, नेपालको बीमा क्षेत्र यस झटकालाई सहन सफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार