काठमाडौं । साउदी अरबले अर्को ठूलो खजाना फेला छ। साउदीका ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले साउदीको पूर्वी प्रान्त र इम्प्टी क्वार्टर मरुभूमिमा तेल र ग्यासका ७ वटा नयाँ भण्डार फेला परेको बताएका छन्। यो खोज साउदीको सरकारी तेल कम्पनी अरामकोले गरेको हो।
साउदीको आधिकारिक समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार साउदी आरामकोले दुईवटा तेल क्षेत्र, एउटा हलुका अरब कच्चा तेलको क्षेत्र, दुई प्राकृतिक ग्यास क्षेत्र र दुईवटा प्राकृतिक ग्यासको भण्डार पत्ता लगाएको हो। साउदी अरेबियाको पूर्वी प्रान्तमा दुईवटा तेल क्षेत्र र एउटा तेलको भण्डार फेला परेको छ भने इम्प्टी क्वार्टर क्षेत्रमा दुईवटा क्षेत्र र दुईवटा प्राकृतिक ग्यासको भण्डार फेला परेको छ।
राज्यको पूर्वी प्रान्त अल–लादम र अल–फारुकमा दुईवटा तेल क्षेत्र फेला परेका छन्। यी दुवै तेल क्षेत्र पहिले पत्ता लगाइएको तेल क्षेत्रभन्दा फरक छन्। अल–लादम–२ इनारबाट दैनिक ५ हजार १०० ब्यारेलको दरले अरब लाइट कच्चा तेल र दैनिक ४९ लाख घनफिट प्राकृतिक ग्यास निकासी भइरहेको छ। अल–फारुक–४ इनारले दैनिक ४ हजार ५५७ ब्यारेलको दरले धेरै हल्का अरबियन कच्चा तेल उत्पादन गर्दैछ। साथै, प्रतिदिन ३.७९ मिलियन मानक घनफिट ग्यास उत्पादन गरिरहेको छ।
साउदीको पूर्वी प्रान्तको मजालिज फिल्डमा कच्चा तेलको भण्डार फेला परेको छ। जसलाई उनैजा बी÷सी नाम दिइएको छ। मजालिज–६२ तेलको कुवाबाट दैनिक १ हजार ७८० ब्यारेलको दरले अरब लाइट आयल निकासी भइरहेको छ। यससँगै दैनिक ७ लाख घनफिट ग्यास पनि निकासी हुने गरेको छ।
इम्प्टी क्वार्टर क्षेत्रमा दुई नयाँ प्राकृतिक ग्यास क्षेत्र फेला परेका छन्– अल जहाक र अल–कतुफ। अल जाहक–१ इनारमा रहेको ‘अल–अरब–सी’ जलाशयबाट प्रतिदिन ५३ लाख मानक घनफिटको दरले प्राकृतिक ग्यास निकालिएको थियो। त्यसपछि सोही इनारबाट दैनिक ११ लाख घनफिटको दरले ग्यास निकालिएको थियो। त्यस्तै, अल–कतुफ ग्यास क्षेत्रबाट दैनिक ७६ लाख घनफिट प्राकृतिक ग्यास निकालिएको थियो।
इम्प्टी क्वार्टर क्षेत्रको आसिक्रा क्षेत्रमा हनिफा प्राकृतिक ग्यासको भण्डार फेला परेको छ। असिक्रा–६ इनारबाट दैनिक ४९ लाख घनफिट प्राकृतिक ग्यास उत्पादन भइरहेको छ भने अल–फादिली जलाशयबाट दैनिक ६ लाख घनफिट प्राकृतिक ग्यास उत्पादन भइरहेको छ। –एजेन्सी

















