IME Life New

समयमै कर्जाको किस्ता भुक्तानी गर्न नसकेपछि चौधरी समूहको सीजी नेटको रेटिङ खस्कियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वनिर्धारित तालिकाअनुसार कर्जाको किस्ता भुक्तानी गर्न नसकेपछि चौधरी समूहको सीजी कम्युनिकेसन लिमिटेड (सीजी नेट) को क्रेडिट रेटिङ खस्किएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार दीर्घकालीन कर्जाका लागि गरिएको वित्तीय सबलता मूल्यांकनका आधारमा एलबी माइनस रेटिङ प्रदान गरिएको छ। यसअघि गरिएको मूल्यांकनमा एल डब्बल बी माइनस रेटिङ पाएकोमा खराब वित्तीय अवस्थाका कारण रेटिङ खस्किएको हो। १४ करोड ८२ लाख रुपैयाँबराबरको दीर्घकालीन कर्जाको रेटिङ खस्किए पनि २ अर्ब ३५ करोड १८ लाख रुपैयाँको अल्पकालीन कर्जाबापतको रेटिङ यथावत राखेको छ। यसका लागि सीजी नेटले ए फो रेटिङ पाएको छ।

Esewa
Crest

इक्रा नेपालका अनुसार गत आर्थिक वर्ष २०८०।८१ को पहिलो ८ महिनाको अवधिमा सञ्चालन खर्चको तुलनामा सीमित आम्दानीका कारण तरलता अभावबाट गुज्रिएको छ। यही कारणले तोकिएको समयमै कर्जाको किस्ता चुक्ता गर्न नसक्दा भाका नाघ्न थालेको छ।

कम्पनीले पुँजीगत लगानी विस्तारको काम गरिरहेकोमा त्यसको अधिकांश हिस्सा बैंक कर्जाका माध्यमबाटै जुटाइरहेकाले पनि ब्याज खर्चका कारण तरलता संकुचन भएको हो। सबैभन्दा सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा ल्याएर बजारमा आफ्नो आगमनलाई जोडदार रुपमा दर्ज गर्न सफल भए पनि बजार विस्तारमा अझै पछाडि छ। यसको बजार हिस्सा अहिले २ प्रतिशतको हाराहारीमा सीमित छ।

इन्टरनेट सेवा प्रदायकबीच मूल्यमा प्रतिस्पर्धाका कारण इन्टरनेट सेवा सस्तिएपछि लाभान्तर घटेको छ। सीमित लाभका कारण खर्च धान्न धौधौ परेको अवस्था छ। सीजी नेटको मुनाफा अन्तर (प्रोफिट मार्जिन) गत आवको पहिलो ८ महिनामा ३३ प्रतिशत ऋणात्मक रह्यो।

गत आव २०८०।८१ मा फागुन मसान्तसम्ममा यसले इन्टरनेट सेवा र आईपीटीभी सेवाको बिक्रीबाट ३६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आव २०७९।८० मा ३८ करोड ८० लाख रुपैयाँ आर्जन गरेको थियो।

देशैभर इन्टरनेट सेवा प्रदान गर्ने इजाजत पाएको यो कम्पनीले १७ जिल्लामा सेवा विस्तार गरे पनि व्यापारको ठूलो हिस्सा बागमती प्रदेश र त्यसमा पनि काठमाडौं उपत्यकाभित्र मात्र सीमित छ। उपत्यकाबाहिर खासै ग्राहक विस्तार गर्न सकेको छैन।

इक्रा नेपालका अनुसार आव २०७८।७९ को असार मसान्तसम्ममा सीजी कम्युनिकेसन लिमिटेडमा सीजी डिजिकम प्रालिको ९२ प्रतिशत शेयर स्वामित्व रहेकोमा आव २०७९।८० को मसान्तमा आइपुग्दा ९३ प्रतिशत कायम भएको छ। यो कम्पनीमा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी सञ्चालक समितिको अध्यक्ष हुन्। चौधरी समूहको स्वामित्वमा नेपालबाहिर युरोपेली मुलुक माल्डोभामा मोल्डसेल र मध्य एसियाली मुलुक किर्गिजस्तानमा बिलाइन किर्गिस्तान नामक दूरसञ्चार कम्पनी सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS