IME Life New

बीमकका सञ्चालक समितिलाई कम्पनीका कामकारबाही नियमित अनुगमन गर्न अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन्।

प्राधिकरणद्वारा बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुसँग बुधबार काठमाडौँमा आयोजित जोखिममा आधारित नियमनकारी व्यवस्थासम्बन्धी अन्तर्क्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भएबमोजिम कम्पनीका कामकारबाहीको नियमित अनुगमन एवं सुपरिवेक्षण गर्न सञ्चालक समितिलाई निर्देशन दिएका हुन्। ‘अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा आएका जोखिममा आधारित पुँजी, कम्पनीबाट स्वयम् जोखिम मूल्यांकन र जोखिममा आधारित सुपरिवेक्षण प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ, यसको उद्देश्य नेपालको बीमा क्षेत्रको विश्वसनीयता अन्तर्राष्ट्रियस्तरमा बढोस्, विदेशबाट पनि बीमा व्यवसाय भित्रियोस्, कम्पनीको जोखिमधारण क्षमता बढोस्, बीमितको हित रक्षा रहोस् र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सकून् भन्ने नै हो’, उनले भने।

Esewa
Crest

बीमा कम्पनीहरु आगामी दिनमा आउनसक्ने जोखिमप्रति बढी जागरुक हुनुपर्ने र सम्भावित जोखिमका बारेमा सरकालाई समेत बुझाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनी बलियो हुँदै जाऊन् भन्ने हाम्रो चाहना, त्यस पाटोबाट कम्पनीले पनि मेहनत गर्नुपर्छ, बजार अनुसन्धान र सूचना प्रविधिमा लगानी बढाउनुपर्छ, आफ्नो जोखिम आफैँ मूल्यांकन गर्नुपर्छ, जोखिमको विश्लेषण गरेर सम्बोधन गर्न योजना बनाउनुपर्छ, त्यसमा सघाउन प्राधिकरण तयार छ।’

कार्यक्रममा जोखिममा आधारित पुँजी तथा जोखिममा आधारित सुपरिवेक्षणसम्बन्धी प्रस्तुति गर्दै बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले अन्तर्राष्ट्रिस्तरमा प्रचलनमा आएका जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई नेपालको परिवेशअनुसार परिस्कृत गर्दै अन्तरिम रुपमा कार्यान्वयनमा ल्याइएको बताए। यो प्रणाली आगामी २०८४ सालदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने जानकारी गराउँदै सुवेदीले विश्वव्यापी रुपमा स्वीकार गरिएको यस प्रणालीको कार्यान्वयनबाट बीमितको हित रक्षा गर्न, वित्तीय उतारचढावको प्रभाव न्यून गर्न, बीमकको पुँजी सबल बनाउन, लागत घटाउन र बीमकलाई पारदर्शी एवं जबाफदेही बनाउन योगदान पुग्ने स्पष्ट पारे।

बीमकको न्यूनतम पुँजी कायम राख्दै बढी जोखिम भएका बीमकको पुँजी बढी र कम जोखिम भएकाको कम भए हुने, हालको जोखिम र भविष्यमा आउनसक्ने जोखिमको पहिचान गर्ने, मूल्यांकन गर्ने र जोखिम न्यूनीकरण गर्न योजना बनाउनेलगायत समग्र विषय यस प्रणालीमार्फत अगाडि बढाउन सकिने सुवेदीले बताए।

बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेल (अधिकारी) ले जोखिममा आधारित पुँजी, बीमक आफैँबाट आफ्नो जोखिम मूल्यांकन र जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको कार्यान्वयनका लागि कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न प्राधिकरणले सहयोग गर्दै आएको जानकारी दिइन्। बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले स्वागत मन्तव्य राख्दै अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनमा आधारित भएर नेपालमा पनि जोखिममा आधारित प्रणाली अवलम्बन गर्न लागिएको बताए।

कार्यक्रममा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले अन्तर्राष्ट्रिय विश्वसनीयता र बीमकको हितका लागि पनि सो प्रणाली कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसतर्फ अगाडि बढ्ने प्रतिबद्धता गरे। कार्यक्रममा बीमकमा हुने जोखिम, बीमा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम, बीमकको शाख जोखिम र परिपालन जोखिम लगायतका विषयमा छलफल भएको थियो।

कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको सहभागिता थियो। कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणकी उपनिर्देशक निर्मला मल्लले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS