काठमाडौं । आफ्नो वाचाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै गैरकानुनी आप्रवासीलाई घर पठाउन थालेका छन्।
अमेरिकामा गैरकानुनी रुपमा बस्दै आएका धेरै देशका नागरिकलाई आफ्नो देश फिर्ता पठाइरहेको छ। सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि ती आप्रवासीलाई कुनै सिभिल विमानबाट नभई अमेरिकी सेनाको विशेष विमानबाट फिर्ता पठाइँदैछ।
अमेरिकी सरकारको यो कदमको कोलम्बिया सरकारले आपत्ति जनाएको थियो र अमेरिकी सैन्य विमानलाई आउनबाट रोकेको थियो। कोलम्बियाले आफ्ना नागरिकलाई फिर्ता ल्याउन अमेरिकामा सिभिल विमान पठाएको थियो।
गैरकानुनी आप्रवासीलाई पठाउनका लागि अमेरिकामा पहिलोपटक सैन्य विमान प्रयोग भइरहेको हो। यसको लागत सिभिल विमानभन्दा धेरै महँगो छ। यसका बाबजुद पनि नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प खर्च बढेकोमा चिन्तित छैनन्। उनले यो काम कुनै न कुनै उद्देश्यले गरेको हुन सक्छ। गैरकानुनी आप्रवासीलाई अमेरिकी सेनाको विमानबाट उनीहरुको देश फर्काएर ट्रम्पले विश्वलाई सन्देश दिन खोजिरहेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार सिभिल र सैन्य दुवै विमानको खर्चलाई तुलना गर्ने हो भने अमेरिकी सैन्य विमानको खर्च निकै बढी छ। हालै ग्वाटेमालाबाट अवैध आप्रवासीलाई सैन्य विमानबाट फिर्ता पठाइएको थियो। यो प्रक्रियामा प्रतिव्यक्ति ४ हजार ६७५ डलर खर्च हुन्छ र यो सिभिल विमानको लागतभन्दा ५ गुणा बढी हो। यदि कसैले अमेरिकन एयरलाइन्सद्वारा यो मार्गमा यात्रा गर्छ भने एक व्यक्तिको लागि लागत ८५३ डलर मात्र हुनेछ।
रोयटर्सका अनुसार सन् २०२३ मा अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनका कार्यवाहक निर्देशक टाई जोन्सनले अमेरिकी सदनलाई १३५ आप्रवासीलाई सिभिल विमानबाट फिर्ता पठाउन प्रतिघन्टा १७ हजार डलर खर्च हुने बताएका थिए। यात्रा कम्तीमा ५ घन्टाको हो भने लागत ८५ हजार डलर पुग्छ। यदि यसलाई प्रतिव्यक्ति तुलना गर्ने हो भने लागत ६३० डलर हुन्छ। जहाँ अमेरिकी सेनाको सी–१७ विमान प्रयोग गरेमा प्रतिघन्टा २८ हजार ५०० डलर खर्च आउँछ।
अमेरिकामा चुनाव भएदेखि नै डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीको मुद्दालाई लिएर तीव्र रुपमा प्रचारप्रसार गरिरहेका थिए। ट्रम्पले अमेरिकामा घुसपैठ गर्ने अवैध आप्रवासीलाई ‘एलियन’देखि ‘अपराधी’सम्म भनेका छन्। अहिले उनीहरुलाई अपराधीजस्तै हातखुट्टा बाँधेर सेनाको सैन्य विमानमा फिर्ता पठाइँदैछ। यसो गर्नाले विश्वभर सन्देश जान्छ कि ट्रम्प अवैध आप्रवासी मामिलामा निकै कडा छन्।
निःसन्देह सिभिल प्लेनबाट मानिस पठाउन अमेरिकी सरकारका लागि सस्तो हुन सक्छ तर यसको प्रभाव धेरै हुने छैन। जबकि अमेरिकी सेनाको विमानबाट मानिस फिर्ता पठाइयो भने यो धेरै प्रभावकारी हुनेछ।
हालै रिपब्लिकन पार्टीका सांसदहरुसँग कुरा गर्दै ट्रम्पले इतिहासमा पहिलोपटक अमेरिकी सरकारले यी ‘गैरकानुनी एलियन’लाई सैन्य विमानमा फिर्ता पठाएको बताएका थिए। ‘वर्षौंदेखि हामीलाई मुर्ख सम्झेर हाँस्ने मानिसले अब फेरि आदर गर्नेछन्’, उनले भनेका थिए।
ट्रम्पले चुनाव जितेदेखि नै अमेरिकामा गैरकानुनी रुपमा बसेका मानिसलाई कुनै पनि डिटेन्सन सेन्टरमा नपठाएर जतिसक्दो चाँडो आफ्नो देश फर्काउने तयारी गरिरहेका थिए। गत वर्ष डिसेम्बरमा उनले यी अवैध आप्रवासी २० वर्षसम्म शिविरमा बस्न नचाहेको बताएका थिए। यी सबै मानिसलाई आफ्नो देशमा फिर्ता पठाउन उनी चाहन्थे।
जनवरी २४ मा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सोसल मिडिया प्लेटफर्म एक्समा केही तस्बिर शेअर गरेकी थिइन्। जसमा अमेरिकाबाट फिर्ता पठाइएका अवैध आप्रवासीको हात बाँधिएको थियो र उनीहरुलाई अपराधीजस्तै सैन्य विमानमा पठाइएको थियो। लेभिटले आफ्नो पोस्टमा अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरु भएको लेखेकी थिइन्। ‘राष्ट्रपति ट्रम्पले सम्पूर्ण विश्वलाई सन्देश दिन चाहेका छन् कि यदि तपाइँ गैरकानुनी रुपमा अमेरिका आउनुभयो भने गम्भीर परिणाम भोग्नुपर्ने हुनसक्छ’, उनले लेखेकी थिइन्।
अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन कार्यालय (आईसीई)ले हालै निष्कासनमा गर्न लागिएको विदेशी नागरिकको संख्या सार्वजनिक गरेको थियो। जसमा विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना नागरिक परेका थिए। अमेरिकाबाट निष्कासन पर्न लागेको विदेशी नागरिकको सूचीमा १ हजार ३६५ जना नेपाली पनि छन्।
केही दिनयता अमेरिकाले अवैध आप्रवासीलाई घर फर्काइरहेको छ। –एजेन्सी