काठमाडौं । एनआईसी एसिया बैंकले ४ वटा कम्पनीको साढे ११ लाख बढी कित्ता शेयर आज माघ २९ गतेबाट बिक्रीमा राखेको छ।
बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार ६० कित्ता शेयर बिक्रीमा राखेको हो। जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०५ रुपैयाँ, सूर्यज्योति लाइफको १६५ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २७३ रुपैयाँ र नागरिक लगानी कोषको ६९० रुपैयाा तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
यो शेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा आफूले लिन चाहेको शेयर संख्या खुलाउनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ६ गतेसम्म रहेको छ।

















