IME Life New

एनसेल जस्तै कर छलीको अर्को काण्ड, अमेरिकी कम्पनीले रु. १० अर्ब कर छलेको दाबी सहित मुद्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी प्रत्यक्ष लगानीको सूचना प्रविधि कम्पनी कोटिभिटीले १० अर्ब रुपैयाँभन्दा बढी कर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको छ। शेयर खरिदबिक्रीमा लाभ कर छलेको तथा कारोबारमा मूल्य अभिवृद्धि कर छलेको आरोप सहित विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

कमलादीमा कार्यालय रहेको यो कम्पनीको स्वामित्व २०७१ साल यता पटक पटक गर्दै पाँच पटक परिवर्तन भई सकेको छ। प्रत्येक पटक शेयर स्वामित्व परिवर्तन गर्दा शेयर खरिद बिक्री भएपनि शेयर स्वामित्वमा भएको परिवर्तन सम्बन्धमा कर कार्यालयमा कुनै जानकारी नदिई लाभ कर छलेको भन्दै विभागले आइतबार उच्च अदालतमा मुद्दा तयार गरेको हो ।

Esewa
Crest

पटक पटक शेयर खरिदबिक्री

विभागले दायर गरेको मुद्दामा कम्पनी रजिष्ट्रारको कार्यालयमा कोटिभिटी नेपाल प्रा.लि.(स्थायी लेखा नं.३०११६१६१९१) को शेयर धनी दर्ता किताबमा भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रा.लि. (प्रा.लि.नं. २८३३४/०६०/६१)को नाममा मिति २०७१/०९/०६ मा शेयर धनी दर्ता किताबमा डिटु हकाई, इंक, मिति २०७१/१२/१३ मा शेयर धनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक, मिति २०७२/०३/०४ मा शेयर धनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक (शेयर वृद्धि) उल्लेख भएको पाइएको उल्लेख छ । यसैगरी भर्सेन्ड टेक्नोलोजिज् प्रा.लिको नाममा मिति २०७५/०२/३० मा शेयर धनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको पाइएको छ । कोटिभिटी नेपाल प्रा.लि. (प्रा.लि.नं. २८३३४/०६०/६१) को नाममा मिति २०७६/०५/२६ मा शेयर धनी दर्ता किताबमा कोटिभिटी इंक उल्लेख भएको छ ।

एक महिना अघि मात्र कोटिभिटी नेपाल प्रालिको सबै कारोबार इन्फाइनाइट भन्ने कम्पनीलाई हस्तान्तरण गरिएको थियो । उही पूर्वाधार र जनशक्तिको प्रयोग गरेर इन्फाइनाइटले कोटिभिटीको सेवालाई निरन्तरता दिए पनि कोटिभिटीका कर्मचारीलाई कोटिभिटीबाट राजीनामा दिंदै नयाँ करार सम्झौता गर्न बाध्य बनाइएको थियो । यो अवस्थामा Lifting of the Corporate Veil भन्ने सिद्धान्तको आधारमा कोटिभिटी र इन्फाइनाइट दुबैलाई कानूनीरुपमा कर्मचारीको सेवा सुविधा र कर राजश्व छलीका लागि जिम्मेवार बनाउन सकिन्छ।

आयकर ऐन, २०५८ को दफा ५७ बमोजिम नियन्त्रणमा परिवर्तन भएको, नियन्त्रणमा परिवर्तन भएमा सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गरी कर दायित्व निर्धारण गर्नुपर्नेमा नगरेको र सोही ऐनको दफा ९५ (क) अनुसारको अगिीम कर यकिन गरी सरकारलाई बुझाउनुपर्नेमा नबुझाएको भन्दै विभागले कर असुली तथा बिगो दाबी सहित अदालतमा मुद्दा दायर गरेको हो ।

कम्पनीले आफूमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बद्ध कर कार्यालय लगायत सम्बन्धित निकायमा कुनै पनि जानकारी नदिएको विभागले दाबी गरेको छ।विभागका अनुसार स्वामित्वमा भएको परिवर्तनसँगै सिर्जना हुने कर दायीत्व पुरा नगरी राजश्व चुहावट गरेकाले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ४ को क र च बमोजिमको कसुर गरेको पुष्टी भएको विभागको दाबी छ।

यसबाहेक मूल्य अभिवृद्धि कर छुट नपाउने निर्यातमा मुअक छुट लिएर पनि कम्पनीले कर छली गरेको विभागको भनाइ छ । यसबाहेक मुअक फिर्ता नपाउने कारोबारमा पनि कोटिभिटी नेपालले कर फिर्ता लिएको छ । विभागका अनुसार कम्पनीले मूअक भुक्नानी नै नगरेको कारोबारमा समेत मूअक दाबी गरेको छ ।

कम्पनीविरुद्ध पाँच अर्ब १८ करोड बिगोदाबी र पाँच अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

कोटिभिटी नेपाल प्रालिले नेपालस्थित आफ्नो शाखा कार्यालय डेभलपमेण्ट सेन्टरमात्र भएको दाबी गर्दै कर सम्बन्धी दायीत्वबारे आफू अनविज्ञ रहेको जिकीर गर्दै आएको छ। कोटिभिटीले स्वास्थ्य संस्थाहरुका लागि आवश्यक सफ्टवेयर र स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन,भण्डारण, विश्लेषण र कारोबार गर्दै आएको छ।

एक महिना अघि कोटिभिटीको माउ संस्थाले बेचेको थियो शेयरः

कोटिभिटीको माउ संस्था भेरिटास क्यापिटल टेक्नोलोजीले कोटिभिटीमा रहेको आफ्नो ५० प्रतिशत शेयर स्वामित्व केकेआर नाम वैश्विक लगानी संस्थालाई बिक्री गर्ने सम्झौता गरेको छ। भेरिटासले गत १४ फेब्रुअरीमा आफ्नो शेयर स्वामित्वको पचास प्रतिशत हिस्सा नयाँ साझेदारलाई बिक्री सम्बन्धी सम्झौता गरेको हो ।

नयाँ साझेदार केकेआरले आफ्नो उत्तर अमेरिकी कोषमार्फत कोटिभिटीका लागि लगानीको जोहो गर्ने छ। र भेरिटासले भेरिटास कोषमार्फत्मा कोटिभिटीमा आफ्नो नयाँ लगानी गर्ने pulse2.com ले को १५ फेब्रुअरी २०२४ को संस्करणमा उल्लेख छ। यो लेनदेन सन् २०२४ को दोस्रो त्रैमासिकमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

बिजनेश स्टाण्डर्ड डट कमका अनुसार यस विषयमा जानकार व्यक्तिका अनुसार बैंकहरूको समूहले केकेआर एन्ड कम्पनीलाई कोटिभिटी इंकको शेयर खरिद गर्न वित्त पोषण गर्न मद्दत गर्न १४ फेब्रुअरीमा ५ अर्ब अमेरिकी डलर ऋणको व्यवस्थापन गरेका छन् । यो सम्झौता अन्तर्गत जेपि मोरगन चेस एण्ड कम्पनीको नेतृत्वमा ४ अर्ब ४० करोड अमेरिकी डलर चलायमान ब्याजदरको आवधिक कर्जा र गोल्डम्यान स्याक ग्रुप इन्कको नेतृत्वमा ६० करोड अमेरिकी डलरको आवधिक कर्जा स्थिर ब्याज दरमा उपलब्ध गराउने सहमति भएको छ। केकेआर क्यापिटल मार्केट्स दुबै लेनदेनको हिस्सा हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS