IME Life New

उद्योगी-व्यवसायीको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउने प्रक्रिया अगाडि बढाउँछौंः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नयाँ बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई पनि निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले भने, “उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न प्याकेजमा कभर हुने गरी सम्पत्ति बीमा निर्देशिका जारी गरिएको छ, यसमा केही कमी कमजोरी देखिएमा सुधार गर्न सकिन्छ, बीमा कम्पनीले पुनर्बीमा गर्ने भएकाले त्यसलाई ध्यान दिनुपर्छ र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्छ ।”

Esewa
Crest

बीमा दाबी भुक्तानीमा कहीं कतै समस्या भए पनि बीमा कम्पनीहरूले ७५ प्रतिशतभन्दा बढी दाबी भुक्तानी गरेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “केही बीमितले समयमैं आवश्यक कागजात तथा प्रमाण नपुयाएकाले वा कहीं सर्भेयरबाट प्रतिवेदन दिन ढिला हुनाले दाबी भुक्तानीमा ढिलाई भएको हुनसक्छ । तर, हामीले दाबी भुक्तानी छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छौं ।’ निर्देशनलाई अटेर गरी दाबी भुक्तानी नगरेमा त्यस्ता कम्पनीका संचालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गर्न प्राधिकरण पछि हट्दैन ।”

अध्यक्ष सिलवालले बीमाको पहुँच बढाउनका लागि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा प्राधिकरणले जोड दिँदै आएको र त्यस क्रममा हालसम्म तीन सयभन्दा बढी स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजना गरिसकिएको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले आर्थिक शिथिलताको हालको अवस्थामा उद्योग व्यवसायीहरूलाई बीमाशुल्कमा छूट दिने व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरी जोखिम नदेखिएको अवस्थामा बीमाशुल्क तिर्नु नपर्ने व्यवस्था गर्न, न्यून बीमाको पहुँच रहेको मधेश प्रदेशमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन, कोरोना बीमाको बाँकी दावी भुक्तानी छिट्टै पाउने व्यवस्था गर्न र बीमा दावी भुक्तानीलाई सरल एवम् सहज बनाउन आग्रह गरेका थिए ।

साथै, उनीहरूले विभिन्न देशमा बीमादर कम हुँदा पनि नेपालमा केही बीमालेखमा बीमादर बढी भएका कारण उद्योगी व्यवसायीहरूलाई मर्का परेको भन्दै त्यसतर्फ नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षंण गराए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्दै बीमा क्षेत्रको विद्यमान अवस्था, उद्योग व्यवसायमा बीमाको महत्व र बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धी प्रस्तुती गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, उद्योगी व्यवसायी र बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS