काठमाडौं । अहिले पूरै देश चुनावी माहौलमा होमिएको छ। आसन्न फागुन २१ गतेको आम निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दल, सरकार र सर्वसाधारणका लागिसमेत आचारसंहिता लागू गरेको छ।
चुनावी माहौलमा निर्वाचन आचारसंहिताको चर्चा हुनु स्वाभाविक हो। तर, बीमा क्षेत्रका बारे चासो राख्ने र सर्वसाधारणको घरदैलोसम्मै पुगेर बीमाको प्रचार–प्रसार गर्ने काममा खटिने अभिकर्ताले पनि आफूले गर्न हुने र नहुने कामबारे अर्थात् पेसागत आचारसंहिताबारे जानकार हुनुपर्छ। पेसागत जिम्मेवारीमा खटिंदा सदैव यसको पालना गर्नुपर्छ।
नेपाल बीमा प्राधिकरणले मुख्य ३ मुख्य बुँदा र २५ उपबुँदामा बीमा अभिकर्ताका लागि आचारसंहिता लागू गरेको छ। नेपालको बीमा बजारलाई पारदर्शी, विश्वसनीय र व्यावसायिक बनाउन प्राधिकरण (तत्कालीन बीमा समिति) ले बीमा अभिकर्ताका लागि आचारसंहिता लागू गरेको हो।
बीमक र बीमितबीचको मुख्य कडीका रुपमा रहेका अभिकर्ताको व्यवहारले समग्र उद्योगको छवि निर्धारण गर्ने भएकाले यसलाई उच्च प्राथमिकतामा राखिएको हो।
बीमा अभिकर्ताले पालना गर्नुपर्ने प्रमुख आचारसंहिता
अभिकर्ताले आफ्नो पेसागत मर्यादा कायम राख्न देहायका कुरा पालना गर्नु अनिवार्य छः
परिचय र पारदर्शिताः अभिकर्ताले इजाजतपत्र सधैँ साथमा राख्नुपर्नेछ र ग्राहकले मागेको खण्डमा देखाउनुपर्नेछ। साथै, आफूले प्रतिनिधित्व गर्ने कम्पनीको पुँजीगत संरचना र आर्थिक स्थितिबारे यथार्थ जानकारी मात्र दिनुपर्नेछ।
विवरण संकलन र पेसः प्रस्ताव फाराममा उल्लेख गर्नुपर्ने विवरणहरू ग्राहकबाटै भराई सम्बन्धित कागजातसहित बीमकसमक्ष पेस गर्नुपर्नेछ।
परामर्श र सेवाः बीमालेखमा रहेका सर्त, सुविधा र जोखिमबारे ग्राहकलाई प्रस्ट पार्नुपर्नेछ। साथै, बीमा शुल्क बुझाउने, नवीकरण गर्ने, मनोनित व्यक्ति परिवर्तन गर्ने वा दाबी प्रक्रियामा ग्राहकलाई पूर्ण सहयोग गर्नुपर्नेछ।
आर्थिक इमानदारीः ग्राहकबाट प्राप्त बीमा शुल्कको आधिकारिक भर्पाइ तुरुन्त दिनुपर्ने र सम्भव भएसम्म सोही दिन वा भोलिपल्टभित्र कम्पनीमा जम्मा गर्नुपर्नेछ।
अभिकर्ताले गर्न नहुने कार्य
आचारसंहिताले अभिकर्तालाई केही निषेधित कार्य पनि तोकेको छ। इजाजतपत्र नवीकरण नगरी बीमा पोलिसी बिक्री गर्न नपाइने। ग्राहकको व्यक्तिगत विवरण बीमकबाहेक अन्य व्यक्ति वा संस्थालाई दिन नहुने। ग्राहकलाई अनावश्यक करकाप गर्ने वा दुव्र्यवहार गर्ने कार्य पूर्णतः वर्जित छ।
अस्वस्थ प्रतिस्पर्धाः आफ्नो कमिसनको अंश दिन्छु भनी प्रलोभन देखाउन वा अन्य अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुरÞ्याउन पाइने छैन।
आचारसंहिता किन आवश्यक छ ?
बीमा अभिकर्ताको आचा संहिता केवल नियममात्र नभई यो बीमा उद्योगको मेरुदण्ड हो। यसको महत्वलाई निम्न बुँदामा बुझ्न सकिन्छः
ग्राहकका लागि सही सूचना पाउने अधिकार सुनिश्चित हुन्छ। ठगी हुने सम्भावना कम हुन्छ र परेको बेला दावी भुक्तानीमा सहजता मिल्छ।
अभिकर्ताका लागि पेसागत मर्यादा र बजारमा विश्वसनीयता बढ्छ। स्पष्ट कार्यविधिले गर्दा कानुनी झमेलाबाट बच्न सहयोग पुग्छ। बीमा क्षेत्रप्रतिको जनविश्वास अभिवृद्धि हुन्छ। अस्वस्थ प्रतिस्पर्धा हट्दा स्वस्थ बजारको विकास हुन्छ र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।
बीमा अभिकर्ताहरूले यी नियमको अक्षरसः पालना गर्दामात्र बीमा क्षेत्र एक मर्यादित र सेवामुखी क्षेत्रका रुपमा स्थापित हुन सक्छ।
यदि कुनै अभिकर्ताले यसविपरीत कार्य गरेमा इजाजतपत्र खारेजीसम्मको कारबाही हुन सक्ने व्यवस्था छ।












