काठमाडौं । विश्वमा धनी व्यक्तिहरुको संख्या बढ्दै गएको छ र अहिले विश्वभर अर्बपतिहरुको संख्या मात्र ३००० नाघेको छ।
फोब्र्सले सन् २०२५ मा विश्वका अर्बपतिको सूची र सबैभन्दा धेरै अर्बपति भएका सहरको सूची जारी गरेको छ। जसले देखाउँछ कि विश्वका कुल अर्बपतिको एक चौथाइ केवल १० सहरमा बस्छन्।
६ देशका १० सहरमा सबैभन्दा धेरै अर्बपति
फोर्ब्सको रिपोर्टअनुसार विश्वका ३०२८ अर्बपतिमध्ये एक चौथाइ ६ देशका १० सहरमा बस्छन्। जुन उनीहरुको बलियो व्यावसायिक इको–सिस्टम, लगानीमैत्री नीति र फस्टाउँदो उद्योगका कारण धन आकर्षित गर्ने सन्दर्भमा अगाडि छन्।
सन् २०२५ को विश्वका अर्बपतिको सूचीअनुसार अमेरिकाको न्युयोर्क सहर सबैभन्दा धेरै अर्बपति भएका सहरको सूचीमा शीर्ष स्थानमा छ। त्यहाँ कुल १२३ अर्बपति बसोबास गर्छन्। उनीहरुको कुल सम्पत्ति ७५९ अर्ब डलर रहेको छ।
१२ वर्षदेखि अमेरिकाको प्रभुत्व
अमेरिका लामो समयदेखि अर्बपतिहरुको गढ रहेको छ। अमेरिकाको न्युयोर्क सहर विगत १२ वर्षदेखि यस सूचीको शीर्षमा छ। यद्यपि सन् २०२१ मा केही समयका लागि चीनको बेइजिङले नेतृत्व प्राप्त गरेको थियो। न्युयोर्कमा बस्ने अधिकांश अर्बपतिहरु वित्त, घर जग्गा र खुद्रा व्यवसायसँग सम्बन्धित छन्।
त्यस्तै सन् २०२५ मा मस्को सहरमा नयाँ अर्बपतिहरुको अधिकतम संख्या थपिएको छ र यहाँ अर्बपतिहरुको संख्या ९० पुगेको छ। तिनीहरुको कुल सम्पत्ति ४०९ अर्ब डलर पुगेको छ। मस्कको यो सूचीमा दोस्रो स्थानमा रहेको छ।
तेस्रो स्थानमा हङकङ रहेको छ। त्यहाँ ७२ अर्बपतिको बसोबास रहेको छ। यी अर्बपतिको कुल सम्पत्ति ३०९ अर्ब डलर रहेको छ।
त्यस्तै सूचीको चौथो स्थानमा लन्डन र पाँचौँ स्थानमा बेइजिङ सहर रहेको छ। यी सहरमा क्रमशः ७१ र ६८ अर्बपतिको बसोबास रहेको छ। उनीहरुको कुल सम्पत्ति ३५५ अर्ब डलर र २७३ अर्ब डलर रहेको छ।
छिमेकी मुलुक भारतको मुम्बई यो सूचीको छैटौँ स्थानमा रहेको छ। त्यहाँ ६७ अर्बपतिको बसोबास रहेको छ। मुम्बईका अर्बपतिहरुको कुल सम्पत्ति ३४९ अर्ब डलर रहेको छ।
सिंगापुरले आफ्नो वरियतामा सुधार गरेको छ र नवौँ स्थानबाट सातौँ स्थानमा आएको छ। यहाँ ८ नयाँ अर्बपति सूचीमा सामेल भएका छन् र त्यहाँका सबैभन्दा ठूला अर्बपति बाइटडान्सका सह–संस्थापक झाङ यिमिङ हुन्। उनको कुल सम्पत्ति ६५.५ अर्ब डलर छ। सिंगापुरमा ६० अर्बपतिको बसोबास रहेको छ। ती अर्बपतिको कुल सम्पत्ति २५९ अर्ब डलरको रहेको छ।
यसैगरी अमेरिका सन फ्रान्सिस्को, चीनको सांघाई र अमेरिकाकै लस एन्जलस क्रमशः यो सूचीको आठौँ, नवौँ र दसौँ स्थानमा छन्। यी सहरमा क्रमशः ५८, ५८ र ५६ अर्बपतिको बसोबास रहेको छ। ती सहरमा बसोबास गर्ने अर्बपतिहरुको कुल सम्पत्ति क्रमशः २१७ अर्ब डलर, १९८ अर्ब डलर र २४३ अर्ब डलर रहेको छ।

















