काठमाडाैं। व्यापारिक समूह विशाल ग्रुपले स्थापना गरेको विशाल ग्रुप फाउन्डेशनले आँखाको नानी प्रत्यारोपण शल्यक्रियाका लागि आर्थिक सहयोग आवश्यक पर्ने १० जना बिरामीको उपचार खर्च व्यहोर्ने भएको छ।
फाउण्डेशन र नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठान् बीच सोमबार विपन्न, असाह्य, र ज्येष्ठ नागरिकमा आँखा उपचारको पहुँच सुनिश्चित गर्न सम्झाैता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार, आँखाको नानी प्रत्यारोपण शल्यक्रियाका लागि आर्थिक सहयोग आवश्यक पर्ने १० जना बिरामीलाई विशाल ग्रुप फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराउनेछ। साथै निःसहाय सेवा सदन, वृद्धाश्रम, वृद्धाश्रम, द्योमा जगत वृद्धाश्रम र सिद्धि सेवा लगायतका संस्थामा रहेका १३१ जना ज्येष्ठ नागरिकका लागि दुईदिने आँखा परिक्षण शिविर सञ्चालन गरिनेछ। आँखा परिक्षणका क्रममा पहिचान भएका योग्य बिरामीमध्ये पहिलो २५ जना बिरामीको मोतीबिन्दुको शल्यक्रियाका लागि समेत फाउन्डेशनले सहयोग गर्ने सहमति भएको छ।
तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा फाउन्डेशनका सञ्चार व्यवस्थापक राहुल श्रेष्ठ र प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
आँखा उपचारबाट वञ्चित तथा आर्थिक सहयोगको आवश्यकता भएका बिरामी र ज्येष्ठ नागरिक समुदायमा आवश्यक आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विशाल ग्रुप फाउण्डेशनले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो सहयोग उपलब्ध गराउने सहमति गरेको हो ।












