काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितले रक्सी सेवन गरेकै कारण रोग लागेको अनुमान गर्दै जीवन बीमा कम्पनीले जीवन बीमा दाबी अस्वीकृत गर्न नपाउने नजिर स्थापित गरेको छ।
एशियन लाईफ इन्स्योरेन्समा २० वर्षे अवधिका लागि २० लाख रूपैयाँ बीमाङ्कको बीमा गरिएकी अल्का देवी अग्रवालको बीमा जारी भएको १० महिना ४ दिनमा निधन भएको थियो। २०७७ पुस २५ गते उपचारको क्रममा नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। निवेदक रोहित अग्रवालले २०७८ साल मंसिर ७ गते उजुरी दिएका थिए।
इन्स्योरेन्सले, बीमितको उपचार भएको मेडिसिटी हस्पिटलको कागजातमा रक्सी सेवनका कारण कलेजो रोग लागेको (Alcoholic Liver disease with signs of portal HTN) र दम रोगको औषधी सेवन गरिरहेको भनी उल्लेख भएको अवस्थामा निज बीमितले बीमा प्रस्ताव फारममा आफूलाई कुनै स्वास्थ्य समस्या नभएको भनी गलत उद्घोष गरेको र मदिरा सेवनको कारणबाट कलेजोको रोग भई सोही कारण बाट मृत्यु भएको कागजातबाट देखिन आएको जिकीर गर्दै दाबी अस्वीकृत गरेको थियो।
इन्स्योरेन्सको जिकीर
इन्स्योरेन्सले बीमितको उपचार सम्बन्धमा दाबीकर्तालाई बहिरङ पुर्जा माग गर्दा सो समेत पेश नगरेको र बीमितको उपचार भएको मेडिसिटी हस्पिटलको उपचार संक्षेपीकरणमा Alcoholic Liver disease with signs of portal HTN, COPD UNDER MEDICATION, RECURENT–UTI / रोग लागेको भनी उल्लेख भएको तथा मृत्यु प्रमाण पत्रमा CIRRHOSIS OF LIVER WITH ASCITES WITH PORTAL HYPERTENSION GASTROPATHY /CHRONIC OBSTRUCTIVE PULMONARY DISEASE) भनी उल्लेख भएको अवस्थामा बीमितले आफूलाई रोग लागेको लुकाई छिपाई बीमा गराएको देखिँदा आफूमा रहेको सत्यता लुकाई बीमा प्रस्ताव फारममा गलत उदघोष गरी जीवन बीमाको परम सद्विश्वासको सिद्धान्त विपरीत कार्य गरेको हुँदा जीवन बीमा मृत्यु दाबी रकम भुक्तानी गर्नु नपर्ने जिकीर समेत लिएको थियो।
बीमितले व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणमा उद्घोष गर्दा कलेजो सम्बन्धी कुनै रोग छैन तथा मध्यपान समेत नगर्ने गरेको भनी उद्घोष गरेकी थिइन् । निजको बीमा अभिकर्ता माया देवी कप्रौलाले अभिकर्ता प्रतिवेदनमा समेत निजले बीमितलाई पहिलेदेखि नै चिन्ने र बीमितको छिमेकी रहेको भनी उद्दघोष गरेकी थिइन् ।
प्राधिकरणले गरेको ठहर
बीमित अल्का देवी अग्रवालले बीमा गर्नु पूर्व मादक पदार्थ सेवन गर्ने गरेको तथ्य उद्घोष नगरी बीमा गरेको र निजलाई मादक पदार्थ सेवनको कारण कलेजोको गम्भीर रोग लागि तथा पहिले देखिको दमको रोग लागि मृत्यु भएको भनी दाबी तर्फ ईन्कार रहेको बीमकको निर्णय सम्बन्धमा नेपाल बीमा प्राधिकरणबाट मिति २०७९ पुस ३१ गते बीमितको उपचार भएको नेपाल मेडिसिटी अस्पताल ललितपुरलाई बीमित अल्कादेवी अग्रवालको उपचारदेखि मृत्यु सम्मको सम्पूर्ण कागजात पेश गर्न” आदेश दिएकोमा अस्पतालले २०८० जेठ ७ को पत्र साथ पेश गरेको कागजपत्रमा बीमितको बीमा प्रारम्भ मिति २०७६ फागुन २२ गते भन्दा पछिको उपचार गराएको देखिन्छ । उपचार सम्बन्धी कागजातमा निजलाई बीमा गर्दा अघिको मिति देखि नै अत्यधिक रक्सी पिउने तथा दम रोगको उपचार गराएको भनी उल्लेख समेत गरेको देखिँदैन ।
अर्कोतर्फ, नेपाल मेडिसिटी अस्पतालको सन् २०२१ जनवरी ५ तारेखको संक्षिप्त उपचार विवरणमा मदिराका कारण कलेजो सम्बन्धि रोग लागेको तथा दमको औषधी सेवा गरिरहेको उल्लेख भए पनि निजलाई त्यस्तो रोगहरू बीमा प्रारम्भ मिति २०७६ फागुन २२ गते अघि देखि रहेको भनी उल्लेख नभएको, तथा मादक पदार्थ सेवन एक प्रकारको बानी रहने हुँदा त्यस्तो बानी बीमा पश्चात् समेत विकसित हुन सक्ने सामान्य तथ्यलाई इन्कार गर्न मिल्ने देखिँदैन । यसर्थ, प्रस्तुत दाबीमा बीमाको बीमा गर्नु पूर्व लागेको रोग उद्घोष नगरेको र सोही रोगको कारण निजको मृत्यु भएको तथ्य पुष्टि नहुने अवस्थामा बीमाको परम् सद्विश्वासको सिद्धान्त प्रतिकूलको कार्य बीमितले गरेको भन्ने बीमकको जिकिरसँग सहमत हुन सकिएन ।
त्यसैले बीमितको बीमितको मृत्यु दाबी तर्फ बीमकको दायित्व उत्पन्न हुने देखिँदा बीमा ऐन, २०७९ को दफा १२८ को उपदफा (३) को खण्ड (घ) बमोजिम बीमक एशियन लाईफ इन्स्योरेन्स लिमिटेडलाई बीमालेख बमोजिमको क्षतिपूर्ति रकम भुक्तानी गर्न आदेश दिईएको छ ।

















