काठमाडौं । अमेरिकी विशेष बलहरुले इरानको कडा सुरक्षामा राखिएको आणविक सुविधाहरुमा इतिहासकै सबैभन्दा उन्नत अपरेसन सुरु गर्ने तयारी गरिरहेका छन्। यो अपरेसनको उद्देश्य इरानको समृद्ध युरेनियम जफत गर्नु हो।
अमेरिकी मिडिया आउटलेट न्युयोर्क पोस्टमा प्रकाशित खबरअनुसार यो अत्यन्त जटिल अपरेसनका लागि हजारौँ सैनिकलाई इरानको आणविक सुविधाहरुमा पठाउने योजना छ। न्युयोर्क पोस्टले रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका उपनिर्देशक जोसेफ रोजर्सलाई उद्धृत गर्दै भनेको छ कि वार्ता द्रुत गतिमा अगाडि नबढेकाले इरानको आणविक सामग्रीबाट छुटकारा पाउन सैन्य अपरेसन सबैभन्दा सम्भावित तरिका हो।
सैन्य योजनासँग परिचित एक स्रोतले पोस्टलाई बताएअनुसार यो अपरेसनमा हजारौँ सैनिकलाई आणविक सुविधाहरुमा आक्रमण गर्न, विस्फोटक पदार्थ हटाउन र यातायात मार्गहरु सुरक्षित गर्न आवश्यक पर्न सक्छ। त्यसपछि विशेष बलहरुको सानो इकाइले समृद्ध युरेनियम ढुवानी गर्नेछ। जुन एक अत्यन्त खतरनाक प्रक्रिया हो।
‘मलाई लाग्छ कि यो सैन्य इतिहासको सबैभन्दा उन्नत अपरेशनहरुमध्ये एक हुनेछ वा सायद अहिलेसम्मकै सबैभन्दा उन्नत अपरेसन हुनेछ’, रोजर्सले भने, ‘इरानको सेना धेरै हदसम्म ध्वस्त भइसकेको भए पनि तिनीहरु भेनेजुएलामा निकोलस मादुरोलाई सुरक्षा दिने क्युबाली टोलीभन्दा अझै धेरै उन्नत छन्।
अर्को खबरअनुसार सिल कमान्डो टोली ६ को सिल्भर स्क्वाड्रन, दोस्रो रेन्जर बटालियन र सेनाको २१ औँ अर्डनेन्स कम्पनी विशेष अपरेसनमा संलग्न हुन सक्छन्। २१ औ अर्डनेन्स कम्पनीले फोर्डो आणविक सुविधा र इस्फहान साइटबाट समृद्ध युरेनियम ह्यान्डल र ढुवानी गर्नेछ।
न्युयोर्क पोस्टका अनुसार रोजर्सले भने, ‘सेनाले पहिले आणविक साइटहरुवरिपरि सुरक्षित परिधि स्थापना गर्नुपर्नेछ र हवाई पट्टीमा सुरक्षित मार्ग तयार गर्नुपर्नेछ। साइटमा प्रवेश गर्नुअघि अमेरिकी टोलीहरुले नष्ट गरिएका प्रवेश बिन्दुहरु पनि खाली गर्नुपर्नेछ।’
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार इरानसँग हाल ४५० किलोग्रामभन्दा बढी ६० प्रतिशतसम्म समृद्ध युरेनियम छ। –एजेन्सी












