काठमाडौं। महानगर र उपमहानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका जगगाको कारोबार उच्च रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रियल–स्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार महानगर तथा उपमहानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार भएको देखिएको छ।
यसैगरी जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरुमा बढी कारोबार देखिएको छ। घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७७।७८ देखि २०८१।८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ।
घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासमा रु. २३.७ अर्बसम्म पुगेको थियो। त्यसपछि घट्दै २०७९।८० को पहिलो त्रैमासमा रु. ८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१।८२ मा करिब रु. १५ अर्बसम्म पुगेको छ।
त्रैमासिक तथ्यांकअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ। पहिलो त्रैमासमा न्यून र तेस्रो तथा चौथो त्रैमासमा रियल–स्टेट कारोबार उच्च हुने देखिएको छ।
कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ। त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन्। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ। कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ। त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्।
रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्यांकबाट रियल–स्टेट क्षेत्रको गतिविधि आँकलन गर्न सहयोग पुग्ने विश्वास राष्ट्र बैंकको छ। यो तथ्यांकका आधारमा घरजग्गा मूल्य सूचकांक निर्माण तथा प्रकाशन गर्ने चरणको तयारीसमेत केन्द्रीय बैंकले गरिरहेको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।८० लाई आधार वर्षका रुपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक प्रकाशन गर्न सुरु गरेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र यस बैंकले संकलन गर्ने तथ्यांकका आधारमा रियल–स्टेट कारोबारसम्बन्धी तथ्यांक त्रैमासिक रुपमा प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ।
रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजीनामा कारोबारका आधारमा गरिएको छ। रियल–स्टेट कारोबारको संख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व संकलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जाजस्ता तथ्यांकका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको छ। रियल–स्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उपमहानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ। यसका साथै कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुरुप कारोबारको संख्या र थैली रकम तथ्यांलाई प्रस्तुत गरिएको छ।












