काठमाडौं । एपोलो हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको थियो। यो आइपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिए पनि मागभन्दा बढी आवेदन परेपछि आजबाट बन्द गर्न लागिएको हो।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर जारी गर्ने अनुमति पाएको छ। त्ससमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं ७ र ८ का स्थानिय बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं ३ का बासिन्दाहरुका लागि बाँडफाँड गरिनेछ। त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ र गोकुलगंगा गाउँपालिका वडा नं १ का स्थानिय बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।
आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीयले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा ९सोलुखुम्बु० शिवालय र प्रीति ९रामेछाप० शाखा कार्यालयबाट र नेपाल इन्भेस्टमेन्ट बैंकको खिजीदेम्वा ९ओखलढुङ्गा० तथा सिटिजन्स बैंकको लिखुपिके ९सोलुखुम्बु० शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।












