काठमाडौं । अमेरिकाको लस भेगास आज संसारको सिन सिटी (पापको सहर)का रुपमा चिनिन्छ। यो यसको २४ घन्टा गतिविधि र मनोरञ्जनका कारण हो। जुन सायद अन्यत्र उपलब्ध छैन।
यद्यपि, लगभग २२०० वर्ष पहिले रोमीहरुले यस्तै सहर निर्माण गरेका थिए। जहाँ रोमका धनी र शक्तिशाली व्यक्तिहरु आफ्नो विलक्षण शौकहरु पूरा गर्न जान्थे। यसलाई रोमन अभिजात वर्गको ‘लस भेगास’ भनिन्थ्यो।
नेपल्सको पश्चिममा अवस्थित यस सहरको नाम बाइया थियो। जुन अहिले समुद्रमा डुबेको छ।
ईसापूर्व दोस्रो शताब्दीको अन्त्यसम्ममा बाइया रोमका धनीहरुका लागि लोकप्रिय गन्तव्य बनिसकेको थियो। सिसेरो, प्लिनी, नेरो र सिजरजस्ता प्रसिद्ध रोमन व्यक्तित्वहरु यहाँ बिदा मनाउने गर्थे। यो आफ्नो समयको एउटा रिसोर्ट सहर थियो। यो पनि भनिन्छ कि जुलियस सिजरको हत्यापछि उनकी प्रेमी र सुन्दर इजिप्टियन रानी क्लियोपेट्रा आफ्नो मातृभूमि फर्किन यस सहरबाट भागेका थिए।
आज बाइयाको अधिकांश भाग समुद्रमुनि डुबेको छ। सन् १९४० को दशकमा हवाई फोटोग्राफीले पहिलोपटक समुद्रको सतह मुनि संरचनाहरुको अस्तित्व रहेको उजागर गरेको थियो। पुरातत्वविद्हरुले पछि साइटको अनुसन्धान गरे र सम्पूर्ण जलमग्न सहर पत्ता लगाए। आज यो साइट विश्वको सबैभन्दा ठूलो पानीमुनि संग्रहालय हो। पुरातत्वविद्हरुले प्राचीन कलाकृतिहरुको विशाल शृंखला पत्ता लगाएका छन्।
हरेक वर्ष हजारौं पर्यटक जलमग्न भग्नावशेषहरुको भ्रमण गर्छन्। तर, यो साइट खतराको सामना गरिरहेको छ। यस क्षेत्रको ज्वालामुखी फेरि सक्रिय हुँदै गइरहेको छ। जसले गर्दा पर्यटकका लागि यो क्षेत्र बन्द गर्ने कुरा भइरहेको छ।
बाइया फ्लेग्रियन फिल्ड्समा अवस्थित छ। जुन एक सुपरभ्वालामुखी र एउटा विशाल क्याल्डेराको भाग हो। यस क्षेत्रभित्र असंख्य साना ज्वालामुखी भेन्टहरु अवस्थित छन्। जब म्याग्मा यस क्षेत्रमा माथि उठ्छ तब जमिन माथि उठ्छ तर जब यो पछि हट्छ तब जमिन डुब्छ। यस कारणले गर्दा यस क्षेत्रको जमिन कहिले समुद्र माथि उठ्छ र कहिले तल जान्छ। –एजेन्सी












