- सन्तोष आचार्य
नेपालमा बीमा क्षेत्र विस्तार हुँदै गए पनि यसप्रतिको समग्र बुझाइ अझै सीमित र संकुचित अवस्थामा रहेको देखिन्छ। विशेषगरी नीति निर्माण गर्ने तह, प्रशासनिक नेतृत्व र समाजका प्रभावशाली वर्गहरुबाट नै बीमाको महत्वलाई पूर्ण रुपमा आत्मसात गर्न नसकिएको कटु यथार्थ नेपाली समाजको अवस्थाले देखाउँदछ। यसले गर्दा बीमा केवल औपचारिकता वा बाध्यतामा सीमित हुने प्रवृत्ति बढ्दो छ। बीमा भनेको केवल भविष्यमा आउने जोखिमबाट जोगिने वित्तीय साधनमात्र नभएर यो समाजको आर्थिक स्थायित्वको आधार पनि हो।
विकसित देशहरुमा बीमालाई जीवनशैलीको अनिवार्य अंगका रुपमा लिइन्छ। तर, नेपालमा भने अझै पनि ‘के हुन्छ र ?’ भन्ने सोचले बीमा गर्ने संस्कारलाई कमजोर बनाएको छ। विशेषगरी उच्च तहका व्यक्तिहरुमा बीमाप्रतिको चासो कम हुनुको अर्थ समाजमा यसबारे सकारात्मक सन्देश नपुग्नु पनि हो। जबसम्म नेतृत्व तहले नै बीमाको महत्व बुझ्दैन तबसम्म आमजनतामा यसको प्रभाव झनै कम देखिन्छ। किनकि ठूलाबडाको सिको र भनाइलाई अझै सिको गर्ने जनमत हाम्रो नेपालमा धेरै छ।
बीमा कम्पनीहरुले जस्तोसुकै उत्कृस्ट विभिन्न योजना ल्याए पनि जनचेतनाको कमीमात्र नभई बीमाप्रतिको गहिरो आत्मसातको अभाव र अल्पकालीन लाभप्रतिको मोहको विकासले ती योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। हाल बजारमा दैनिक रुपमा देखिने शेयर बजार तथा सुनचाँदीको मूल्यमा हुने उतारचढावले छोटो अवधिमा उच्च प्रतिफलको अपेक्षालाई बढावा दिएको छ। यसप्रति दिनानुदिन चाख बढ्दो क्रममा छ। बजार माग र पुर्तिले निर्धारण गर्दछ भन्ने नबुझी र लगानी गर्ने सस्थाको यथार्थ वित्तीय अनुसन्धान नगरिकनै लगानीकर्ताहरु प्रायः जोखिमको उचित मूल्यांकन बिना बजारको हल्ला तथा देखासिखी प्रवृत्तिको पछाडि लाग्ने जमात हाम्रो समाजमा बढ्दो रुपमा विकसित हुँदै गएको छ।
यस्तो अवस्थामा दीर्घकालीन लगानी तथा प्रभावकारी जोखिम व्यवस्थापनका लागि आवश्यक वित्तीय औजारहरुको महत्व हुँदाहुँदै पनि सम्पूर्ण लगानी उपकरणलाई एउटै दृष्टिकोणबाट हेर्ने सोचले बीमा क्षेत्रको वास्तविक सार, यसको मूल मर्म र दीर्घकालीन सुरक्षा तथा स्थायित्व प्रदान गर्ने विशेषतालाई हामी आफैँले नजरअन्दाज गरिरहेका छौँ। तसर्थ, बीमा मूलतः जोखिम व्यवस्थापनको सशक्त माध्यम हो।
व्यक्तिको जीवन, सम्पत्ति, स्वास्थ्य तथा व्यवसायमा आउने अनिश्चित जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण भूमिका खेल्छ। तर, नेपालमा धेरैजसो मानिसे बीमालाई दीर्घकालीन सुरक्षा उपायको रुपमा नभई तत्काल फाइदा वा बीमा बुझेकाले पनि करयोग्य आयमा कर छुटसँग मात्र जोडेर हेर्ने गरेका पाइएको छ।
त्ससैगरी ऋण लिँदा बैंकिङ क्षेत्रले अनिवार्य रुपमा गराउने सम्पत्ति बीमा वा सवारीसाधन नवीकरण गर्दा नेपाल सरकारले तोकेको अनिवार्य बीमाका कारण केवल तेस्रो पक्ष बीमामै मात्र सीमित रहने हाम्रो व्यवहारले पनि बीमाप्रति हाम्रो सीमित बुझाइ प्रस्ट पार्दछ। सवारीसाधनको व्यापक बीमाको महत्व बुझ्दाबुझ्दै पनि त्यसलाई प्राथमिकतामा राख्न नसक्नु, आफैँमा गहिरो सोचनीय विषय बनेको छ।
मेरो दृष्टिकोणमा यदि सरकारले केही बीमा प्रावधानहरु अनिवार्य नगरेको भए सायद ती अभ्यासहरु पनि हाम्रो जीवनशैलीमा समावेश हुने थिएनन्। यसको पछाडि सानै कक्षादेखि वित्तीय सुरक्षा र सचेतनासम्बन्धी ज्ञानको अभाव, जुन हाम्रो चेतनामा सूक्ष्म रुपमा प्रवाहित हुनुपर्ने थियो। नभएको त होइन भन्ने प्रश्न पनि उठ्छ। यस विषयमा गहिरो अध्ययन र अनुसन्धान गरी नीतिनिर्माण तहबाट आवश्यक पहल हुनु आजको अपरिहार्य आवश्यकता हो।
त्यसैगरी माथिल्लो तहमा रहेका नीति निर्माता तथा निर्णयकर्ताहरुले नै बीमाको रणनीतिक महत्वलाई पर्याप्त प्राथमिकता नदिँदा यसको प्रभाव व्यापक रुपमा फैलिन सकेको छैन। यसको ज्वलन्त उदाहरण जेनेजी आन्दोलनमा क्षति भएको करोडौँ सरकारी सम्पतिको उचित बीमा नहुनु पनि हो।
नेपालमा बीमासम्बन्धी नीतिहरु बनाउँदा पनि दीर्घकालीन दृष्टिकोणको अभाव देखिन्छ। बीमालाई आर्थिक विकासको महत्वपूर्ण आधारका रुपमा लिनुपर्नेमा अझै पनि सहायक क्षेत्रका रुपमा मात्र हेरिन्छ। यदि सरकारी तहबाट नै बीमालाई अनिवार्य तथा प्रभावकारी रुपमा प्रवर्द्धन गर्ने नीति ल्याइयो भने नागरिकहरुको भरोसा पनि स्वतः बढ्न सक्छ।
तर, सरकार पूरै उदासीन नै भएको भन्ने उठान गर्न खोजेको पनि होइन। उदाहरणका लागि आज पनि नेपाल सरकारले करयोग्य आयमा जीवन बीमा गर्दा रु. ४० हजारसम्म कर छुट दिने नीति लिएर आए पनि देशका उच्च पदस्त व्यक्ति र राम्रो आयआर्जन गर्ने व्यावसायिक ओहोदाका सन्दर्भ समूहसमेत यसप्रति बेवास्ता छन्।
बीमा गर्दा हुने अदृश्य लाभप्रति त्यति विश्वस्त छैनन्। बीमा गरेपछि केही क्षतिपूर्ति लिनैपर्नै र बीमामा प्रिमियम तिरेपछि नाफाको हिस्सा लिनैपर्ने र बीमालाई जोखीम हस्तान्तरणको माध्यमभन्दा पनि लगानीमात्र सोचको विकासले यसको निरन्तरतालाई ग्राहकले आफैँले पनि खुम्च्याएको छन्। अर्कोतर्फ आत्मसातको जनचेतनाको कमी पनि ठूलो समस्या हो।
शिक्षित तथा उच्च पदमा रहेका व्यक्तिहरुबीच समेत बीमाको सही जानकारीको अभाव पाइन्छ। उनीहरु आफैँले बीमाको प्रयोग नगर्दा वा यसको महत्वलाई स्वीकार नगर्दा तलका तहका जनतामा पनि यसको सकारात्मक प्रभाव पुग्न सक्दैन। यसले बीमाप्रति अविश्वास र भ्रमको वातावरण सिर्जना गर्दछ। बीमा कम्पनीहरु स्वयंले पनि सेवाको गुणस्तर सुधार गर्न आवश्यक छ।
नेपाली बीमा बजार डिसजटल प्रणालीमा भर्खर जाँदै गरेको अवस्था भएका कारण दाबी भुक्तानी प्रक्रियामा पारदर्शिता र सरलता ल्याउन अझ सकेमा जनविश्वास अझ थप बढ्न सक्छ। जबसम्म सेवाग्राहीले सहज र छिटो सेवा पाउँदैनन् तबसम्म बीमाप्रतिको नकारात्मक धारणा परिवर्तन हुन गाह्रो हुन्छ।
समाधानका लागि सर्वप्रथम माथिल्लो तहबाट नै सोचमा परिवर्तन आवश्यक छ। नीति निर्माता, सरकारी अधिकारी तथा समाजका अगुवा व्यक्तिहरुले बीमाको महत्व बुझेर व्यवहारमा उतार्नुपर्छ। विद्यालय तथा कलेज तहदेखि नै बीमासम्बन्धी शिक्षा समावेश गर्न सकेमा दीर्घकालीन रुपमा सकारात्मक परिवर्तन सम्भव छ।
अन्ततः नेपालमा बीमाप्रतिको बुझाइ विस्तार गर्नका लागि सम्भावित प्रयास आवश्यक छ। जब माथिल्लो तहबाट नै बीमालाई प्राथमिकता दिइन्छ तबमात्र समाजको प्रत्येक तहमा यसको सही सन्देश पुग्न सक्छ। बीमा केवल खर्च नभएर यो अवसर हो, भविष्यको सुरक्षा हो र जोखीम ब्यबस्थानको उपयुक्त वितिय माध्यम हो भन्ने सोच विकास गर्नु आजको आवश्यकता हो।












