IME Life New

जेनजी आन्दोलनः सामाजिक, आर्थिक र सुशासनसम्बन्धी संरचनागत कमजोरीको परिणाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सामाजिक, आर्थिक, सुशासनसम्बन्धी संरचनागत कमजोरीको परिणाम रहेको निष्कर्ष निकालिएको छ।

अर्थ मन्त्रालयद्वारा आज सार्वजनिक त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले तयार पारेको ‘जेनजी आन्दोलनको बुझाइः मूल कारण, वास्तविक र सबल नेपालका लागि मार्गचित्र’मा यस्तो निष्कर्ष निकालिएको हो। प्रविधिमैत्री, शिक्षित र सामाजिक सञ्जालमार्फत सक्रिय रुपमा जोडिएको जेनजी पुस्ताको आन्दोलन केवल आकस्मिक वा भावानात्मक विद्रोहका रुपमा मात्र नभई विगतदेखि नै नेपाली समाजमा जरा गाडेर बसेको सामाजिक, आर्थिक र सुशासनसम्बन्धी संरचनाको परिणामका रुपमा आएको मार्गचित्रमा उल्लेख छ।

Esewa
Crest

मार्गचित्रमा कमजोर शासन प्रणाली, राजनीतिक अस्थिरता, नीति र कार्यान्वयनबीचको अन्तर, संस्थागत असक्षमता तथा राज्यका विभिन्न निकायहरुमा युवाको न्यून प्रतिनिधित्वले युवाको असन्तोषलाई थप गहिरो बनाएको देखिएको उल्लेख छ। ‘भ्रष्टाचार, बेरोजगारी, अल्परोजगारी, न्यून तलब, उत्पादनमुखी अर्थतन्त्रको अभाव र उद्यमशीलताको सीमित अवसरले युवाहरुलाई आफ्नो भविष्य देशभित्र असुरक्षित रहेको बुझाइ पाइन्छ’, प्रतिवेदनमा उल्लेख छ।

यसैगरी व्यापक भ्रष्टाचार र जबाफदेहीताको कमी नै आन्दोलनको प्रमुख कारण भएको स्पष्ट देखाएको मार्गचित्रमा ठम्याइएको छ। ‘यस आन्दोलनमा सहभागी अधिकांश युवाहरु यस अघिका आन्दोलनमा संलग्न नभएकाले यसलाई नयाँ पुस्ताको संगठित विस्फोटका रुपमा बुझ्न सकिन्छ’, मार्गचित्रमा निष्कर्ष निकालिएको छ, ‘नेतृत्वविहीन भए पनि डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालले आन्दोलनलाई व्यापक र संगठित बनाउन निर्णायक भूमिका खेलेको देखिन्छ। आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको प्रमुख कारण सरकारको कमजोरी, संवादहीनता र समयमै उपयुक्त निर्णय लिन नसक्नु रहेको पाइएको छ।’

यसैगरी आन्दोलनले राजनीतिक पार्टीहरुका आन्तरिक संरचना तथा सामाजिक सोचमा परिवर्तन ल्याएको र नयाँ पुस्ता राजनीतिमा सक्रिय देखिन थालेको मार्गचित्रमा उल्लेख छ। ‘तत्कालीन रुपमा अर्थतन्त्रमा आर्थिक क्षति देखिए पनि विकासको दीर्घकालीन रणनीति तयार गरी पुनर्निर्माणको बाटोमा लैजान आवश्यक छ’, मार्गचित्रमा भनिएको छ, ‘यसका लागि निजी तथा सरकारी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ।’

सामाजिक कार्यमा आधारित सुझाव

  • राजनीतिक नेतृत्व राष्ट्र र मुलुकप्रति इमान्दार नहुनु र राजनीतिक नेतृत्व तथा तिनका सन्तति तथा नातेदारहरुको विलासी जीवनशैलीले जेन्जी पुस्ताको राजनीतिक नेतृत्वप्रति विश्वास घटेको देखिन्छ र राजनीतिक परिवेशप्रति वितृष्णा जागेको देखिन्छ। राजनीतिक नेतृत्व लिने व्यक्ति राष्ट्रप्रति इमान्दार हुनु जरुरी छ। उनीहरुको जीवनशैली साधारण नागरिकहरुको जस्तै सरल हुनुपर्दछ। राजनीति पेसाभन्दा राष्ट्र निर्माण तथा राष्ट्रसेवाका लागि गरिने पवित्र कार्य हो भन्ने बुझ्न जरुरी छ। अतः राजनीतिक पार्टीहरुका सोच यतातर्फ ढल्किन आवश्यक देखिन्छ।
  • राजनीतिक नियुक्तिमा नेतृत्वका नातेदार र आफन्तलाई मात्र नियुक्ति गरिनुजस्ता कारणले युवापुस्ताहरुको सामाजिक परिवेशप्रति वितृष्णा जागेको देखिन्छ। यसैले गर्दा पनि विद्रोह जागेको हो। अतः यस्ता नियुक्तिहरु पारिवारिक आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा योग्यतावान् व्यक्तिहरुलाई गरिनुपर्दछ।
  • नेपालको शिक्षा प्रणाली रोजगारमा आधारित नहुनु र उच्च शिक्षा भए पनि योग्यताअनुसार रोजगारी नपाउनु एक सामाजिक यथार्थ बनेको छ। बेरोजगार मानिसलाई फुर्सद हुन्छ र कुण्ठा पनि हुन्छ। अतः ती विद्रोहमा जुट्छन् र होमिन्छन्। तसर्थ, शिक्षालाई शीपमुलक तथा रोजगारीमा आधारित बनाउन जरुरी छ।
  • समाजका सीमान्तकृत व्यक्तिहरु विकासको मूल प्रवाहमा समाहित हुन नसक्नु एक सामाजिक समस्या हो। यी सीमान्तकृत व्यक्तिहरुले विकासको मूल प्रवाहमा समाहित हुँदै सुविधा सम्पन्न जीवनयापन गर्न पाइरहेका छैनन्। अतः ठूला होटल तथा व्यवसायिक भवनहरुप्रति उनीहरुको आक्रोश पोखिएको देखिन्छ। तसर्थ, समाजका सीमान्तकृत व्यक्तिहरुलाई विकासको मूल प्रवाहमा समाहित गर्दै जीविकोपार्जनको व्यवस्था मिलाउन आवश्यक छ।

आर्थिक कारणमा आधारित सुझाव

  • बढ्दो बेरोजगारी नेपालको प्रमुख समस्या हो। स्वदेशमा रोजगार नपाएर लाखौँ मानिस विदेशिन परेको यथार्थ परिदृष्य जेन्जी पुस्ताले देखेको छ। अतः यो पुस्ताले सुरक्षित भविष्य नदेखेका कारणले पनि उनीहरु आन्दोलनमा होमिन पुगेको देखिन्छ। अतः विकास रोजगारीमा आधारित हुन आवश्यक छ। राष्ट्र र निजी क्षेत्रले गरेको लगानी रोजगार सिर्जना गर्ने खालको हुन आवश्यक छ।
  • न्यून ज्याला र आर्थिक अस्थिरता नेपालको अर्को समस्या हो। यही ज्यालामा जेनजी पुस्ताले सोचेको जीवनशैली पाउन गाह्रो छ। जीवनभरको इमान्दारीको कमाइले एउटा बास बनाउन पनि सक्दैन र एउटा सामान्य सवारी साधान किन्न पनि सक्दैन। सँगै, विदेसिएको उनीहरुको साथी तथा आफन्तहरुको जीवनशैली यता काम गर्नेहरुको तुलनामा धेरै नै उच्च देखिन्छ। जसले उनीहरुको मनस्थितिलाई विद्रोहप्रति तानेको छ। अतः भइरहेका रोजगारीका अवसरमा पनि ज्यालादर बढाउन जरुरी छ।
  • नेपालमा धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल देखिन्छ। जेनजी आन्दोलनका क्रममा न्यून आय भएको र पिछडिएको समुदाय पनि आन्दोलनकै लहरमा होमिएको देखिन्छ। डिपार्टमेन्टल स्टोर, होटल तथा औद्योगिक प्रतिष्ठानमा भएको लुटपाट तथा तोडफोडमा यस्तो समुदायको संलग्नता भेटिएको पाइएको छ। अतः न्यून आय हुने वर्गलाई पनि विकासको मूल प्रवाहमा ल्याउँदै आर्थिक रुपमा हुने र नहुनेबीचको खाडल कम गर्नुपर्ने देखिन्छ।
  • उद्यम, लगानी र सेवा प्रवाहसँग सम्बन्धित प्रक्रिया अत्यधिक जटिल र समयका हिसावमा खर्चिलो भएको हुँदा आर्थिक गतिविधि सुस्त बनेको छ। त्यसैले वान–स्टप, छोटो कागजी प्रक्रिया र पूर्ण डिजिटल प्रणाली लागू गरी लाइसेन्स, दर्ता, कर र लगानीसम्बन्धी सेवा सहज, पारदर्शी र समयमै उपलब्ध गराइनुपर्छ।
  • नीतिगत अस्थिरता अर्थतन्त्रका लागि प्रत्युत्पादक हुन्छ भन्नेकुरा प्रमुख सूचनादातासँगको छलफलमा संलग्न व्यवसायीहरुले उठान गरेका छन्। अस्थिर नीतिले बिजनेस एक्सपेटेसनमा प्रतिकुल प्रभाव पार्दछ। अतः आर्थिक नीतिहरु न्यूनतम पनि ५ वर्षका लागि स्थिर हुनुपर्दछ।

सुशासनका कारणमा आधारित सुझाव

  • सेवा प्रदान गर्ने निकायहरूमा प्रशासनतन्त्र बोझिलो, धेरै समय लाग्ने र झन्झटिलो खालको हुनुले पनि आन्दोलनलाई प्रश्रय दिएको देखिन्छ। मालपोत बुझाउने कार्यालय, कर तथा सेवा दस्तुर बुझाउने कार्यालय, लाइसेन्स दिने कार्यालय, नगरपालिका तथा गाउँपालिकाका कार्यालय आदिमा भएको देशव्यापी आगजनी तथा तोडफोड यसको प्रतिकका रुपका लिन सकिन्छ। अतः सेवा प्रदान गर्ने कार्यालयहरुमा सेवा कार्य अति सहज, पारदर्शी, छिटो र जनमैत्री हुन जरुरी छ। यस्ता ठाउँहरुमा कमिसन तथा घुसखोरी हुनुहुँदैन।
  • सेवा प्रणालीमा एकद्वार प्रणालीको अभाव जनआक्रोशको एक कारण थियो। व्यापार व्यवसाय गर्नेहरुका लागि प्रदान गरिने सेवाहरु एकद्वार प्रणालीमा आधारित हुनुपर्दछ। त्यस्तै संस्था दर्ता, संस्था खारेजी, मालपोत, कर तथा सेवा दस्तुर, अनुमति आदि सबै एकै ठाउँबाट प्रदान गरिनुपर्दछ।
  • सेवा प्रवाहमा काम गर्ने कर्मचारीहरुले सेवा प्रवाह गर्दा अहिले पनि सेवाग्राहीप्रति सरल, सहज, उत्तरदायी र यथासक्य छिटो सेवा प्रदान गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS