IME Life New

बैंकहरुको कर्जा प्रवाह रु. ५९ अर्बले बढ्यो, दसैँले कति बढाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा प्रवाह असोज २३ गतेसम्म ५९ अर्ब रुपैयाँले बढेको छ।

भदौ मसान्तसम्म ५३ खर्ब ५१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल कर्जा असोज २३ सम्ममा बढेर ५४ खर्ब १० अर्ब रुपैयाँ पुगेको हो। पछिल्लो तथ्यांकअनुसार असोजको पहिलो २३ दिनमा बैंकहरुले कर्जा विस्तारलाई निरन्तरता दिए पनि चाडपर्वको समयमा अपेक्षा गरिएअनुसार कर्जाको माग बढ्न सकेको छैन।

Esewa
Crest

असोज १८ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा विस्तार ३८ अर्ब रुपैयाँ रहेकोमा त्यसपछिका दिनमा थप २१ अर्ब रुपैयाँ बढेको छ। यसले असोजको पछिल्लो अवधिमा कर्जा विस्तारको गति बढेको देखाउँछ। यद्यपि, दसैँ–तिहारलाई लक्षित गरेर बजारमा आर्थिक गतिविधि बढ्ने र व्यवसायीले व्यापार विस्तारका लागि थप कर्जा लिने अपेक्षाअनुसारको अवस्था भने देखिएको छैन।

वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा पछिल्ला महिनामा उतारचढाव देखिएको छ। गत साउनमा बैंकहरुको कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको थियो। भदौमा भने ६१ अर्ब रुपैयाँले बढेको कर्जा असोज २३ सम्ममा थप ५९ अर्ब रुपैयाँले विस्तार भएको छ। यसले कर्जा प्रवाहमा सुधार देखिए पनि बैंकहरुको कर्जा विस्तारको गति र बजारमा अपेक्षा गरिएको आर्थिक गतिविधिबीच अझै अन्तर रहेको संकेत गर्छ।

विगतका वर्षको असोज महिनासँग तुलना गर्दा पनि यस वर्षको कर्जा विस्तार अपेक्षाकृत कमजोर देखिएको छ। वाणिज्य बैंकहरुले २०८१ असोजमा ५६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए भने २०८२ असोजमा ४० अर्ब ६८ करोड रुपैयाँले कर्जा बढेको थियो। चालु वर्षको असोज २३ सम्ममा कर्जा विस्तार ५९ अर्ब रुपैयाँ पुगेको भए पनि यस अवधिको तथ्यांकलाई अघिल्ला वर्षको पूर्ण असोज महिनासँग तुलना गर्दा समयावधिको भिन्नतालाई ध्यान दिनुपर्ने हुन्छ।

सामान्यतया दसैँ–तिहारको समयमा सवारीसाधन, खाद्यान्न, लत्ताकपडा, मोबाइललगायत उपभोग्य वस्तुको बिक्री बढ्ने गर्छ। चाडपर्वलाई लक्षित गरेर व्यवसायीले सामानको मौज्दात बढाउने, आयात गर्ने र बजारमा वितरण गर्ने भएकाले थप पुँजीको आवश्यकता पर्छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग बढ्ने अपेक्षा गरिन्छ। तर, यस वर्ष बजारमा व्यापारिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरुको कर्जा मागमा पनि त्यसको प्रभाव परेको देखिन्छ।

बजारमा माग अपेक्षाअनुसार नबढ्नुका पछाडि निजी क्षेत्रको कमजोर मनोबल, लगानीको वातावरणप्रतिको अनिश्चितता र आपूर्ति प्रणालीमा देखिएका अवरोधलाई प्रमुख कारणका रुपमा हेरिएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाका प्रभावित भएको छ भने कोरला नाकामा पहिरोले क्षति पु¥याएको छ। तातोपानी नाकामा देखिएका अवरोध र असोजमा भएको लगातारको वर्षाले सडक तथा पूर्वाधारमा पुर्याएको क्षतिले समेत सामान ढुवानीमा कठिनाइ सिर्जना गरेको छ।

चाडपर्वको समयमा बजारमा वस्तुको माग बढ्ने अपेक्षा गरिए पनि आयात र आपूर्ति व्यवस्थामा समस्या हुँदा व्यापारिक कारोबारले अपेक्षित गति लिन सकेको छैन। व्यवसायीले बजारको माग, बिक्रीको सम्भावना र लगानीबाट प्राप्त हुने प्रतिफलको आँकलन गरेरमात्रै थप कर्जा लिने भएकाले व्यापार विस्तारप्रतिको अनिश्चितताले बैंकहरुको कर्जा मागमा असर पार्न सक्छ। आपूर्ति प्रणालीमा अवरोध हुँदा सामानको उपलब्धता र बिक्री प्रभावित हुने भएकाले त्यसको असर बैंकिङ क्षेत्रमा समेत देखिएको हो।

यस वर्ष नयाँ सरकार गठनपछि निजी क्षेत्रको मनोबलमा सुधार आउने र बजारमा लगानी तथा व्यापार विस्तारका गतिविधि बढ्ने अपेक्षा गरिएको थियो। नाइमा र नाडा अटो शोमा सवारीसाधनको बुकिङ उत्साहजनक देखिएपछि अटो बजारमा कारोबार बढ्ने र त्यसले बैंकहरुको सवारी कर्जासमेत विस्तार गर्ने अनुमान गरिएको थियो। तर, प्रदर्शनीमा देखिएको उत्साह समग्र बजारको कारोबार र कर्जाको मागमा अपेक्षित रुपमा रुपान्तरण हुन सकेको देखिँदैन।

बैंकहरुले कर्जाको ब्याजदर घटाउनुका साथै ग्राहक आकर्षित गर्न विभिन्न योजना ल्याइरहेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुनु र ब्याजदर कम हुनु कर्जा विस्तारका लागि अनुकूल अवस्था भए पनि त्यसले मात्रै कर्जाको माग बढाउन नसकेको पछिल्लो तथ्यांकले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS