काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले कर्मचारी आन्दोलनका कारण नेपाल धितोपत्र बोर्डको काम ठप्प भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण व्यक्त गरेको हो। ‘गत भदौ ३१ गते अर्थ मन्त्रालयबाट निर्देशन जारी गरी धितोपत्र वोर्डको स्थापनाकालदेखि नै कर्मचारीहरुले उपभोग गर्दै आएको विभिन्न सेवा सुविधामा कटौती गर्ने र विगतदेखि हालसम्म कर्मचारीहरुले कल्याणकारी कोपमार्फत उपभोग गरेका रकम फिर्ता गराउने र सरकारी बाँकीसरह असुलउपर गर्नेसमेत निर्णय कार्यान्यवनका लागि बोर्डमा पत्राचार गरेपश्चात करिब १ महिनादेखि धितोपत्र बोर्डका सम्पूर्ण कर्मचारीहरु आन्दोलनमा उत्रिएका कारण बोर्डबाट प्रवाह हुने सम्पूर्ण कार्यहरु ठप्प भएको छ’, विज्ञप्तिमा भनिएको छ।
नेपालको पुँजी बजारको एकमात्र नियामक निकायका रुपमा रहेको धितोपत्र बोर्डले आफूमातहतका संस्थाहरुलगायत सूचीकृत कम्पनीहरुसहित ७०० भन्दा बढी संस्थाहरुको नियमन गर्दै आएको विज्ञप्तिमा उललेख छ। ‘धितोपत्र नियामकहरुको अन्तर्राष्ट्रिय छाता संगठन (आईओएससीओ) को सिद्धान्तअनुसार स्वायत्त धितोपत्र नियामकको अवधारणाबमोजिम चल्दै जानुपर्नेमा अर्थमन्त्रालयले नेपालको वित्तीय क्षेत्रको ३ आधार स्तम्भमध्येको एक पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको स्वायत्तता कायम गर्दै वार्ताका माध्यमद्वारा आन्दोलनरत सबै कर्मचारीहरुको आत्मसम्मान हुने गरी अविलम्ब निकास निकाली ७० लाख भन्दा बढी लगानीकर्ता रहेको नेपालको पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डका सम्पूर्ण कर्मचारीहरुलाई सहज रुपमा काममा फर्किने वातावरण बनाउनु हुन अर्थ मन्त्रालयसमक्ष अनुरोध छ’, विज्ञप्ति भनिएको छ।

















