काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनमा ल्याउन कन्सल्टेसन पेपर सार्वजनिक गरेको छ। शेयर बजारमा यी उपकरणका लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र विषयक कन्सल्टेसन पेपर पहिलोपटक सेबोनबाट सार्वजनिक गरिएको हो।
चालु आर्थिक वर्षको २०८३।८४ को बजेट वक्तव्यमा सरकारले ‘इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभजस्ता उपकरणको चरणबद्ध सुरुआत गर्नेछौँ’ भन्ने कार्यक्रम घोषणा भएको। त्यस्तै सेबोनको चालु आर्थिक वर्षको पुँजीबजार नीति तथा कार्यक्रमममा मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ र सर्ट सेलिङ आदि सञ्चालनमा ल्याउन कानुनी, संस्थागत तथा प्रक्रियागत संरचना व्यवस्था गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
विश्वव्यापी पुँजीबजारको विकासक्रमले देखाएको अनुभवअनुसार मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ र आवरणयुक्त सर्ट सेलिङजस्ता नयाँ सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी तथा दक्ष बनाउने महत्वपूर्ण आधार तयार गरेको देखिन सेबोनले जनाएको छ। सेबोनबाट नेपालको पुँजीबजारलाई पनि समयानुकूल आधुनिक, प्रतिस्पर्धी, सुरक्षित तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप बनाउने उद्देश्यले मार्जिन कारोबारलाई प्रभावकारी बनाउने, सेक्युरिटिज लेन्डिङ र आवरणयुक्त सर्ट सेलिङ चरणबद्ध रुपमा लागू गर्ने नीति रहेको छ। ‘यस्ता धितोपत्र सेवाहरुको सफल कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार, सक्षम बजार पूर्वाधार, प्रभावकारी सूचना प्रविधि प्रणाली, सुदृढ जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणका उपायहरु अपरिहार्य हुन्छन्’, अवधारणापत्रमा उल्लेख छ।
सेबोनले विभिन्न चार अध्यायमा विभाजन गरी अवधारणापत्र तयार गरेको छ। जसको प्रथम अध्यायमा नेपालको पुँजीबजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण तथा सुधारको आवश्यकता, दोस्रो अध्यायमा अन्तर्राष्ट्रिय अनुभव, असल अभ्यास तथा नेपालका लागि प्रमुख सिकाइ, तेस्रो अध्यायमा नियामकीय प्रभाव विश्लेषण र चौथो अध्यायमा नेपालका लागि विशिष्टकृत नीति सिफारिस, जसअन्तर्गत नेपालका लागि उपयुक्त मार्जिन लेन्डिङ मोडल, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ मोडल र कभर्ड सर्ट सेलिङ मोडल प्रस्ताव गरिएको छ।
अवधारणापत्रमा निकायगत तथा संस्थागत गर्नुपर्ने तयारी र भूमिका स्पष्टसँग किटान गरिएको छ। जसमा सेबोन, नेप्से, सीडीएससी, शेयर ब्रोकर, स्टक डिलर बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा सम्बन्धित अन्य निकायको भूमिका स्पष्ट गरिएको छ। यस अवधारणापत्रले कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधि आधुनिकीकरण, मानव स्रोत विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई समेटेको छ।
यस अवधारणापत्रलाई सार्वजनिक परार्मशका लागि सम्बद्ध सबै पक्षबाट प्राप्त रचनात्मक सुझावहरुको समेत अध्ययन गरी मार्जिन लेन्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली र आवरणयुक्त सर्ट सेलिङ नियमावली तर्जुमा एवं सार्वजनिकीकरण गरिने हुँदा यथाशीघ्र ई–मेल [email protected] मा सुझाव प्रदान सेबोनले आग्रह गरेको छ।
धितोपत्र वित्तीय सेवाको सफल कार्यान्वयनबाट नेपालको पुँजीबजारमा स्थायित्व कायम हुने, तरलता अभिवृद्धि हुनुका साथै लगानीकर्ता (व्यक्तिगत तथा संस्थागत) को सहभागिता विस्तार हुने र लगानीकर्तालाई नयाँ वित्तीय उपकरण उपलब्ध हुने तथा निजी क्षेत्रको दीर्घकालीन पुँजी परिचालनमा उल्लेखनीय योगदान पुग्ने सेबोनको विश्वास छ।
अवधारणापत्र हेर्न यहाँ क्लिक गर्नुहोस्
https://sebon.gov.np/uploads/2026/07/30/XgOr3k8HCx4SZ2RBJgoeliq6jgKX2IpwTcWBtAnW.pdf












