काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ठूलो घोषणा गरेका छन्। उनले युरोपेली देशहरुलाई ग्यास आपूर्ति कटौती गर्ने धम्की दिएका छन्। जसले युरोपमा ऊर्जा संकट निम्त्याउन सक्छ। पुटिनले युरोपेली देशहरुलाई ग्यास आपूर्ति कटौती गर्ने समय आएको बताएका छन्। मध्यपूर्वमा चलिरहेको युद्धको बीचमा यो बयान आएको छ।
पुटिनका अनुसार धेरै देशको बजार रुसका लागि खुल्दैछ। ‘उनीहरुले रुसी ऊर्जाका लागि राम्रो मूल्य तिरिरहेका छन्’, उनले भनेका छन्, ‘त्यसैले युरोपेली देशहरुलाई ऊर्जा आपूर्ति कटौती गर्ने र नयाँ बजारहरुमा प्रवेश गर्ने समय आएको छ। म यसका बारेमा खुलेर सोचिरहेको छु।’
यो अन्तिम निर्णय नभए पनि आफूले निश्चित रुपमा सरकारलाई आफ्ना कम्पनीहरुसँग मिलेर यसमा काम गर्न निर्देशन दिने पनि पुटिनले बताए। ‘रुस सधैँ एक भरपर्दो आपूर्तिकर्ता रहेको छ र हामी जुनसुकै देशसँग सम्झौता गर्छौं। त्यससँग व्यापार जारी राख्नेछौँ। युरोपमा ग्यास आपूर्ति कटौती गर्नु रुसका लागि फाइदाजनक हुनेछ।’
युद्धले रुसलाई फाइदा !
धेरै विज्ञहरुका अनुसार मध्यपूर्वमा युद्ध सुरु हुनु अप्रत्यक्ष रुपमा रुसलाई फाइदा पुर्याउँदैछ। हर्मुज स्ट्रेट बन्द भएका कारण मध्यपूर्वबाट हुने ऊर्जा आपूर्ति अवरुद्ध भएको छ। फलस्वरुप भारत र चीनलगायत धेरै देशहरु ऊर्जा विकल्पहरु खोजिरहेका छन् र रूस एक बलियो दाबेदार देखिन्छ। रुस यी देशहरुमा प्रवेश गर्न र आफ्नो पकड बलियो बनाउन यो अवसरलाई सदुपयोग गर्न चाहन्छ।
ग्यासको सन्दर्भमा युरोपमा ठूलो संकट
हर्मुज स्ट्रेट बन्द भएको कारणले युरोपमा ग्यासको मूल्य तीव्र गतिमा बढेको छ। कतारले पनि एलएनजी आपूर्ति रोकेको छ। जसले युरोपको ग्यास आवश्यकताको ६ प्रतिशत पूरा गर्दछ। अब रुसले पनि ग्यास आपूर्ति कटौती गर्ने धम्की दिएको छ। जसले युरोपका लागि ठूलो संकट सिर्जना गरेको छ।
युरोप रुसमा कति निर्भर छ ?
युक्रेन युद्धअघि युरोप पूर्ण सपमा रुसी ग्यासमा निर्भर थियो। तिनीहरुले रुसबाट आफ्नो ग्यासको ४० प्रतिशतसम्म किन्थे तर युक्रेनसँगको युद्धपछि यो संख्या १० देखि १५ प्रतिशतमा झरेको छ। यसमा पाइपलाइन र एलएनजी दुवै समावेश छन्। अहिले नर्वे (३० प्रतिशत) र संयुक्त राज्य अमेरिका (५८ प्रतिशत एलएनजी) युरोपका सबैभन्दा ठूला आपूर्तिकर्ता हुन्। फ्रान्स, स्पेन र बेल्जियमजस्ता देशले अझै पनि उल्लेखनीय मात्रामा ग्यास आयात गर्छन्। –एजेन्सी












