काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।
कम्पनीको आर्थिक वर्ष २०८०।८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत फागुन २६ गतेको पत्रमार्फत स्वीकृत भएको जानकारी गराएको थियो। प्राधिकरणको स्वीकृतिपछि कम्पनीले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमालेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो। कम्पनीले प्रतिहजार बीमांकमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।
रिलायबल सावधिक जीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। यस योजनामा ५ वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ५५ रुपैया, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ। कम्पनीको यस योजनामा १५ देखि १९ वर्षसम्म अवधिको ३४५ वटा बीमालेख बिक्री भएका छन्। यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।
रिलायबल सुलभ जीवन बीमालेख/सुलभ बाल जीवन बीमालेख प्लस योजना
यस योजनाअन्तर्गत ५ देखि ९ वर्षसम्मको अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि २९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३३ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ४१ रुपैयाँ कायम भएको छ। कम्पनीको यस योजनाअन्तर्गत १५ देखि १९ वर्षसम्मको अवधिका ४१ हजार ३३२ बीमालेख बिक्री भएका छन्। यस अवधिमा बीमितले प्रतिहजार ३३ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।
रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी)
कम्पनीको यस योजनाअन्तर्गत प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि २५ रुपैयाँ र १५ र सोभन्दा माथि अवधिका लागि २६ रुपैयाँ बोनसदर कायम भएको छ। यसमा १५ र सोभन्दा माथि अवधिका १ हजार ५९२ वटा बीमालेख बिक्री भएका छन्।
लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेख
यस योजनाअन्तर्गत ५ देखि ९ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३१ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३३ रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि ३४ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ३५ रुपैयाँ कायम भएको छ। यस योजनाअन्तर्गत १५ देखि १९ वर्षसम्मको अवधिका २ हजार १२९ बीमालेख बिक्री भएका छन्।
सावाधिक तथा आजीवन बीमा योजना
यस योजनाअन्तर्गत ५ देखि ९ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ कायम भएको छ। यस योजनाअन्तर्गत १५ देखि १९ वर्षसम्मको अवधिका ४ हजार ३८ बीमालेख बिक्री भएका छन्।
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना
कम्पनीको यस योजनाअन्तर्गत १०, १२ र १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम भएको छ।
रिलायबल समुन्नति जीवन बीमा
कम्पनीको यस योजनाअन्तर्गत ५ देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार २० रुपैयाँ, १५ देखि २४ वर्षसम्मको अवधिका लागि २१ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि २३ रुपैयाँ बोनसदर कायम भएको छ।
रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावाधिक बीमालेख)
कम्पनीको यस योजनाअन्तर्गत ५ देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम भएको छ। कम्पनीको १५ देखि १९ वर्षसम्म अवधिको ४८४ वटा बीमालेख बिक्री भएका छन्।
कम्पनीको उल्लेखित अवधिका लागि उपरोक्तअनुसारको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै अर्को बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा समेत सोहीअनुसार बोनसदर कायम हुनेछ।