– सन्तोष आचार्य
साधारणतया जीवन बीमा भन्नाले बीमित र बीमक (बीमा कम्पनी) बीचको करारलाई सम्झनुपर्छ। जसमा बीमितले निश्चित रकम तिर्दा बीमकले भविष्यमा बीमित वा उनका हकवालालाई आर्थिक सुरक्षा दिने सम्झौता हो। अर्थात्, भविष्यमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले बीमित र बीमकबीच गरिएको वित्तीय सम्झौतालाई जीवन बीमा भन्ने बुझिन्छ।
बीमा ऐन, २०७९ अनुसार जीवन बीमा भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरका आधारमा एकमुष्ट वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजको अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भएबमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसग गरेको करार सम्झिनुपर्छ।
बीमा पोलिसी सरेन्डर भन्नाले बीमित र बीमकबीच भएको करारअनुसार बीमालेखमा उल्लेखित अवधिसम्म बीमाशुल्क भुक्तानी जाने सर्त बीचैमा भंग गरी सोअन्तर्गत बीमितले पाउने रकम तत्काल माग गर्ने प्रक्रियालाई बीमालेखको सरेन्डर वा बीमालेख समर्पण भन्ने गरिन्छ।
सामान्यतया बीमालेख समर्पणअन्तर्गत बीमा अवधि ३ वर्ष वा सोभन्दा बढी समय प्रिमियम भुक्तानी पूरा भएको हुनुपर्ने भन्ने कानुनी व्यवस्था छ। एकपटक समर्पण गरिसकेको बीमालेखलाई बीमितले पुनर्जागरण गरी उक्त बीमालेख चालु गर्न सक्दैन। तसर्थ, बीमालेख समर्पण गरी बीमितले बीमालेखअन्तर्गत नगद मूल्य (समर्पण मूल्य) प्राप्त गरिसकेपछि बीमित र बीमकबीच कुनै पनि वित्तीय दायित्व बाँकी रहँदैन।
नेपालमा जीवन बीमा पोलिसीको सरेन्डर हेर्दा विकराल स्थिति छ। वर्ष २०२२।२३ मा लगभग रु १३.३४ अर्ब पोलिसी सरेन्डर भएका छन्। त्यसैगरी वर्ष २०२३।२४ मा अघिल्लो वर्षभन्दा ८.६७ प्रतिशतको वृद्धि अनुपातमा रु. १४.५० अर्ब र २०२४।२५ को पछिल्लो केही महिनालाई मात्र हेर्दा लगभग २ अर्ब रुपैयाँबराबरको बीमा पोलिसी सरेन्डर भइसकेको स्थिति छ।
नेपालमा जीवन बीमा पोलिसी सरेन्डर हुनुका कारण निम्नानुसार व्याख्या गर्न सकिन्छ
१. जीवन बीमालाई सहायक महत्वका रुपमा मात्र लिनु
हाम्रो देश नेपालमा अझै पनि बीमालाई अनिवार्य महत्वका रुपमा लिइएको छैन। नेपालमा सबै अन्य आवश्यकता पूरा भइसकेपछि मात्रै बीमाको आवश्यकता वा महत्वका रुपमा बुझ्ने गरिएको छ। बीमा आवश्यक चिज हो भन्ने बुझेका व्यक्तित्वको पनि ठूलो जमातको नेपालमा जीवन बीमा छैन। नेपालमा भएका जीवन बीमा पनि धेरैजसो बुझेर र आवश्यकता महसुस गरेर गरेको भन्दा पनि अभिकर्ताले कर गरेर, आफन्तको कुरा काट्न नसकेर वा कर छुट सुविधा लिन भनेर जीवन बीमा गरिएको पाइएको छ। त्यही भएर जीवन बीमाका बीमित केही वित्तीय कठिनाइ व्यक्तिगत जीवनमा आइपरे सबैभन्दा पहिला अन्य वित्तीय उपकरणको वैकल्पिक उपाय नखोजी सोझै समस्या परेको बेला वित्तीय स्रोतको परिपूर्ति बीमाबाट गर्ने भन्ने सोची बन्द गरेर मास्ने परिपक्क साक्षरताको बुझाइको अभावले नेपालमा बीमा सरेन्डर गर्ने मुख्य विकृति रहिआएको छ।
२. देशको आर्थिक अवस्था
देशको आर्थिक अवस्था गतिशील नभई केही क्षेत्रबाहेक सम्पूर्ण क्षेत्रको व्यापार–व्यवसायमा नैराश्यता आई आर्थिक चरम संकट वा आर्थिक संकुचनको अवस्थाले ग्राहकमा आर्थिक संकटको कठिनाइको अवस्थाले गर्दा दैनिक बीमाको प्रिमियम तिर्न सक्ने अवस्था कमजोर भएको कारण बीमा सरेन्डर बढ्दो क्रममा छ।
३. प्रोफेसनल अभिकर्ताको विकास नहुनु
नेपालमा जीवन बीमा अभिकर्ता पेसा आफैँमा पूर्ण रुपमा प्रोफेसनल अभिकर्ताको विकास हुन नसक्नुले पनि सही बीमा सूचनाको सम्प्रेषणको कमीले पनि बीमामा मिससेलिङ हुने गरेको पाइएकाले सही व्यक्तिलाई सही जीवन बीमा योजना दिन नसक्नुले पनि जीवन बीमा दीर्घकालीन समयसम्म चल्न सकेका छैनन्।
४. व्यक्तिगत परिस्थितिमा परिवर्तन
नेपालमा रोजगार गुमाउनु, भएको रोजगार पनि त्यसैमा भविष्य नदेखि विदेशिनु, दैनिक रुपमा ब्यापार व्यवसाय खस्किँदै गई बन्द हुनु, पारिवारिक दायित्वमा फेरबदल हुनुजस्ता कारणले पनि बीमा सरेन्डर बढ्दो छ।
५. बीमाशुल्क भुक्तानीका बारेमा समयमा जानकारी नहुनु
नेपालमा जीवन बीमा कम्पनीहरुले ग्राहकलाई प्रिमियम भुक्तानीका लागि सूचनाका रुपमा म्यासेज, फोनबाट जानकारी गराइएको पाइएको छ। तर, बीमा गर्दा प्रस्ताव फारममा सूचना सम्प्रेषणका माध्यम भविष्यमा ई–मेल हुन सक्ने कुरालाई बेवास्ता गरी प्रस्ताव फारममा केवल ग्राहक सूचनाको जानकारी माध्यम फोन नम्बर भएको र उक्त नम्बर पनि समयानुसार परिवर्तन भएका कारण सही नम्बरमा सूचना सम्प्रेषण हुन नसक्दा बीमक र बीमितबीचको सूचना सम्प्रेषणको खाडल लामो हुन गई बीमाशुल्क भुक्तानीसम्बन्धी सूचनाको सम्प्रेषण अत्यावधिक नभएका कारण विलम्ब हुन गई एकैपटक धेरै वर्षको बीमाशुल्क भुक्तानी तिर्नुपर्ने बाध्यताका कारण पनि बीमा सरेन्डर बढ्दो छ।
६. बीमा पोलिसी सरेन्डर गर्दा हुने हानिबारे जानकारी गराउन नसक्नु
नेपालमा जीवन बीमा कम्पनीहरुले विभिन्न सञ्चार माध्यममा आफ्नो प्रोडक्टका बारे विज्ञापन गरे पनि अर्बौं रकम बाहिरिँदै गएको बीमा सरेन्डरबाट हुने हानि तथा जीवन बीमाको महत्व दर्शाउने तथा बीमा सरेन्डर गर्दा हुने हानिबारे खासै डिजिटल महत्व दर्शाउने जनजागरण अभियान चालेको पाइँदैन। आजको दिनमा यो सबैभन्दा बढी महत्वपूर्ण रहेको छ।
८. जीवन बीमाको महत्व बुझाउन नसक्नु
अहिले पनि नेपालमा जीवन बीमा अभिकर्ताका लागि वा बीमा प्रस्ताव गर्ने संस्थाको कर्मचारीलाई ‘नाई भन्न नसकेर गरिदिएको हुँ’ भन्ने भान नेपाली जनमानसमा छ। जीवन बीमा मेरा लागि हो, मेरा परिवारको आर्थिक स्थायित्वका लागि हो भन्ने भावना बीमा गरेका बीमितलाई पनि बुझाउन सकिएको छैन र भएका प्रयासले पनि अझै बीमा उसका लागि, यसका लागि गरिदिए भन्ने भावनाको विकासले पनि बीमा लामो समय चल्न सकेको छैन।
९. बीमा सेवा तथा कम्पनीप्रति असन्तुष्टि
नेपालमा जीवन बीमा कम्पनीहरुले आफ्ना ग्राहकलाई बिक्रीपछिका सेवाहरुप्रति खासै चासो देखाएको पाइँदैन। ग्राहकलाई आफूप्रति इन्गेजमेन्ट गर्ने कार्यक्रम खासै योजनामा राखिएको पाइँदैन। जसले गर्दा बीमा सेवाप्रति ग्राहक असन्तुष्टि छन्। कम्पनीले ग्राहकलाई आफ्नो वित्तीय स्थितिको समय–समयमा जानकारी गराउने, ग्राहकको जन्मोत्सवजस्ता महत्वपूर्ण दिनमा म्यासेज गर्ने, आफ्नो बोनस वितरणबारे जानकारी गराउने, जसले कम्पनीको अवस्थाबारे ग्राहक सूचित भइरहन्छन् र आफूले बीमा गरेको संस्था ठीक रहेछ भनेर सुचारु राख्दछ। त्यसैगरी बीमाको नवीकरण गर्दा केही ग्राहकमात्र डिजिटल भुक्तानी गर्नेबारे शिक्षित भएको नेपाली समाज रहेको हुँदा अभिकर्ता स्वयंलाई पनि यसबारे तालिम दिनु आवश्यक छ र ग्राहकलाई नवीकरण गर्दा सुरुका केही वर्षमा डिजिटल भुक्तानी गर्दा केही रिबेट दिने प्रावधान राखिएमा यसले ग्राहक उत्प्रेरित भई संसारको जुनसुकै कुनामा पुगे पनि बीमा दीर्घकालीन निरन्तरता हुने गर्दछ। यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ।
१०. उच्च प्रिमियम लागत
नेपालमा जीवन बीमाको प्रिमियम लागत यहाँको औसत मानिसको औसत आम्दानीको बचतभन्दा बढी छ। तसर्थ, औसत बीमाशुल्क भुक्तानी समय पनि नेपालमा ५ देखि ७ वर्षभन्दा बढी जीवन बीमा चालु गरिएको पाइँदैन। तसर्थ, बदलिँदो परिस्थितिअनुसार सावधिक र म्यादी जीवनको समिश्रण नवजीवन बीमा योजना आवश्यक छ। जसले न्यून प्रिमियम दरमा धेरै जोखिम बहन गरोस्।
नेपालमा जीवन बीमा पोलिसी सरेन्डर न्यूनीकरण गर्नका लागि अल्पकालीन तथा दीर्घकालीन निम्न कार्य गर्न सकिन्छ
१. बीमा साक्षरता दिने
नेपालमा जीवन बीमा पोलिसी सरेन्डर रोक्ने मुख्य उपाय भनेको नै बीमा आवश्यकताको महसुस सम्बन्धमा वित्तीय साक्षरता दिनु नै हो। बीमा साक्षरताका लागि स्कुलदेखि नै बीमा सचेतना सम्बन्धमा पाठ्यक्रममा समावेश गरिनुपर्छ। यसले दीर्घकालीन रुपमा बीमाको महत्व र आवश्यकतासम्बन्धी अंनुकरण छर्दछ। त्यसैगरी सम्पूर्ण कम्पनीले बीमा सरेन्डर गर्दा हुने हानि सम्बन्धमा डिजिटल सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ। तसर्थ, कम्पनीहरुले शाखामा बीमा सरेन्डर गर्न आउँदा हुन सक्ने वित्तीय नोक्सानीको तथा गरिएको बीमाको महत्व तथा फाइदाको सम्बन्धमा स्पष्ट रुपमा जानकारी गराउनुपर्छ। सम्भव भए कुनै विशेष एक कर्मचारीलाई विशेष तालिम दिई ग्राहक काउन्सिलिङ गर्ने व्यवस्था गर्नुपर्छ। ग्राहकका लागि सेवालाई लिएर सरेन्डर गर्नुपर्ने गुनासो भए तत्काल सम्बोधन गर्नुपर्ने परिपाटीको विकास गर्नुपर्छ।
२. अभिकर्ताको क्षमता अभिवृद्धि तालिम
बीमा अभिकर्ता भनेको बीमा क्षेत्रको एक महत्वपूर्ण अंग हुन्। नेपालमा ९० प्रतिशतभन्दा बढी बीमा अभिकर्ताका माध्यमबाट हुने गरेको छ। बीमा अभिकर्तालाई दीर्घकालीन ग्राहक सन्तुष्टि महत्वपूर्ण हुनेगरी तालिमको आयोजना गर्नुपर्छ। ग्राहकको वित्तीय अवस्था, उद्देश्य र आवश्यकताका आधारमा सही योजना चयन गर्न कसरी छनौट गर्ने भन्ने तालिम दिनुपर्छ।
गलत वा अपूर्ण जानकारी दिएर बीमा बिक्री गर्ने प्रवृत्ति हटाउने व्यवस्था गर्नुपर्छ। अभिकर्ताको पोजिसन अभिवृद्धिमा समेत नवीकरणको संख्यालाई समेत जोड्ने व्यवस्था गर्नुपर्छ। साथै, कम्पनीहरुले गर्ने सम्मान कार्यक्रममा पनि वार्षिक व्यवसायको मात्र नभई सबैभन्दा बढी नवीकरणमा लागिपरेर आफ्ना ग्राहकको सेवामा खटिने अभिकर्तालाई पनि विशेष सम्मान गरी उत्प्रेरित गर्नुपर्छ।
३. पोलिसी नवीकरण प्रिमियम भुक्तानी सरल बनाउने
प्रिमियम भुक्तानीमा लचिलोपन (मासिक, त्रैमासिक, वा वार्षिक किस्ता) को व्यवस्था गर्नुपर्छ। डिजिटल भुक्तानी प्रणाली जस्तै– मोबाइल बैंकिङ, ई–सेवा, खल्ती आदि प्रयोग गर्न प्रोत्साहित गर्ने। त्यस्तै कम्पनीको वेबसाइट, आधिकारिक फेसबुक पेजका साथै विभिन्न पत्रपत्रिकामा नवीकरणका लागि क्यूआर प्रणालीको विशेष व्यवस्था गरी नवीकरण भुक्तानीका लागि सहजीकरण व्यवस्था गर्ने।
४. पोलिसी ऋण वा आंशिक निकासीको सुविधा दिने
ग्राहकलाई आकस्मिक वित्तीय आवश्यकताका कारण बीमा सरेन्डर गर्नुपर्ने अवस्थाबाट जोगाउन बीमा पोलिसी ऋण वा आंशिक निकासी सुविधाका विशेष योजना तर्जुमा गर्ने।
५. बोनस र वित्तीय स्थितिको जानकारी दिने
बीमा योजनाबाट प्राप्त हुने बोनस, लाभांश र परिपक्वता रकमको सही जानकारी ग्राहकलाई समय–समयमा दिने। जसले आफ्नो लगानीको प्रत्याभूति ग्राहकहरुमा रहन्छ जसले कम्पनी र ग्राहकबीच सुमधुर सम्बन्ध स्थापित गरिरहन्छ।
६. कस्टमर सपोर्ट र परामर्श सेवा सुधार गर्ने
बीमितलाई समस्या समाधान गर्न सीधा परामर्श सेवा उपलब्ध गराउने। केन्द्रीय कार्यालयमा वा प्रदेशस्तरीय एउटा निःशुल्क हटलाइन सिस्टमको व्यवस्था गर्ने तथा कस्टमर सपोर्ट र परामर्श सेवाको विशेष व्यवस्था गर्ने। साथै, महिनामा कम्तीमा एकपटक, कम्पनीको उच्च तहका कर्मचारी वा गुनासो अधिकारीले फ्री हटलाइन सिस्टममा केही समय आई ग्राहकको प्रत्यक्ष समस्या, गुनासो वा उनीहरुको चाहनाबारे प्रत्यक्ष कुराकानी गर्ने व्यवस्था गर्ने। यसले कम्पनीको उद्देश्य र वास्तविक प्रगतिबारे जानकारी प्राप्तका साथै फरक आएका कार्यविधिप्रति दीर्घकालीन योजना र सुधारात्मक कदम चाल्न सहयोग पुर्याउछ।
७. बीमा पोलिसीको पुनरुत्थान विशेष व्यवस्था
कोभिडपछिको नेपालको अर्थतन्त्र पहिले झैँ सबल हुन सकिसकेको छैन। तसर्थ, बीमाको प्रिमियम ४–५ वर्ष छुटेका ग्राहकका लागि एकैपटक प्रिमियम भुक्तानी गरेर पुनरुत्थान गर्नुपर्ने नेपालमा व्यवस्था छ। यसलाई केही वर्षका लागि विशेष कानुन संशोधन गरी प्रिमियम होलिडेको व्यवस्था, तिरेको जतिको बीमांकको विशेष मूल्यांकन गरी धेरै वर्षको एकैपटक तिर्नुपर्ने बाध्यतात्मक अवस्थालाई अन्त्य गरी वार्षिक निरन्तर गर्ने विशेष कानुनी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने आजको समयको माग छ।
८. बीमा कम्पनीहरुको संरचनाबारे जनचेतना जगाउने
नेपालमा हाल सहकारी संस्थामा समस्या आएका कारण धेरै मानिसमा समेत बीमा कम्पनी र सहकारी सस्थालाई एउटै तराजुमा दाँजेर हेरेको पाइन्छ। तसर्थ, जीवन बीमा र सहकारी संस्थामा आकाश जमिनको फरक छ। यो अर्थ मन्त्रालयको एक अंग रहेको सरकारी निकाय बीमा प्राधिकरणबाट नियमन र निरीक्षण हुने गर्दछ भन्ने बृहत सचेतना गर्नुपर्ने आवश्यकता छ। त्यसैगरी कुनै गुनासो भए बीमा प्राधिकरण प्रत्येक प्रदेशमा स्थापना भइसकेको हुँदा आफ्नो गुनासो राख्न प्रदेशस्तरीय गाउँघरमा आइसकेको जानकारी गराउनुपर्छ।
९. बीमा सरेन्डर र नयाँ बीमालेख विशेष व्यवस्था तर्जुमा गर्ने
जीवन बीमामा देखिएको अर्को विकृति भनेको अभिकर्ता एउटा कम्पनी छाडेर अर्कै कम्पनी जाँदा आफ्ना ग्राहकसमेत लिएर जाने परिपाटी छ। आफूले पहिले गरेका बीमालाई अर्को कम्पनीको बीमा राम्रो देखाई सरेन्डर आफैँ गराउने पनि कहीँकतै देखिएको सुनिएको छ। तसर्थ, एउटा बीमा सरेन्डर जुनसुकै कम्पनीमा गरे पनि निश्चित समयपछि मात्र अर्को सोही व्यक्तिको गर्न पाउने विशेष व्यवस्था तर्जुमा गर्नुपर्छ। यसले दीर्घकालीन बीमाको निरन्तरतामा सघाउ पुर्याउँछ। यसका लागि बीमा सूचना केन्द्रको स्थापनाका साथै कार्यान्वयन भूमिका निर्वाह गर्नुपर्दछ।
१०. बीमा सरेन्डरका लागि विशेष विभाग गठनको आवश्यकता
नेपाल हाल एएमएल र सीएफटीअन्तर्गत ग्रे सूचीमा परेका कारण वित्तीय प्रणालीमा अवैध आम्दानीलाई वैध बनाउने प्रवृत्तिको जोखिम उच्च छ। बीमा क्षेत्रमा समेत यस जोखिमलाई सम्बोधन गर्न आवश्यक देखिन्छ। विशेष रुपमा बीमा सरेन्डर प्रक्रियालाई थप पारदर्शी र नियमनयुक्त बनाउन, एक निश्चित बीमांक वा भुक्तान गरिएको प्रिमियमभन्दा माथिका बीमा सरेन्डरलाई छुट्टै स्वीकृति प्रक्रिया आवश्यक पर्ने व्यवस्था गर्नुपर्छ। यसका लागि बीमा सरेन्डरका लागि एक विशेष विभाग गठन गरी सोही निकायबाट स्वीकृति प्रदान गर्ने प्रणाली लागू गर्नुपर्छ। यस व्यवस्थाले वित्तीय प्रणालीमा सम्भावित दुरुपयोग रोक्नेमात्र नभई अवैध आम्दानीलाई वैध बनाउने प्रयासलाई समेत निषेध गर्नेछ। साथै, ठूला बीमा सरेन्डर प्रक्रियालाई थप नियमन गर्दै बीमा प्रणालीको विश्वसनीयता र स्थायित्वलाई बलियो बनाउन मद्दत गर्नेछ।
अन्त्यमा
नेपालमा हाल बीमा सरेन्डरको अनुपात लागभग १७ प्रतिशतको अनुपातले बढ्दै गएको अवस्थालाई नजरअन्दाज नगरी बीमाप्रतिको आवश्यकता महसुस गराउने परामर्श केन्द्र र सचेतना कार्यक्रम बढोत्तरी गर्नुपर्ने आजको मुख्य आवश्यकता छ। त्यसैगरी बीमित पनि बीमा एउटा दीर्घकालीन योजना भएकाले अनिश्चित भविष्यका लागि वित्तीय निश्चितता गर्ने बीमाभन्दा राम्रो अन्य कुनै पनि उपकरण नभएकाले बीमालाई निरन्तर गर्नु आवश्यक छ। यदि वित्तीय समस्या बीचैमा आइपरे कम्पनीले दिएको वैकल्पिक उपाय ३ वर्ष पूरा बीमाशुल्क भुक्तानी गरिसकेपछि पोलिसी पेपर धरौटीमा राखी न्यूनतम ब्याजमा कुनै पनि अतिरिक्त सेवासुविधा नलिई ऋण सुविधा उपलब्ध गराएको हुन्छ। यो नै बीमितलाई लाभदायक मानिन्छ। किनकि सरेन्डर गर्दा वित्तीय दायित्व हस्तान्तरण बीमक र बीमितबीच सकिन्छ भने ऋण सुविधा लिँदा जोखिम बहन पनि निरन्तर हुन्छ।
तसर्थ, बीमा भनेको क्षणिक फाइदाभन्दा पनि भविष्यको सुनिश्चितता गर्ने साधन हो भन्ने चेतना वृद्धि गर्दै बीमा कम्पनी, अभिकर्ता र बीमितबीच सशक्त सम्बन्ध विकास गर्नेतर्फ ध्यान दिनुपर्छ।
(लेखक आचार्य हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाका शाखा प्रमुख हुन्।