काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आधारभूत शेयरधनीहरुको शेयर बिक्री र १५ दिने पूर्वसूचनासम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ।
सेबोनले गत भदौ ९ गतेको निर्देशनमा संशोधन गर्दै आधारभूत शेयरधनीहरुको शेयर बिक्री र १५ दिने पूर्वसूचनासम्बन्धी व्यवस्थामा नयाँ प्रावधान ल्याएको हो। गत भदौ ९ गतेको निर्देशनमा नेप्सेमा सूचीकृत भएका कम्पनीका कुनै पनि आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराई सो सूचना (सूचनाको वैधता ३ महिना अवधि कायम रहने) नेप्सेमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउन भनिएको थियो।
आज सेबोनले त्यसमा परिमार्जन गर्दै आधारभूत शेयरधनीले १५ वा सोभन्दा बढी शेयर बिक्री गर्नुपर्ने भएमा सोसम्बन्धी सूचना ५ कारोबार दिनअगाडि सम्बन्धित कम्पनीले जानकारी गराउनुपर्ने र सूचीकृत कम्पनीले धितोपत्र बिक्रीको सूचना प्राप्त भएपछि नेप्सेमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ। उक्त धितोपत्र बिक्री आशयको सूचनाको वैधता ३ महिना अवधि कायम रहने सेबोनले जनाएको छ।
नयाँ व्यवस्थाबमोजिम १५ दिनअगावै सूचना दिनुपर्ने व्यवस्था हटेको छ भने आधारभूत शेयरधनीले आफू बेच्न चाहेको शेयरको सीमा बढेको छ।
यसैगरी धितोपत्र बिक्री गर्ने आशयले सूचीकृत कम्पनीमार्फत सूचना प्रवाह गरेका शेयरधनीले आफूले बिक्री गर्न चाहेको शेयर बिक्री नगरेको वा पूर्ण रुपमा बिक्री नगरिसकेको अवस्थामा पुनः सोही कम्पनीको शेयर खरिद गर्ने भएमा कारोबार सम्पन्न भएपश्चात यथाशीघ्र सोसम्बन्धी विवरण (मूल्य तथा परिमाण) उल्लेख गरी सूचीकृत कम्पनीमा जानकारी गराउनुपर्ने व्यवस्था सेबोनले थप गरेको छ।
यसका साथै सूचीकृत कम्पनीले प्राप्त धितोपत्र खरिदसम्बन्धी जानकारी यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि सेबोनले निर्देशन दिएको छ। यसअघि यो व्यवस्था रहेको थिएन।












