काठमाडौं । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान युद्धका लागि ह्वाइट हाउससँग उल्लेखनीय रकमको कोषका लागि अनुरोध गरेको छ।
वासिङ्टन पोस्टका अनुसार पेन्टागनले इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा बढीको स्वीकृति अनुरोध गरेको हो। एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले यो रकम इरानमा हालसम्म भएको अभियानको लागतभन्दा धेरै बढी हुने र पहिले नै खर्च भइसकेका आवश्यक हतियारहरुको उत्पादन ‘तुरुन्तै’ बढाउने उद्देश्यले गरिएको लेखेको छ।
गत दुई हप्तामा पेन्टागनले कोषका लागि धेरै फरक अनुरोध पेस गरेको छ। वासिङ्टन पोस्टका अनुसार पछिल्लो अनुरोधले ‘कंग्रेसमा ठूलो राजनीतिक लडाइँ सुरु गर्न सक्छ।
अमेरिकी रक्षा विभाग र ह्वाइट हाउस दुवैले यस मुद्दामा टिप्पणीका लागि पत्रिकाको अनुरोध अस्वीकार गरेका थिए। –एजेन्सी












