काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालित ४ मेगावाटको सोम राधाकृष्ण सोलार फार्मको प्रवर्द्धक नेपाल सोलार फार्म लिमिटेड गम्भीर वित्तीय संकटमा परेको छ। इक्रा नेपालले कम्पनीको रेटिङमा सुधार नगरेपछि यसको क्रेडिट प्रोफाइल जोखिमपूर्ण श्रेणीमा कायमै रहेको छ।
कम्पनीका लागि सबैभन्दा ठूलो धक्का भायबिलिटी ग्याप फन्डिङ सुविधा गुम्नु बनेको छ। सरकारले दिँदै आएको प्रति युनिट थप १० रुपैयाँको अनुदान सुविधा सन् २०२४ मे १ देखि सकिएकाले कम्पनीले अब नेपाल विद्युत् प्राधिकरणसँग गरिएको सम्झौता अनुसार प्रतियुनिट ६=६० रुपैयाँ मात्र पाउनेछ। अनुदान नपाउँदा कम्पनीको नगद प्रवाहमा ठूलो खाडल देखिएको छ, जसले गर्दा ऋण तिर्न प्रवर्द्धकहरूले व्यक्तिगत रूपमा थप लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
कम्पनीको प्रति मेगावाट लागत १३ करोड ६० लाख रुपैयाँका दरले कुल लागत ५४ करोड २० लाख रूपैयाँ पुगेको छ। यो लागत साैर्य उर्जा परियोजनाका लागि तुलनात्मक रूपमा उच्च मानिन्छ।
विद्युत् खरिद सम्झौता अनुसार कम्पनीले १८ प्रतिशत क्षमता उपयोगमा बिजुली उत्पादन गर्नुपर्ने हुन्छ। तर, आव २०८१।८२ मा १७ प्रतिशतभन्दा कम उत्पादन भएकाले कम्पनीले प्राधिकरणलाई सर्ट सप्लाई पेनाल्टी अर्थात् सम्झाैताभन्दा थोरै विद्युत आपूर्ती गरेकोमा जरिवाना तिर्नु परिरहेको छ।
कम्पनीको ऋण र पुँजीको अनुपात ६२ः३८ रहेको छ। ऋणको भुक्तानी तालिका बेलुन मोडलमा आधारित भएकाले अन्तिम चार वर्षमा ठूलो किस्ता तिर्नुपर्ने भार छ। बजारमा ब्याजदरमा हुने उतारचढावले कम्पनीको नाफालाई थप असर पार्न सक्ने इक्रा नेपालको विश्लेषण छ।
आव २०८२।८३ को सुरुवाती ५ महिनामा सम्झौता गरिएको उर्जाको ९८ प्रतिशत उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा राम्रो हो। कम्पनीमा शर्मा एण्ड कम्पनी जस्तो क वर्गको निर्माण कम्पनीको ५१ प्रतिशत शेयर लगानी छ, जसले आर्थिक संकटमा कम्पनीलाई आड दिइरहेको छ।
कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २८ हजार ५७२ कित्ता साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। यो निष्काशन सफल भएमा संकलित रकमले ऋण घटाउन र वित्तीय स्थिति सुधार्न मद्दत पुग्नेछ।
नेपाल सोलार फार्मको भविष्य अब उसको उत्पादन क्षमता र चाँडै आउने प्राथमिक शेयर निष्काशनको सफलतामा निर्भर देखिन्छ। अनुदानको अभावमा एकल परियोजनामा आधारित यस्ता सोलार फार्महरूलाई मौसमको जोखिम र प्राविधिक ह्रासबाट जोगिएर नाफा कमाउन निकै कठिन हुने देखिएको छ।












