काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको भाउमा लगातार उछाल आउन थालेपछि आयातमा नयाँ व्यवस्था ल्याएको छ।
केन्द्रीय बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै गर्दै चाँदीको आयातमा नयाँ व्यवस्था ल्याएको हो। अब विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका वाणिज्य बैंकहरुले नयाँ व्यवस्थाबमोजिम चाँदीको आयात गर्नुपर्नेछ।
यसअघिको निर्देशनमा सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर १ लाख वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको छ। अब संशोधित व्यवस्थाबमोजिम महिना (वि.सं. अनुसार) मा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपर्युक्त सीमा क्रमशः अमेरिकी डलर २० लाख (उद्योगका लागि) र अमेरिकी डलर ४ लाख (अन्य व्यवसायीको लागि) को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था थप गरिएको छ।
यसैगरी चाँदीको गरगहना वा कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई देहायबमोजिम सटही सुविधा प्रदान गर्न सकिनेछ:
(१) निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश ।
(२) बुँदा (१) को कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू हुने छैन।
(३) सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्वसटही सुविधा प्रदान भएको भए सोअन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए वा नभएको यकिन गर्नुपर्नेछ।
(४) सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेकोसम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनुपर्नेछ।
नेपाली बजारमा आज आइतबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको छ। जुन हालसम्मकै उच्च हो।


















