काठमाडौं । क वर्गको निर्माण कम्पनी पप्पु कन्ट्रक्शन सम्मिलित एउटा पुल निर्माणको क्षतिपूर्ती दाबीमा कन्सट्रक्शनले क्षतिपूर्ती दाबीका लागि तथ्य प्रमाणलाई कसरी दुरूपयोग गरेको छ भन्ने विषय प्रकाशमा आएको छ।
२०७७ जेठ २८ गते दर्ता भएको उजुरी सम्बन्धमा गरेको साबिक साबिक बीमा समितिले गरेको फैसलामा पप्पुको बदमाशीको खुलासा भएको हो। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको निर्णय संग्रह खण्ड ५ मा यो फैसलाको पूर्ण पाठ प्रकाशन गरिएको छ।
सप्तरीको राजविराज खण्ड अन्तर्गत कमला नदीमा पुल निर्माण गर्दा बाढीले निर्माण सामाग्री तथा निर्माणाधीन पुलको संरचनामा क्षति पुर्याएको दाबी भुक्तानी नपाएको भन्दै पप्पु लुम्बिनी जेभीको तर्फबाट प्राधिकरणमा उजुरी गरेको थियो।
२०७६असार २७ देखि २०७६ भदाै १० गते सम्म र सोही वर्ष असोज १ गते आयोजना स्थल कमला नदीमा आएको भीषण बाढीबाट निर्माण सामाग्री, निर्मित संरचना तथा कार्यस्थलमा रहेका साधन समेतमा क्षति पुर्याएकाले क्षतिपूर्ती पाउनुपर्ने पप्पु लुम्बिनी जेभीको जिकीर थियो।
बीमा करारका शर्तहरुको पालना गर्नु पक्षहरुको दायीत्व रहने तथा करारमा उल्लेखित जोखिमवापत बीमाशुल्क लिएपश्चात त्यसबाट सिर्जना हुने क्षतिको दाबी भुक्तानी गर्नबाट बीमक उम्कन नमिल्ने भन्दै पप्पु लुम्बिनी जेभीले, बीमकले दायीत्व भुक्तानी गर्न इन्कार गरेकाले दाबी बमोजिमको रकम भराई पाउन निवेदन दिएको थियो।
सर्भेयरको राय र बीमकको जिकीरः
बीमक नेपाल इन्स्योरेन्सले सि मेक कन्सल्टेन्सी प्रालिलाई क्षति मूल्याङ्कनका लागि खटाएकोमा सर्भेयरले बीमा दाबी दिन नमिल्ने प्रतिवेदन पेश गरेको थियो।
नेपाल इन्स्योरेन्सले २०७६ भदाै ३० गते बीमितको पहिलो जानकारी पत्रमा घटना घटेको मिति र समय बारे उल्लेख नगरिएको र असोज १ मा दर्ता गराएको दोस्रो जानकारी पत्रमा असोज १ गते नै बाढी आएको भनी उल्लेख गरेकोले बीमितले घटनाको मिति सम्बन्धमा शुरू देखि नै पुष्टी गर्न नसकेको, घटना सम्बन्धमा २०७६ मंसिर ३ गतेको सिराहा नगरपालिकाको पत्रमा असार २७ देखि भदाै १० गतेसम्म कमला नदीमा आएको भीषण बाढीका कारण क्षति भएको उल्लेख भएकाले १४ दिनभित्र घटनाको जानकारी नगराएको जिकीर लिएको थियो।
पप्पु लुम्बिनी जेभीले बीमा दाबीका लागि बाढीको घटना पुष्टी गर्न सिराहा नगरपालिका वडा नम्बर ६ र सिराहा नगर कार्यपालिकाले फरक फरक मितिमा जारी गरेको पत्र पेश गरेको थियो। वडा नम्बर ६ को वडा कार्यपालिकाले भदाै असार २७ देखि भदाै १० गतेसम्म बाढी आएको उल्लेख गरेको थियो भने नगर कार्यपालिकाले भदाै २१ देखि असोज १ मा बाढी बाढी आई क्षति भएको भनी फरक फरक मिति उल्लेख गरिएको थियो। ठेकेदार कम्पनीको दाबी यी दुबै दस्तावेजको विरोधाभाषपूर्ण पत्रले प्रथम दृष्टीमै कमजोर बनाई दिएको थियो।
प्राधिकरणको ठहरः
घटना पुष्टी सम्बन्धि मिति २०७६ मंसिर ३ को पत्रमा २०७६ असार २७ देखि भदाै १० गतेसम्म नदीमा बाढी आएको भनी उल्लेख भएको र बीमितले लामो समय व्यतित भएपश्चात मिति २०७६ भदाै ३० मा मात्र बीमकलाई घटनाको जानकारी गराएकाले, बीमालेखको शर्त नम्बर ५ बमोजिम १४ दिनभित्र जानकारी नगराएर करारको शर्तको प्रतिकुल कार्य भएको कारणलाई निर्णयाधार बनाएर प्राधिकरणले बीमकको पक्षमा फैसला गरेको थियो।
बदनाम पप्पु बदमाशी धन्दाः
पप्पु कन्ट्रक्शनले देशको विभिन्न स्थानमा राष्ट्रिय राजमार्ग र हुलाकी मार्गमा एकदमै अपत्यारिलो पुल निर्माणको ठेक्का हात पार्ने र मोबिलाइजेशनवापतको रकम हात पारि सकेपछि काममा ढिलासुस्ती गर्ने, गुणस्तरहीन काम गर्ने, विवाद झिक्ने रणनीति अपनाउँदै आएको छ।
एउटै विषयमा जिल्ला प्रशासन, सडक विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, विश्व बैंकको परियोजना कार्यालय, जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत र सम्बन्धित क्षेत्रको अन्य कुनै अर्द्ध न्यायीक निकाय भए त्यहाँ समेत उजुरी र मुद्दा मामिला गरेर आफू संलग्न रहेको वा संलग्न हुनबाट वञ्चित गराइएको परियोजनाहरूलाई अनिर्णयको अवस्थामा पुर्याउँदै आएको छ।
यो कम्पनीले काठमाडाैं भित्र बानेश्वर तीनकुने पुलको दायाँ बायाँ, टेकु पुलको पश्चिमतर्फको पक्की पुल निर्माणमा गम्भीर लापरवाही गरेको भन्दै सडक विभागले कारवाही गरेपछि यो विषय अहिलेसम्म पनि अदालतमा विचाराधीन छ।
कालोसूचीमै छ पप्पुः
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले २०८१ बैशाख ११ गतेदेखि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो ।

















