काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नियो बैंक स्थापना गर्ने घोषणा गरेपछि यसबारे जनमानसमा चासो बढेको छ।
कतिपयले यसलाई परम्परागत बैंकहरुका भौतिक शाखा र लामो प्रक्रियाको जञ्जालबाट मुक्त गर्ने विश्वास लिएका छन् भने कतिपयले सरकारले यो बैंकका लागि आवश्यक तयारी नगरेकाले बजेट घोषणामै सीमित हुने आशंका व्यक्त गरेका छन्।
परम्परागत बैंकहरुका भौतिक शाखा र लामो प्रक्रियाबाट दिक्क भएका ग्राहकहरुका लागि नियो बैंक एउटा नयाँ र आकर्षक विकल्पका रुपमा उदाएको छ। वर्तमान समयमा प्रविधिको विकासले हरेक क्षेत्रमा परिवर्तनको लहर छाएको छ। यही परिवर्तनको एउटा महत्त्वपूर्ण पाटोको रुपमा नियो बैंक रहेको छ।
नियो बैंक के हो ?
सरल हिसाबले बुझ्दा नियो बैंक भनेको पूर्ण रुपमा डिजिटल माध्यमबाट सञ्चालित हुने वित्तीय संस्था हो। यसको कुनै भौतिक शाखा वा कार्यालय हुँदैन। यसलाई ‘डिजिटल बैंक’ पनि भनिन्छ। किनभने यसले परम्परागत बैंकिङ प्रणालीलाई चुनौती दिँदै अत्याधुनिक प्रविधि र ग्राहककेन्द्रित सेवाहरुका साथ वित्तीय सेवा प्रदान गर्छ। यदि नियो बैंक सञ्चालनमा आएमा ग्राहकले खाता खोल्नेदेखि लिएर पैसाको कारोबार गर्ने, ऋणका लागि आवेदन दिनेलगायतका सबै काम मोबाइल एप वा वेबसाइटमार्फत घरमै बसेर गर्न सक्ने बैंकरहरु बताउँछन्।
नियो बैंकहरु आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा एनालिटिक्स र क्लाउड कम्प्युटिङजस्ता नवीनतम प्रविधिमा आधारित हुने जानकारहरु। भौतिक संरचनाको खर्च नहुने भएकाले यिनीहरुको सञ्चालन लागत कम हुन्छ,। जसले ग्राहकलाई सस्तो सेवा शुल्क र आकर्षक ब्याजदरको लाभ मिल्नेछ।
नियो बैंकले कसरी काम गर्छ ?
नियो बैंकको मुख्य आधार नै मोबाइल एप वा वेबसाइट हो। यसको कार्यालय पनि यही नै हो। ग्राहकले बैंक खाता खोल्ने, पैसा जम्मा गर्ने, पैसा निकाल्ने, बिल भुक्तानी गर्ने, ऋणका लागि आवेदन दिनेलगायतका बैंकिङसम्बन्धी सम्पूर्ण कारोबारहरु यही डिजिटल प्लेटफर्ममार्फत गर्छन्। जानकारका अनुसार यस्तो बैंकले समयको समेत बचत गराउँछ। परम्परागत बैंकमा कागजी प्रक्रियामा लाग्ने समयलाई घटाएर नियो बैंकले खाता खोल्ने प्रक्रियालाई केही मिनेटमै पूरा गर्न सकिने अवस्था सिर्जना गर्ने जानकारको भनाइ छ।
नियो बैंकहरुले ग्राहकको आवश्यकता र व्यवहार बुझ्न एआई र डेटा एनालिटिक्सको भरपुर प्रयोग गर्छन्। उदाहरणका लागि ग्राहकको खर्च गर्ने बानीको विश्लेषण गरी उनीहरुलाई बचतका लागि व्यक्तिगतकृत सुझाव दिने वा वित्तीय लक्ष्यहरु निर्धारण गर्न मद्दत गर्ने गर्छन्।
विश्वका धेरैजसो नियो बैंकहरुसँग आफ्नै बैंकिङ लाइसेन्स हुँदैन। उनीहरुले इजाजतप्राप्त परम्परागत बैंकहरुसँग साझेदारी गर्छन्। यस साझेदारी अन्तर्गत नियो बैंकले परम्परागत बैंकको लाइसेन्स प्रयोग गरेर निक्षेप बीमा, वित्तीय नियमनको पालनाजस्ता आवश्यक बैंकिङ सेवाहरु प्रदान गर्छन् यसले नियो बैंकलाई वित्तीय पूर्वाधारको पहुँच दिन्छ भने नियामनको दायरामा रहन्छ। नेपालमा भने अहिलेसम्म पनि नियो बैंक कसरी सञ्चालन गर्ने भन्ने अवधारणा ल्याइएको छैन।
सरकारले यसअघि नै डिजिटल बैंकिङ सञ्चालनमा ल्याउने उद्घोष गरेपनि अगाडि बढाउन भने सकेको छैन। यस पटकको बजेटमा भने नाम बदलेर नियो बैंक ल्याउने घोषणा गरिएको हो।
नियो बैंकको अवधारणा विश्वव्यापी रुपमा फैलिरहेको छ, र यसले वित्तीय सेवा प्रदान गर्ने तरिकालाई नै परिवर्तन गरिरहेको छ। भारत दक्षिण एसियामा नियो बैंकको विकासमा अग्रपंक्तिमा रहेको पाइन्छ। भारतमा धेरै नियो बैंकहरुले परम्परागत बैंकहरुसँगको साझेदारीमा काम गरिरहेका छन्।
भारतमा एफआई मनीले फेडरल बैंकसँगको साझेदारीमा नियो बैंकको काम गर्दै आइरहेको छ। व्यक्तिगतकृत वित्तीय सल्लाह, खर्च ट्«याकिङ र स्वचालित बचत उपकरणहरुलगायतका युवा र प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित विशेषताहरु यसमा छन्। यसका प्रयोगकर्ता वा ग्राहकले मोबाइल एपबाट केही मिनेटमै खाता खोल्न सक्छन् र डेबिट कार्ड प्राप्त गर्न सक्छन्। यसले क्रेडिट स्कोरमा सुधार गर्न मद्दत गर्ने उपकरणहरु पनि प्रदान गर्छ।
यस्तै नियो, जुपिटरलगायतका नियो बैंकले विभिन्न बैंकिङ साझेदारहरुसँग काम गर्दै आएको छ।
अब नेपालमा कसरी नियो बैंकले काम गर्छ भन्नेबारे भने सरकार र राष्ट्र बैंक मिलेर फ्रेमवर्क बनाउनेछ। सबै क्षेत्रको सुझाव पछि यसलाई व्यवस्थित गर्ने र अगाडि बढाउने रणनीतिमा रहेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा नियो बैंक सञ्चालन गर्ने घोषणा गरेको हो।

















