काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८२।८३ मा बीमा कम्पनीहरुमा स्थलगत निरीक्षणसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ।
प्राधिकरणले गत आर्थिक वर्षमा बीमा कम्पनीहरुमा ५० पटक स्थलगत निरीक्षण गरेको छ। त्यसमध्ये प्राधिकरणले जीवन बीमकमा १७ पटक, निर्जीवन बीमकमा १८ पटक, पुनर्बीमकमा ६ पटक, लघु जीवन बीमकमा ३ र लघु निर्जीवन बीमकमा ६ पटक स्थलगत निरीक्षण गरेको हो।
प्राधिकरणले जीवन बीमकमा नियमित निरक्षण ७ पटक र आकस्मिक निरीक्षण १० पटक गरेको छ। निर्जीवन बीमकमा भने प्राधिकरणले १४ पटक आकस्मिक निरीक्षण र एएमएल÷सीएफटीसम्बन्धी ४ वटा निरीक्षण गरेको छ।
यसैगरी प्राधिकरणले पुनर्बीमकमा आकस्मिक ५ पटक र नियमित निरीक्षण एकपटक गरेको छ भने लघु जीवन बीमकमा आकस्मिक ३ पटक र लघु निर्जीवन बीमकमा नियमित २ पटक र आकस्मिक ५ पटक गरेको छ।
जोखिममा आधारित सुपरिवेक्षण
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०८१।८२ बाट जोखिममा आधारित सुपरिवेक्षण कार्य सुरु गरेको थियो। गत आर्थिक वर्ष २०८२।८३ मा पनि प्राधिकरण २ वटा जीवन बीमकमा जोखिममा आधारित सुपरिवेक्षण गरेको छ। अन्य बीमकहरुमा क्रमशः सुपरिवेक्षण गर्नका लागि प्रारम्भिक छलफल भइरहेको प्राधिकरणले जनाएको छ।












