काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ४ महिना कात्तिकसम्म १ अर्ब ३७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म कुल १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म यी बैंकहरुले २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ३२.५३ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको कात्तिकसम्म ४ वटा विकास बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ। एउटा बैंक भने घाटामा गएको छ। समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले ज्योति विकास बैंक अगाडि रहेको छ।
चालु वर्षको असोजसम्म गरिमा विकास बैंकले ३९ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यहीअवधिसम्म गरिमाले ३६ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा मुक्तिनाथ रहेको छ। समीक्षा अवधिसम्म मुक्तिनाथले ३८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म मुक्तिनाथले ४२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ९.०४ प्रतिशतले घटेको छ।
तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले ३० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १४.६० प्रतिशतले घटेको छ।
यसैगरी चालु वर्षको कात्तिकसम्म कामना सेवा विकास बैंकले २७ करोड ७७ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १४ करोड ८५ लाख रुपैयाँ, ज्योति विकास बैंकले १३ करोड ९६ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले ८ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा १२.३८ प्रतिशत, सांग्रिलाको ८.५४ प्रतिशत र ज्योतिको २००३.६१ प्रतिशतले बढ्दा महालक्ष्मीको ५८.१२ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म ज्योति विकास बैंकले ३६ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २९ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।


















