काठमाडौं । आक्रामक रुपमा कर्जा विस्तार गर्दै वाणिज्य बैंक बन्ने दौडमा रहेको मुक्तिनाथ विकास बैंकमा खराब कर्जाको दबाब तीव्र रुपमा देखिन थालेको छ।
विशेषगरी साना तथा मध्यम व्यवसाय, उपभोक्ता कर्जा र शाखा विस्तारसँगै गरिएको आक्रामक लगानीको गुणस्तर कमजोर बन्दै जाँदा बैंकको निष्क्रिय कर्जा बढेर ४.८८ प्रतिशत पुगेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, ऋणीको घट्दो भुक्तानी क्षमता तथा जोखिमयुक्त कर्जा व्यवस्थापनको असर अहिले बैंकको वित्तीय विवरणमै देखिन थालेको छ। नाफा बढे पनि बैंकको कर्जा गुणस्तर कमजोर बन्दै जानुले मुक्तिनाथको विस्तार रणनीतिमाथि नै प्रश्न उठाउन थालेको छ।
पछिल्ला वर्षहरुमा मुक्तिनाथले शाखा विस्तारसँगै आक्रामक रुपमा कर्जा बढाउने रणनीति अपनाएको थियो। विशेषगरी ग्रामीण तथा अर्धसहरी क्षेत्रमा साना व्यवसाय, हायर पर्चेज, व्यक्तिगत तथा धितो आधारित कर्जामा बैंक तीव्र रुपमा विस्तार भएको देखिन्थ्यो।
छोटो समयमा बजार हिस्सा बढाउने यही रणनीतिले तत्काल व्यवसाय विस्तार र ब्याज आम्दानी बढाउन सहयोग गरे पनि अहिले त्यसकै असर कर्जा गुणस्तरमा देखिन थालेको छ। पर्याप्त जोखिम मूल्यांकनबिना गरिएको कर्जा विस्तार, कमजोर अनुगमन तथा ऋणीको वास्तविक पुनर्भुक्तानी क्षमताभन्दा बढी आक्रामक लगानीले बैंकको निष्क्रिय कर्जा बढाउन भूमिका खेलेको देखिन्छ। अहिले आर्थिक गतिविधि सुस्त बनेसँगै विगतमा वितरण गरिएका त्यही कर्जाहरु नै बैंकका लागि टाउको दुखाइ बन्न थालेका छन्।
बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले सतही रुपमा नाफा वृद्धि देखाए पनि बैंकको आधारभूत वित्तीय सूचकमा दबाब बढ्दै गएको संकेत गरेको छ। विशेषगरी निष्क्रिय कर्जा बढ्दै जानु, गैरब्याज आम्दानी खुम्चिनु, स्प्रेड दर घट्नु तथा सीमित लाभांश क्षमताले बैंकको वित्तीय गुणस्तरमाथि प्रश्न उठाएको छ।
बैंकको कर्जा गुणस्तर भने दबाबमा देखिएको छ। बैंकको निष्क्रिय कर्जा बढेर ४.८८ प्रतिशत पुगेको छ। पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा बढिरहेका बेला मुक्तिनाथमा पनि त्यसको असर स्पष्ट देखिएको हो। निष्क्रिय कर्जा ५ प्रतिशत नजिक पुग्नु कुनै पनि बैंकका लागि जोखिम संकेत मानिन्छ।
विशेषगरी विकास बैंकहरुमा साना तथा मध्यम व्यवसायमा गरिएको कर्जा लगानीको जोखिम बढी देखिने गर्छ। आर्थिक गतिविधिमा आएको सुस्तता, व्यापारिक कारोबारमा कमी तथा ऋणीको भुक्तानी क्षमतामा आएको कमजोरीले बैंकहरुको खराब कर्जा बढिरहेको अवस्थामा मुक्तिनाथको कर्जा गुणस्तरमा पनि दबाब बढेको देखिन्छ।
बैंकले नौ महिनामा निक्षेप १ खर्ब १८ अर्ब ११ करोड रुपैयाँ र कर्जा लगानी ९८ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ। तर, व्यवसाय विस्तारसँगै कर्जा गुणस्तरमा सुधार आउन नसक्नु बैंकका लागि चिन्ताको विषय बनेको देखिन्छ।
मुख्य आम्दानी स्रोतका रुपमा रहेको खुद ब्याज आम्दानी बढे पनि बैंकको गैरब्याज आम्दानी भने कमजोर बनेको छ। समीक्षा अवधिमा खुद फी तथा कमिसन आम्दानी घटेर ३९ करोड रुपैयाँमा सीमित भएको छ। बैंकिङ क्षेत्रमा डिजिटल सेवा, ट्रान्जेक्सन तथा वैकल्पिक आम्दानी स्रोत विस्तार भइरहेका बेला यस्तो आम्दानी घट्नुले बैंकको आय संरचनामा विविधीकरण कमजोर रहेको देखाउँछ।
यता बैंकको आधारदर घटेर ५.८३ प्रतिशतमा झरेको छ भने ब्याजदर स्प्रेड पनि घटेर ४.४८ प्रतिशतमा सीमित भएको छ। स्प्रेड दर घट्नु भनेको बैंकको ब्याज आम्दानी मार्जिनमा दबाब पर्नु हो। बैंकहरुबीच बढ्दो प्रतिस्पर्धा र घट्दो ब्याजदरको प्रभाव मुक्तिनाथमा पनि देखिएको छ।
प्रतिफलका सूचक पनि उल्लेखनीय देखिँदैनन्। बैंकको रिटर्न अन इक्विटी (आरओई) १०.३८ प्रतिशतमात्रै छ। प्रतिशेयर आम्दानी १५.७१ रुपैयाँ पुगे पनि बैंकको प्रतिफल क्षमता अझै सीमित देखिन्छ।
नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा ३७ करोड रुपैयाँमात्रै छ। अघिल्लो वर्षसम्मको सञ्चित मुनाफासहित कुल सञ्चित नाफा करिब ४४ करोड रुपैयाँ पुगेको छ। यही आधारमा बैंकको वार्षिकीकरण गरिएको लाभांश क्षमता करिब ७ प्रतिशतमात्रै देखिन्छ। यसले बैंकको लाभांश वितरण क्षमता तत्काल बलियो नरहेको संकेत गर्छ।
अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धार नियुक्त भएका छन्। उनले आज जेठ १ गतेदेखि कार्यभार सम्हालेछन्। उनलाई विगतका सीईओको गल्तीलाई सुधार्नुपर्ने चुनौती छ। उनले बैंकको वित्तीय अवस्था बलियो बनाउन ठूलै जादु गर्नुपर्ने चुनौती छ। बैंकिङ अनुभव पर्याप्त रहेको मानन्धरले कसरी नीति बनाएर काम गर्छन्, त्यसले बैंकको भविष्य देखाउने जानकार बताउँछन्।












